बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा जुङ्गाको लडाईः सदस्य अन्यौलमा

बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा जुङ्गाको लडाईः सदस्य अन्यौलमा :: Sahakari Akhabar

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा सञ्चालकहरुबीच विवाद उत्पन्न हुँदा साधारणसभाबारे सदस्य अन्योलमा परेका छन् । संघको पौष २९ गते निर्वाचनसहितको साधारणसभा तय भएको थियो। तर अहिले उक्त समयमा साधारणसभा हुने/नहुने अन्योल छ ।

अध्यक्ष सुरेन्द्र भण्डारीले साधारणसभा रोक्न सूचना जारी गरेका छन् भने सचिव माधवप्रसाद तिमल्सिनाले सोही दिन साधारणसभा तथा निर्वाचन हुने सूचना जारी गरेका छन् । यसले सदस्य अन्योलमा परेका छन् । उक्त विवाद संघीय सहकारी विभागसम्म पुगेको छ ।

नियामक निकाय सहकारी विभागले पौष मसान्तभित्रै साधारण सभा गर्न पुस २३ गते लिखित निर्देशन दिएको छ । संघको पौष १९ गते बसेको सञ्चालक समितिको बैठकमा सदस्यता दिने विषयमा विवाद उत्पन्न भएपछि तत्काल अर्को बैठक बस्नेगरी साधारण सभा स्थगित गरिएको थियो । त्यस लगत्तै नियामक निकाय सहकारी विभागमा केही सञ्चालकले पौष २० गते उजुरी दिएका थिए ।

उजुरी परेपछि सहकारी विभागले संघलाई पत्र काटेर तोकिएको समए मै साधारण सभा गरी पौष मसान्त भित्र सो को जानकारी दिन निर्देशन दिएको थियो । सदस्यता विवादले संघमा उग्ररुप लिएको छ । निर्वाचनसहितको साधारणसभाका समयमा सदस्यता थपिएपछि विवाद सिर्जना भएको छ ।

निर्वाचन सहतिको साधारणसभाको मुखमा आएर सदस्यता प्रदान गर्न नहुने विषय केही सञ्चालकले उठाएका थिए । सदस्यता प्रदान गर्ने विषय कुनै पनि निर्णयबाट बन्द नगरिएको र २० गतेसम्म आएका फाइलहरुलाई सदस्यता दिने प्रस्ताव अध्यक्ष भण्डारीले गरेपछि विवाद सुरु भएको स्रोतले जानकारी दिएको छ ।

सोही विषयमा धेरै विवाद उत्पन्न भएपछि बैठक तत्काल बस्नेगरी स्थगित भएको थियो । विवाद सुरु भएकै भोलीपल्ट सहकारी विभागमा उजुरी परेपछि हालसम्म आधिकारीक रुपमा बैठक हुन सकेको छैन । उजुरी परेपछि तोकिएको समयमा साधारणसभा गर्न नसकिने भण्डारीेद्धारा जारी सूचनामा उल्लेख छ ।

तर सदस्यहरुले साधारणसभा स्थगित गर्ने निर्णय नभएको भन्दै केही सञ्चालकहरुले आपत्ति जनाएका छन् । सचिव तिमल्सिनाद्धारा सोमबार जारी सूचनामा तोकिएकै मितिमा निर्वाचन सहितको साधारणसभा हुने उल्लेख छ ।

साधारणसभाको तयारी पूर्व संघको सदस्यता प्रदान, १० वटा विषयहरुमा छलफल गर्न पौष १९ गते बैठक बोलाइएको थियो । उक्त बैठकमा नयाँ सदस्यताको लागि २८ वटा सहकारीको प्रस्ताव पेश गरिएको थियो । सोही विषमा केही सञ्चालकले आपत्ती जनाएपछि विवाद सुरु भएको हो ।



Leave a comment