प्रस्ताबित सहकारी बैकको अवधारणापत्र राष्ट्रबैंकमा प्रस्तुत

प्रस्ताबित सहकारी बैकको अवधारणापत्र राष्ट्रबैंकमा प्रस्तुत :: Sahakari Akhabar

काठमाडौं । नेपाल सहकारी बैंक लिमिटेडको अवधारणापत्र नेपाल राष्ट्र बैंकमा प्रस्तुत भएको छ । प्रस्ताबित बैकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्ताबित बैकको अवधारणापत्र र सम्भाब्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायत उच्च अधिकारी समक्ष प्रस्तुतीकरण दिए ।

राष्ट्रबैकले तोके अनुसारको सबै प्रकृया पुरा गरी  प्रस्ताब तयार गरेको भण्डारीले बताए । प्रतिस्पर्धात्मक मुलुकमा एउटामात्र बैकले करिब ३० हजार सहकारीको कारोबार र अन्य आर्थिक क्रियाकलाप गर्न नसक्ने भन्दै भण्डारीले नेपाल सहकारी बैक दर्ता प्रकृया शुरु गरेको बताए ।

प्रस्ताबित बैकका प्रमुख सल्लाहकार आनन्द ढुंगानाले प्रस्ताबित बैक अपरिहार्य रहेको उल्लेख गर्दै दर्ता प्रकृया अबिलम्ब अघि बढाउन आग्रह गरे । नेपाल राष्ट्र बैकका गभर्नर अधिकारीले चाडैनै प्रकृया अघि बढाइने आश्वासन दिए । ‘प्रस्ताबित बैकले प्रकृया पुरा गरी अवधारणाबारे जानकारी गराएको छ । अब नेपाल राष्ट्रबैकले प्रकृया अघि बढाउनेछ’ उनले भने ।

प्रस्ताबित बैकले यसअघि गत पुस २२ गते सहकारी विभागका रजिष्ट्रार, उप रजिष्ट्रार लगायतका अधिकारीलाई प्रस्ताबित बैकको अवधारणापत्र प्रस्तुत गरेको थियो ।   बैक तदर्थ समितिका अध्यक्ष भण्डारीले अनु्मतिपत्र पाए लगत्तै बैक सञ्चालनमा आउने बताए ।

साढे दुई अर्ब रुपियाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरुपमा विस्तार गरिने उनको भनाई थियो । सहकारी ऐन २०७४ को दफा १२ मा सहकारी बैंकले संस्था वा संघको बचत स्वीकार गर्ने, त्यस्तो संस्था वा संघलाई ऋण प्रवाह गर्ने वा बैंकिंग सेवा उपलब्ध गराउने उद्देश्य लिई सस्था वा संघ आपसमा मिलि नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिई सहकारी बैंकहरु गठन गर्न सकिने व्यवस्था गरिएको छ ।

 सहकारी ऐन २०७४ र सहकारी नियमावली  २०७५ ले स्पष्ट व्यवस्था गरे अनुसार बैक दर्ता प्रक्रिया शुरु भएको हो ।  सहकारी ऐन र नियमावलीमा भएको व्यवस्था अनुसारको प्रकृयाहरु पूरा गरे पछि सहकारी विभागमा दर्ता गरी नेपाल राष्ट्र बैंकको अनुमती लिएर बैँकिंग कारोबार सुरुवात गर्ने प्राबधान छ ।

सोही प्राबधान अनुसार बैक दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको अध्यक्ष भण्डारीले जानकारी दिए । सहकारी नियमावली  २०७५ को नियम ५ ले सहकारी बैंकको गठनमा सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा ५ सय १ संस्था वा संघहरु हुनुपर्ने भनेको छ ।

सहकारी बैंकको शेयर पूँजी नेपाल राष्ट्र बैंकले तोकिदिए बमोजिम हुने, आवेदन दिने संस्था वा संघहरुको संयुक्त शेयर पुँजी कम्तिमा तीन अर्ब रुपैया हुनुपर्ने ब्यवस्था छ । संयुक्त संस्थागत पूँजी कम्तिमा पचास करोड रुपैया हुनुपर्ने, आवेदक संस्था वा संघ बिगत तीन बर्षदेखी निरन्तर नाफामा संचालन भएको हुनुपर्ने ब्यवस्था छ ।

सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था भए अनुसार सबै प्रक्रिया पूरा गरी सहकारी महासंघ, विभाग र नेपाल राष्ट्र बैकबाट स्वीकृति प्रकृया अघि बढेको जनाइएको छ ।



Leave a comment