सहकारी धाएको महिनौं बित्यो : निक्षेप फिर्ता दिन आलटाल गर्छ 

सहकारी धाएको महिनौं बित्यो : निक्षेप फिर्ता दिन आलटाल गर्छ  :: Sahakari Akhabar

चीना थापा, विराटनगर । विराटनगरका सहकारीमा एक पछि अर्को बेतिथि बढ्दै गएको छ । सञ्चालक तथा व्यवस्थापनले मनोमानी ढङ्गले रकम चलाएका कारण विराटनगर स्थित इच्छा बचत तथा ऋण सहकारीले निक्षेपकर्ताको लाखौं रुपैयाँ नदिइकन वर्ष दिन अगाडि बन्द भयो ।

नोमानी ढङ्गले संस्थाले बिनाधितो करोडौं रकम ऋण दिएको पाइएको थियो । आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर ऋण प्रवाह गरेको र अन्यत्र क्षेत्रमा लगानी गरेको भेटिएको थियो । सहकारी बन्द भएपछि निक्षेपककर्ताको लाखौं रुपैयाँ जोखिममा परेको छ ।

विराटनगर–९ मा रहेको गोर्खा बचत तथा ऋण सहकारी संस्थामा पनि उही समस्या देखिएको छ । गोर्खा सहकारीका सदस्यले पनि लामो समयदेखि निक्षेप रकम फिर्ता पाउन सकेका छैनन् । आर्थिक रूपमा टाट पल्टिएको गोर्खा सहकारीले निक्षेपकर्ताहरूले जम्मा गरेको लाखौं रुपैयाँ फिर्ता दिन आलटाल गर्दै आएको बचतकर्ताको गुनासो छ ।

सञ्चालक तथा कर्मचारीको मिलेमतोमा निक्षेपकर्ताको बचत डुबाएको पीडितको गुनासो छ । सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेको छ । सञ्चालकले मनोमानी ढङ्गले रकम चलाउन थालेपछि समस्या बढ्दै गएको हो ।

जसले गर्दा एकपछि अर्को संस्थामा समस्या देखिन थालेको छ । नियमित बचत गर्दै आएको रकम दिन गोर्खा बचत तथा ऋण सहकारीले आलटाल गर्दै आएको विराटनगर– १० की नीशाकुमारी मेहताले बताइन् । उनले गोर्खा सहकारीमा २०७७ साउन ५ गते खाता खोलेकी थिइन् ।

८ प्रतिशत ब्याज दिने भएपछि उक्त सहकारीमा एक वर्षमा झिक्न मिल्ने गरी मुद्दती खाता खोलेकी थिइन् । उनले मासिक ३ हजार रुपैयाँ जम्मा गर्दै आएकी थिइन् । एक वर्षमा उनले ३३ हजार जम्मा गरिन् । ३३ हजारको ब्याज ७ सय ३१ गरी जम्मा ३३ हजार ७ सय ३१ रुपैयाँ सहकारीको मुद्दती खातामा जम्मा भएको छ ।

जब वर्ष दिन भएपछि उनले दुःख गरेर आर्जेको रकम झिक्न जाँदा सहकारीले झुलाउने गरेको उनले बताइन् । ‘खाई नखाई दुःख गरेर आर्जेको रकम जम्मा गरेको वर्ष दिनपछि आफूले जम्मा गरेको पैसा लिन जाँदा सहकारीले झुलाइरहेको छ ।

कहिले महिना दिनपछि आउनु, कहिले अर्को महिना आउनू भन्दै झुलाइरहेका छन् । सहकारीमा आफूले जम्मा गरेको रकम झिक्न आएको ६ महिना भइसक्यो । अहिलेसम्म आफूले बचत गरेको रकम सहकारीले दिन आलटाल गर्दै आएको छ’ उनले बचत गरेको पासबुक देखाउँदै भनिन्, ‘आफूले जम्मा गरेको रकम झिक्ने भन्दै सहकारी धाएको सयौं पटक भइसक्यो ।

तर, सहकारीले अर्को महिना आउनू भन्दै झुलाउने गरेको छ । कस्तो दिन आयो । आफूले जम्मा गरेको पैसा लिन पनि यस्तो सास्ती भोग्नुपर्ने ?’ यसरी गोर्खा सहकारीमा बचत गरेको रकम झिक्न आउँदा आलटाल गर्दै झुलाउने गरेको नीशालाई मात्र होइन, यस सहकारीमा दैनिक सयौंको सङ्ख्यामा निक्षेपकर्ताहरू आउने गरेका छन् ।

सहकारीमा पाँच हजार रुपैयाँदेखि २ लाख रुपैयाँभन्दा बढी बच झिक्न आउने गरेका छन् । तर, सहकारीले भाखा दिँदै फर्काउने गरेको छ । यस सहकारीका अध्यक्ष शान्ता नेपाल ढुङ्गेल र प्रबन्धक माया ओझा रहेकी छन् । प्रबन्धक ओझाले बजारमा कर्जा प्रवाह गरेको ३० लाख भन्दा बढी रकम भएकाले उठेपछि क्रमशः बचतकर्ताहरूले पाउने बताइन् ।

‘अहिले कोभिडले गर्दा प्रवाह गरेको कर्जा उठ्न समय लाग्यो । यही बेलामा बचतकर्ताहरूको पनि समय पुग्यो । समयमै कर्जा नउठ्दा समस्या भएको हो’ उनले भनिन्, ‘माघ महिनासम्ममा पाउनुपर्ने सबै बचतकर्ताहरूले रकम पाउनेछन् । बचतकर्ताहरूको निक्षेप डुब्दैन । ढुक्क भए हुन्छ ।’

जिल्ला सहकारी सङ्घ मोरङका अध्यक्ष डिल्ली पोखरेलले सहकारीले कर्जा व्यवस्थापन गर्न नसक्दा अहिले समस्या आएको बताउँछन् । समस्या समाधानका लागि सङ्घले पहल गरिरहेको उनको भनाइ छ ।

समस्यामा परेका सहकारीहरूको लागि राष्ट्रिय सहकारी बैङ्कसँग जिल्ला सहकारी सङ्घले समन्वय गरेर तरलता व्यवस्थापनको लागि पहल गर्दै आएको उनले बताए । समस्या भएका सहकारीलाई तरलताको व्यवस्था गरेर सङ्घले संरक्षण गर्ने काम गरेको उनले बताए ।

विराटनगर महानगरपालिबाट स्वीकृति लिएर १ सय ९० वटा सहकारी सञ्चालनमा रहेका छन् । नियामक निकाय प्रदेश र स्थानीय सरकारले सहकारीको प्रभावकारी अनुगमन गरेका छैनन् । जसले गर्दा सीमित सञ्चालकले मनोमानी गर्दै आएका छन् ।

विराटनगर महानगरपालिका सहकारी शाखाका प्रमुख पृथ्वी बस्नेतले राष्ट्रिय सहकारी महासङ्घसँग सहकार्य गरी सहकारीका समस्या समाधान गर्न पहल गरिने बताइन् । ‘समस्याप्रति हामी चिन्तित छौं’ उनले भनिन्, ‘विराटनगर महानगरपालिकाभित्र रहेका सहकारीको अनुगमन र निरीक्षण गर्ने काम भइरहेको छ ।’

सहकारीमा विकृति रोक्न अनुगमन बढाउने काम भइरहेको उनले बताइन् । सहकारी शिक्षा, सचेतना बढाएर समस्या आउन नदिन पहल गरिने उनको भनाइ छ । ‘सहकारीका समस्यालाई गम्भीर रूपमा लिएका छौं’ उनले भनिन्, ‘व्यवस्थित गर्न हाम्रो ध्यान गएको छ ।’

विराटनगर महानगरपालिबाट स्वीकृति लिएर १ सय ९० वटा सहकारी सञ्चालनमा रहेका छन् । नियामक निकाय प्रदेश र स्थानीय सरकारले सहकारीको प्रभावकारी अनुगमन गरेका छैनन् । जसले गर्दा सीमित सञ्चालकले मनोमानी गर्दै आएका छन् ।

अधिकांश संस्थाले सहकारीका मूल्य–मान्यता र अन्तर्राष्ट्रिय सिद्धान्तको प्रयोग र पालना नगरी आफूखुसी कारोबार गर्दा सहकारीमा जोखिम बढेको छ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी समस्या समाधान गर्ने प्रयास गरे पनि उपलब्धि देखिएको छैन ।
 



Leave a comment