शपथ खानेबेलामा मन्त्री र मन्त्रालयको भागवण्डा 

शपथ खानेबेलामा मन्त्री र मन्त्रालयको भागवण्डा  :: Sahakari Akhabar

प्रदेश १ सरकार मन्त्रीमण्डल विस्तार, कार्यविभाजन हेरफेर

बिराटनगर । प्रदेश १ सरकारले आज मन्त्रीमण्डल विस्तार गरेको छ । थप भएका ८ मन्त्रीको शपथ बिहान ११ बजे गर्ने  कार्यसूची थियो । तर गठबन्धन भित्रका दलको आन्तरिक किचलोका कारण निर्धारित समयमा सपथ हुन सकेन ।

गठबन्धन भित्र भएको छलफलमा आन्तरिक मामिला मन्त्रालयको सञ्चार क्षेत्रको अधिकार अर्को मन्त्रालयमा जाने भएपछि आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की सपथ कार्यक्रममा सहभागि भएनन् । कांग्रेसभित्र मन्त्री भएका तीनैजना देउवा लाइन भएका कारण कोइराला समूह थप दबाबमा परेको थियो ।

जेनतेन कुरा मिलाएर शपथग्रहणका लागि प्रदेश प्रमुख कार्यालयमा १२ बजेपछि पुगेका मुख्यमन्त्री र मन्त्रीहरू शपथग्रहण शुरू हुँदै गर्दा अलमलमा परेका थिए । शपथग्रहणका लागि दिइएको नामावलीमा मन्त्रालय नै फरक पारिदिएपछि शपथग्रहण स्थलमा सपथ नहुने हो की भन्ने आशंका सिर्जना भयो ।

शपथग्रहण गर्नु अघि मुख्यमन्त्री कार्यालयबाट उपलब्ध गरिएको नाममा एउटाको मन्त्रालय र अर्कै मन्त्री भएको सार्वजनिक भएपछि मन्त्रीहरूले असन्तुष्टि जनाएका थिए । एउटा मन्त्रालय दिने भन्ने तर शपथग्रहणको नोटमा अर्कै हस्ताक्षर गराउन लागेपछि मन्त्रीको लागि शपथ लिन पुगेका ओमप्रकाश सराबगी आफुलाई मान्य नहुने भन्दै उठेर हिड्न खोजेका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोईराला पनि मर्यादाक्रम नमिलेको भन्दै उठेर हिड्न लागेपछि नेपाली कांग्रेस संसदीय दलका उपनेता तथा सडक पुर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्कीले मुख्यमन्त्री राजेन्द्र राईलाई त्यही सच्याउन आग्रह गरेपछि सपथग्रहण सुरु भयो ।

मुख्यमन्त्री राईले पठाएको पत्रमा ओम प्रकाश सराबगीलाई उद्योग, वन तथा रोजगार मन्त्रालय भनिएको छ । उनलाई दिने भनिएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रताप प्रकाश हाङ्गामलाई दिइएपछि त्यहाँ भित्र मन्त्रालय बाँडफाँडमा मुख्यमन्त्रीको असक्षमता देखिएको भन्दै प्रश्न उठेको थियो ।

प्रदेश प्रमुख कार्यालयले त्यसलाई सच्याएपछि मात्र प्रदेश प्रमुख परशुराम खापुङले ८ जना मन्त्रीलाई शपथग्रहण गराएका थिए । शपथग्रहण लगत्तै मुख्यमन्त्रीलाई सञ्चारकर्मीले भेट्न खोजेका थिए । प्रदेश प्रमुखको कार्यालयमा पसेका मुख्यमन्त्री बाहिर आएनन् ।

उनले आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोलाई सरकारको पक्षबाट बोल्न भने । मिडियाले मुख्यमन्त्रीलाई खोजिरहँदा आङ्बोले मिडियालाई सम्बोधन गरेका थिए । आङ्बोले नाममा केही त्रुटी भएकोले सच्याइएको बताए ।

प्रदेश १ सरकारका मन्त्री 

अब सरकारमा १४ जना मन्त्रीहरू हुने भएका छन् । यस अघिका मन्त्रीहरूको कार्यविभाजन हेरफेर भएको छ भने ८ जना नयाँ अनुहार सरकारमा आएका छन् । राजेन्द्र राईको नेतृत्वमा यस अघि नै रहेका मन्त्रीहरूमा ईन्द्रबहादुर आङ्बो आर्थिक मामिला ततथा योजना मन्त्री, हिमाल कार्की सडक पुर्वाधार तथा योजना मन्त्री, केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री, जयराम यादव स्वास्थ्य मन्त्रीका रूपमा रहनेछन् ।

आज नियुक्त भएका मन्त्रीहरूमा रामकुमार राई खानेपानी, सिँचाई तथा उर्जा मन्त्री, राजन राई सामाजिक विकास मन्त्री, खिनु लङवा लिम्बू पर्यटन तथा संस्कृति मन्त्री, झलकबहादुर मगवर कृषि मन्त्री शेखरचन्द्र थापा वन वातावरण तथा भू–संरक्षण मन्त्री, ओमप्रकाश सराबगी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, प्रताप प्रकाश हाङ्गाम उद्योग, श्रम ततथा रोजगार मन्त्री र उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्रीको रूपमा रहने छन् । यस अघि नै नियुक्त भएकी बिष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 



Leave a comment