काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) ले लाभांश दिने होडमा संरक्षित पुँजी फिर्ता कोषको रकम दुरुपयोग गरेको पाइएको छ । सङ्घले कोषको व्यवस्था भन्दा फरक ढङ्गले सेयर लाभांश रकम वितरण गरेको पाइएको हो ।
नेफ्स्कूनले सदस्यलाई नाफा वितरण गर्ने नाममा उक्त कोष प्रयोग गरेको देखिएको छ । संरक्षित पुँजी फिर्ता कोषबाट वितरण गर्ने रकम लाभांश कोषमार्फत वितरण गरेर सदस्यलाई झुकाएको हो । यसो गर्दा दैनिक कारोबार गर्ने संघ संस्था मारमा पर्ने र सेयरमात्र लगानी गर्ने संघ संस्थालाई मात्र मुनाफा हुनेहुँदा जुन कोषको रकम जुन प्रयोजनकालागि हो त्यसै मार्फत बितरण गर्नुपर्ने साकोसकर्मी बताउँछन् । संघ सहकारी मोडलमा नभइ कम्पनी मोडलमा गएको देखिन्छ, एक सहकारीकर्मीले भने ।
सङ्घले प्रकाशन गरेको आर्थिक वर्ष ०७७/०७८ को लेखा परिक्षण प्रतिवेदनमा गत आर्थिक वर्षको सेयर पुँजी र यो आर्थिक वर्षको अन्त्यको सेयर पुँजी औसतलाई शेयर लाभांश कोषमा छुटिएको रकमले भाग गर्दा ११.९६ प्रतिशत मात्र हुन आउँछ । तर सङ्घले १४ प्रतिशत लाभांश वितरण गर्ने प्रतिवेदनमा उल्लेख छ ।
त्यसै गरी गत वर्ष पनि करिब १ करोड रकम संरक्षित पुँजी फिर्ता कोषबाट लाभांश कोषमा स्थानान्तरण गरी लाभांश प्रयोजनमा प्रयोग गरेको लेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । त्यसै गरी लेखा परिक्षकले नेफ्स्कूनको नेपाल वित्तीय प्रतिवेदन मानहरू एन एफ आर एस अनुसार तयार नगरिएको पनि जनाइएको छ ।
(नेफ्स्कून) ले सूचना प्रकाशन गरी आ.व. २०७७/०७८ को सेयर लाभांश रकम सदस्य सङ्घ संस्थाहरूको सङ्घमा रहेको सेयर लाभांश बचत खातामा जम्मा गरेको जनाएको छ । सूचनामा भनिएको छ “सङ्घको ३० औँ वार्षिक साधारण सभाले गत आ.ब.को सेयर लाभांश १४ प्रतिशतका दरले पारित गरेको थियो । उक्त रकम सदस्य सङ्घ संस्थाहरूको खातामा प्रविष्टि गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरेको छ ।”
के व्यवस्था छ कानुनमा
सहकारी ऐन २०७४ मा नाफा वाट कम्तीमा २५ प्रतिशत जगेडा कोष छुट्याई बचेको रकम वाट कम्तीमा २५ प्रतिशत संरक्षित पुँजी फिर्ता कोष र ०.५० प्रतिशत सहकारी प्रवर्द्धन कोषमा छुटाई बाँकी रहेको रकमलाई सत प्रतिशत मानी ५ प्रतिशत नघट्ने गरी तोकिए बमोजिमका कोषहरूमा वितरण गर्ने स्पष्ट व्यवस्था गरेको छ ।
सहकारी नियमावली ०७५ मा सदस्यले गरेको कारोबार को आधारमा अनिवार्य रूपमा संरक्षित पुँजी फिर्ता कोषबाट वितरण गर्नुपर्ने व्यवस्था छ । बचतको आधारमा छुटिएको रकमको ४० प्रतिशत र ऋणमा भुक्तान भएको ब्याजको आधारमा ६० प्रतिशत छुटाई कारोबार को आधारमा फिर्ता दिनुपर्ने स्पष्ट व्यवस्था छ ।
वितरण नभएको बाँकी रकम जगेडाकोमा स्थानान्तरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । नेफूस्कूनले २.५० करोड रकम उक्त कोष वाट सेयर लाभांश कोषमा रकमान्तर गरी १४ प्रतिशत लाभांश पुर्याई वितरण गरेको छ ।
Leave a comment