सहकारीको ब्याजदर नबढाउ, बरु बिकल्प खोजौँ : मन्त्री श्रेष्ठ

सहकारीको ब्याजदर नबढाउ, बरु बिकल्प खोजौँ : मन्त्री श्रेष्ठ :: Sahakari Akhabar

काठमाडौं । सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ब्याजदर नबड्ने बताएकी छिन् । बरु कर्जाको ब्याजदर घटाएर सदस्य लगानीकर्ताहरुलाई सुविधा दिनुपर्ने मन्त्री श्रेष्ठको भनाई छ। 
शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले पछिल्ला दिनहरुमा सहकारी संघ संस्थाहरु पैसा ब्याजमा लगानी गरेर खाने बैंक जस्तो भएको बताएकी छिन् ।

‘पछिल्ला दिनहरुमा सहकारी उद्देश्य बिहिन जस्तै भएका छन् । सहकारीको मर्म के हो ? उद्देश्य तथा लक्ष्य के हो ? सहकारीको बाटो एकातिर छ तर संस्थाहरुको गन्तव्य अर्कै तिर भइरहेको छ । यसलाई रोक्न आवश्यक छ’, मन्त्री श्रेष्ठले भनिन् ।

सहकारी संघ संस्थाहरु सदस्यहरुको वृद्धि विकासमा भन्दा पनि नाफा कमाउनेतर्फ उद्दत भएको तर्फ इंकित गर्दै मन्त्री श्रेष्ठले ब्याजदरमा कसेर सदस्य ठग्ने सहकारीको काम नभएको बताइन् ।

सन्दर्भ ब्याजदरकै विषयमा बोल्दै मन्त्री श्रेष्ठले बढाउने भन्दा पनि बरु घटाउनु पर्ने र बरु अन्य बिकल्पमार्फत सहजीकरण गर्न सकिने बताइन् ।

हाल सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत रहेको छ । बजारमा तरलता अभावको संकट पर्न थालेपनि सहकारी अभियन्ताहरु उक्त सन्दर्भ ब्याजदरलाई समय सापेक्षा अब कम्तिमा पनि २ प्रतिशत वृद्धि गर्नुपर्ने माग गरिरहेका छन् ।

त्यसैगरी काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले बैंकहरुले नै निक्षेपमा साढे १२ प्रतिशतसम्म ब्याज प्रदान गरिरहेकाले सहकारीको सन्दर्भ व्याजदर पुनरावलोकन गर्नुपर्ने बताए ।

सहकारीमा सन्दर्भ ब्याजदर बाध्यकारी भएको भन्दै ऐनलाई संशोधन गरेर भएपनि ब्याजदर निर्धारणको समस्या सल्टाउन उनले मन्त्रीको ध्यानाकर्षण गराए ।

सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिले दुईपटक बैठक बस्दा पनि व्याज निर्धारण टुङ्ग्याउन सकेन, बैंकहरुको समेत १२।५ प्रतिशतसम्म व्याजदर पुगेको छ , यस्तो अवस्थामा सहकारीहरु कसरी टिकाउने ।

सहकारीमा तरलता व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकन आवश्यक भएको र बजारमा बढ्दा बढ्ने र घट्दा घट्ने व्यवस्था हुनुपर्नेमा उनको जोड छ । 

काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापाले नयाँ सहकारी ऐनका कारण बहुउद्देश्यीय संस्थाहरु नै रहने कि नरहने अन्यौल रहेको बताए ।

आफुहरु उद्देश्य अनुसार बहुआयामिक  काम गर्न तयार रहेको भएपनि कानुनी अड्चनका कारण व्यवसायिक बन्न नसकको भन्दै बाधाअड्चन फुकाइदिन उनले अनुरोध गरे । 

कार्यक्रम नेफ्स्कुनका कोषाध्यक्ष दिपक पनेरु र पाँचतारा साकोसका अध्यक्ष भोलानाथ पाठकले शुभकामना मन्तब्य राखेका थिए ।



Leave a comment