तोकिएको समयमा साधारणसभा गर्न बहुउद्देश्यीय केन्द्रीय संघलाई विभागको निर्देशन 

तोकिएको समयमा साधारणसभा गर्न बहुउद्देश्यीय केन्द्रीय संघलाई विभागको निर्देशन  :: Sahakari Akhabar

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा बिबाद बढेसंगै विभागले समयमै साधारण सभा गर्न निर्देशन दिएको छ । संघको तोकिएकै समयमा साधारण सभा गरि पुस मसान्त भित्रै विभागलाई जानकारी पठाउन निर्देशन दिएको हो ।

विभागले २३ गते निर्देशन जारी गर्दै संघको संचालक समितिको मंसिर ८ गते बसेको बैठकले पुस २९ गते निर्वाचन सहितको साधारण सभा गर्ने निणर्य गरेकोले उक्त मितिमा नै साधारण सभा गर्न भनेको छ । सहकारी विभागको निर्देशन पछि पुस २४ गते संघमा आन्तरिक विवाद चुलिएपछि साधारण सभा स्थगीत भएको सूचना प्रकाशित गरीएको थियो ।

संघका अधिकांश संचालकले तोकिएकै मितिमा साधारणसभा हुनुपर्ने अडान राख्दै सहकारी विभागमा उजुरी दिएका थिए । विभागका उपरजिष्ट्रार खिमानन्द आचार्यद्वारा जारी निर्देशनमा संघको मंसीर १३ गते बसेको सञ्चालक समितिको बैठकले २०७८ पौष २९ गते निर्वाचन सहितको साधारणसभा गर्ने निर्णय गरेको हुँदा, उक्त सञ्चालक समितिको बैठक बसेको मिति मंसीर १३ गतेसम्म कायम सदस्यहरुलाई मात्र निर्वाचनमा भाग लिन व्यवस्था गर्न भनिएको छ । 

त्यसैगरी सहकारी ऐन २०७४ को साधारणसभाको बैठक सम्बन्धी व्यवस्था अन्तर्गत उपदफा २ मा हरेक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने व्यवस्था भए बमोजिम तोकिएको समयमा साधारणसभा गर्न भन्दै अन्यथा कानुन बमोजिम विभागले कारवाही अगाडि बढाउने निर्देशनमा उल्लेख छ । संघका अध्यक्ष सुरेन्द्र भण्डारीले विभागको निर्देशनलाई नै अवज्ञा गर्दै साधारणसभा स्थगित भएको सूचना राष्ट्रिय दैनिकमा प्रकाशित गरेको संघका सचिव तिमल्सिनाले बताए ।

सूचनामा गत पौष १९ गते वार्षिक साधारणसभाको पूर्वतयारी, संघको सदस्यता प्रदान लगायत १० वटा छलफलका विषयहरु सहित सञ्चालक समितिको बैठक आयोजना गरिएको र सदस्यता प्रदान गर्ने सम्बन्धी विषयम विवाद उत्पन्न भएकाले सचिव माधवप्रसाद तिमल्सिनाको नेतृत्वमा केहि सञ्चालकहरुले सहकारी विभागमा उजुरी दिएको र साधारणसभा सम्बन्धी तयारी पूरा नभइसकेको भन्दै सभा स्थगित गरिएको सूचनामा उललेख छ ।

विभागको निर्देशनलाई समेत उल्लंघन गरेर स्थगनको सूचना निकालेको र सञ्चालकहरुलाई जानकारी नै नदिई एकलौटी ढंगले अध्यक्ष भण्डारीले गरेको गतिविधि मान्य नहुने र तोकिएकै समयमा साधारणसभा गरिनुपर्ने सचिव तिमल्सिनाले बताए ।



Leave a comment