सहकारीलाई फेरि पनि चिनेन प्रशासनले : बेवास्ता की लबिङ कमजोर ?

सहकारीलाई फेरि पनि चिनेन प्रशासनले : बेवास्ता की लबिङ कमजोर ? :: Sahakari Akhabar

काठमाडौँ । विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को तेस्रो लहरसम्म आइपुग्दा सहकारीलाई सवारी पास र खोपमा विभेद गरिएको छ । 

सरकारले अन्य क्षेत्रलाई खोप लगाउन र सवारी पासमा सहजीकरण गरे पनि सहकारीलाई कुनै सुविधा नदिएको पाइएको हो । पहिलो र दोस्रो लहरका बेला सहकारी अभियानले लबिङ नै नगर्दा धेरैले दुख पाएका थिए ।

अहिले पनि पास पाउन र खोप पाउन समस्या रहेको सहकारीकर्मी गुनासो गर्छन् । सहकारी अभियानको लबिङ नपुग्दा सरकारले सधैँ सहकारीलाई विभेद गरिरहेको हो ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महासङ्घले माघ ४ गते सहकारी विभागलाई पत्राचार गरी  सहकारीमा संलग्न व्यक्तिलाई बुस्टर डोज लगाउन दिने उल्लेख गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समेत बुस्टर खोप लगाउन स्वास्थ्य विभागलाई पत्राचार गरेको थियो । 

विभागले प्रदेश निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य कार्यालयका साथै सहकारी क्षेत्रको नेपाल तथा ऋण केन्द्रीय सहकारी सङ्घ(नेफ्स्कून)लाई मात्र बोधार्थ पठाएको छ ।

जबकि सहकारी क्षेत्रको माउ निकाय राष्ट्रिय सहकारी महासङ्घको नाम कहीँ कतै उल्लेख छैन । यस अनुरूप सहकारीमा खटिएका कर्मचारी तथा नेतृत्व तहले बुस्टर खोप लगाइरहेका छन् । 

पछिल्लो समयमा कोरोनाको ग्राफ बढ्दै गएपछि शनिवार वाट सवारी साधनमा जोर बिजोर प्रणाली सुरु गरेको छ । सवारी साधानको भिडभाड कम गर्न जोरबिजोर प्रणाली लागू गरिएको सरकारले जनाएको छ ।

तर जोरबिजोर लागु गर्ने क्रममा सरकारले सहकारीलाई बेवास्ता गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा जोर बिजोर प्रणाली लागु नहुने सूचीमा सहकारी क्षेत्र परेको छैन । 

परिचयपत्रको आधारमा सरकारी बैङ्क, बिमा, वित्तीय संस्था, वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधानमा लागू नहुने उल्लेख छ । तर सहकारी उल्लेख गरेको छैन । अघिल्लो लकडाउनमा पनि सहकारीलाई पास नदिँदा सहकारकर्मीले हैरानी खेपेका थिए । 

सहकारीका शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासङ्घले सहकारीको लागि बोल्न नसक्दा राज्यले सधैँ ‘हेप्दै’ आएको  सहकारी कर्मी गुनासो गर्छन् ।

अघिल्ला समयमा महासङ्घले  पहल नगरेको भन्दै सहकारी कर्मी रुष्ट थिए । अहिले पनि सहकारीलाई जिल्ला प्रशासन कार्यालयले सवारी पास नदिँदा र बुस्टर खोप लगाउन स्वास्थ्य विभागले बेवास्ता गर्दा सहकारी कर्मी चिन्तित छन् ।

महासङ्घको भूमिका कमजोर हुँदा बुस्टर डोज बचत तथा ऋण सहकारीमा आबद्ध व्यक्तिले मात्रै पाउन थालेको गुनासो आउन थालेको छ ।

नेपालमा २१ वटा केन्द्रीय सङ्घहरू स्थापनामा रहेका छन् । सहकारीलाई विपत्को समय केन्द्रीय सङ्घहरूको भूमिका कमजोर देखिएको छ । 



Leave a comment