काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारी र सचिव माधवप्रसाद तिमल्सिना बिच सूचना युद्ध देखिएको छ । दुई संचालक बिच संघको साधारण सभा गर्ने विषयमा केही दिनदेखि सूचना प्रकाशनको युद्ध नै चलेको छ । संघको पुस २९ गते तय भएको निर्वाचनसहितको साधारणसभा हुने÷नहुने विषयमा उनीहरु सूचना प्रकाशनको युद्धमा होमिएका छन् ।
भण्डारी र तिमल्सिना सामाजीक सञ्जाल देखि विभिन्न सञ्चार माध्यममा साधारणसभाको विषयमा सूचना प्रकाशन युद्धमा भिडेको देखिन्छ । सदस्यता विस्तार र निर्वाचनमा उमेदवारीको कुरो नमिलेपछि उनीहरुको विवाद छताछुल्ल भएको हो ।
भण्डारीले विभिन्न कारण देखाइ निर्वाचन रोक्न चाहेका छन् । तर सचिव तिमल्सिनाले तोकिएको समयमा निर्वाचन हुने बताउँदै आएका छन् । पुस १३ गतेको सञ्चालक समितिको बैठकले पुस २९ गते निर्वाचन सहितको साधारणसभा तय गरेको थियो । साधारणसभाको तयारी, सदस्यतालगायतका विषयमा पुस १९ गते बैठक बसेको थियो ।
उक्त बैठकमा अध्यक्ष भण्डारीले सदस्यका लागि २८ संस्थाको फाइल आएको भन्दै स्वीकृति गर्न खोजेपछि विवाद बढेको हो । तिमल्सिनाले निर्वाचन तय भइसकेको अवस्थामा सदस्यता प्रदान गर्न नहुने अडान राखेपछि विवाद बढ्दै गएको बताइन्छ ।
अध्यक्ष भण्डारीले निर्वाचन गराउन चाहेका छैनन् । आज मात्रै पुनः भण्डारीले कोभिडका कारण देखाउँदै साधारणसभा नहुने सूचना जारी गरेका छन् । तर तिमल्सिनाले कोभिड १९ को स्वास्थ्य मापदण्ड पालना गरेर साधारणसभा तय भएको भन्दै पुस २९ गते राष्ट्रिय सहकारी विकास बोर्डको हलमा साधारणसभा हुने सूचना जारी गरेका छन् ।
विभागमा उजुरी परेपछि अध्यक्ष भण्डारीले २४ गते दैनिक पत्रिकामा सूचना प्रकाशन गरी साधारणसभा स्थगित गरेको सूचना जारी गरेका थिए । सहकारी विभागले साधारणसभा स्थगीतबारे प्रमाणित प्रतिलिपि मंगलबारसम्म मागेपनि भण्डारीले दिन सकेका थिएनन् ।
बहुउद्देश्यीय संघको फेसबुक पेजमा मंगलबार भण्डारीले सूचना जारी गरी सचिव तिमल्सिना पक्षले जारी गरेको निर्वाचनसहितको साधारणसभाप्रति भ्रममा नपर्न आग्रह गरेका छन् । सूचनामा संचालक समितिको बैठक बसी निर्वाचन गराउने उल्लेख छ ।
बहुउद्देश्यीय केन्द्रीय संघको विवाद सल्टाउन राष्ट्रिय सहकारी महासंघले चासो देखाएको छैन । महासंघ रमिते बन्दा बहुउद्देश्यीय संघमा भद्रगोल सिर्जना भएको छ । सहकारी विभागले समेत महासंघलाई बोधार्थ पठाएर समन्वय र सहजीकरण गर्न पत्राचार गरेको थियो । तर यस अवधिसम्म महासंघले ठोस पहल गर्न सकेको छैन ।
विभागका रजिष्ट्रार झलकराम अधिकारीले महासंघले समन्वय गर्नुपर्नेमा जोड दिन्छन् । महासंघलाई सहकारी ऐनले समेत विशेष भूमिका दिएकाले समन्वय गर्न पहल गर्नुपर्ने रजिष्ट्रार अधिकारी बताउँछन् ।
विभागले बहुउद्देश्यीय संघको सूचना युद्ध नजिकबाट हेरिरहेको जनाएको छ ।
विभागले हस्तक्षेप गर्नुभन्दा पनि अभियान आफैले मिलाउन सके राम्रो हुने विभागको सुझाव छ । तैपनि विभागले उजुरीका आधारमा स्पष्टीकरण सोध्ने, प्रमाणित प्रतिलिपि माग्ने, आवश्यक नीतिगत सम्बोधन गरिरहेको छ ।
विभागले पौष मसान्तभित्रै साधारणसभा गर्न पुस २३ गते लिखित निर्देशन दिएको हो । संघको पौष १९ गते बसेको सञ्चालक समितिको बैठकमा सदस्यता दिने विषयमा विवाद उत्पन्न भएपछि तत्काल अर्को बैठक बस्नेगरी साधारणसभा स्थगित गरिएको थियो ।
विभागमा केही सञ्चालकले पौष २० गते उजुरी दिएका थिए । उजुरी परेपछि सहकारी विभागले संघलाई पत्र काटेर तोकिएको समयमै साधारणसभा गरी पौष मसान्तभित्र सो को जानकारी दिन निर्देशन दिएको थियो ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक केबी उप्रेतीले केन्द्रीय बहुउद्देश्यीय सहकारी संघको साधारणसभा तोकिएकै समयमा हुने बताए । सहकारी विभागले निर्देशन दिइसकेकोमा महासंघको पनि तोकिएकै समयमा निर्वाचन गर्ने चाहाना रहेको उप्रेतीले बताए ।
Leave a comment