पोखरा । पोखराका सहकारीकर्मीहरुका लागि सहकारी क्षेत्रमा तरलता व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
वर्तमान समयमा आर्थिक क्षेत्रमा देखिएको तरलता अभावको प्रभाव सहकारी क्षेत्रमा समेत देखिन सक्ने सम्भावनालाई मध्येनजर गर्दै जिल्ला सहकारी संघ कास्कीको आयोजना तथा राष्ट्रिय सहकारी बैंक पोखरा र तालचोक शाखाकोे संयोजनमा तरलता व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीको पैसा सहकारीमै परिचालन गर्न सकेमा सहकारी क्षेत्रमा तरलता अभाव नहुने बताए ।
सहकारीको रकम सहकारी बैंक मार्फत परिचालन गर्न आव्हान गर्दै अध्यक्ष उप्रेतीले सहकारीको रकम सुरक्षाका निमित्त सहकारी बैंक हरदम तत्पर रहेको बताए ।
उनले सहकारीहरुको छाताका रुपमा रहेको सहकारी बैंकलाई थप विकासका लागि सहकारीहरुको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा राष्टिय सहकारी महासंघका पूर्व सञ्चालक डिल्लिराम तिवारी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, नेफ्स्कूनका सञ्चालक कमला देवी गिरी लगायतले सहकारी क्षेत्रमा तरलता व्यवस्थापनका लागि सचेत हुन तथा समन्वय गरेर काम गर्न आग्रह गरे ।
अभिूखीकरण कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले हाल सम्म सहकारी क्षेत्रमा तरलता अभाव नदेखिएको जानकारी गराउनु भयो ।
उनले तरलता अभाव हुन सक्ने संभावनालाई ख्याल गरेर सहकारी क्षेत्रको रकम सहकारीमार्फत परिचालन गर्न सके तरलता अभाव हुने बताए ।
सहकारी बैंकले सहकारी क्षेत्रमा तरलता अभाव हुँन नदिन दुई अर्बको कोष बनाएको जानकारी दिए । उनले सहकारी र सहकारी बैंकलाई जोड्ने गरी कनेक्ट आइपिएस, शाखा रहित सेवा, संकलन केन्द्र लगायतको विस्तार गर्न थालेको जानकारी गराए।
अभिमूखिकरण कार्यक्रममा सहभागी सहकारीका सञ्चालक तथा व्यवस्थापकहरुले सहकारीका समस्या र राष्ट्रिय सहकारी बैंकले गर्नुपर्ने सुधारका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए ।
कार्यक्रम जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेको स्वागत तथा महासचिव दिपकराज बास्तोलाको सञ्चालनमा सम्पन्न भएको थियो ।
Leave a comment