काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार सहकारीलाई अगाडी बढ्न र बढाउन सहकारी बोर्डको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।
राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्षमा नियुक्त भएका मित्रराज दवाडीलाई नियुक्ति पत्र प्रदान र प्रतिबद्धता जाहेर कार्यक्रममा मन्त्री श्रेष्ठले खारेजीको चरणमा पुगेको सहकारी बोर्डले पुर्नजीवन पाएको बताइन्। सहकारी क्षेत्रलाई सहि दिशामा लैजान बोर्डले अहम् भुमिका खेल्नुपर्ने उनको भनाइ छ ।
सहकारी बोर्डको अध्यक्ष समेत रहेकी मन्त्री श्रेष्ठले नीतिगत रुपमा देखिएका समस्या हल गर्दै सहकारी क्षेत्रलाई अनुशासित र मर्यादित बनाउन जोड दिनुपर्ने बताइन् । देशको सापेक्षता र मौलिक ढंगबाट अगाडी बढाउनु पर्नेमा उनको जोड थियो ।
संविधानमा नै व्यवस्था गरिएको अर्थतन्त्रको तीनखम्वे नीति अनुरुप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा उनले जोड दिइन् । सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधै साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रसँग चुनौति र अवसर दुवै रहेकाले संभावनाको खोजी गर्दै अघि बढ्नुपर्ने बताइन् ।
सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्ने र गरिबी निवारण गर्न महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा उनले जोड दिइन् । मन्त्रालयमा सचिव गणेशप्रसाद पाण्डेयले सहकारी क्षेत्रको सुधार आवश्यक रहेको औल्याए ।
सहकारी बोर्डको आवश्यकता र औचित्य अझै छ भन्ने कुराको पुष्टी गर्नु आवश्यक रहेको उनकोे भनाइ छ । राष्ट्रिय सहकारी विकास बोर्डका नवनियुक्त सहअध्यक्ष मित्रराज दवाडीले सहकारी क्षेत्रमा रहेका समस्या समाधान गर्न नीतिगत रुपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Leave a comment