काठमाडौं । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री बसन्त मानन्धरले सहकारीमार्फत उत्पादनमा जान जोड दिएका छन् । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै मन्त्री मानन्धरले कृषिमा यान्त्रिकरण भित्र्याएर उद्यमशीलता बढाउन जोड दिए । कृषि उत्पादन बढाउन प्रदेश सरकारले सिँचाइ व्यवस्था गर्न लागिएको उनले बताए ।
सहकारीमार्फत रोजगारी सिर्जना र उत्पादन बढाउन जोड दिनुपर्ने उनको भनाइ छ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईले सहकारीलाई उत्पादनमा जान ४७ वटा ऐन बाधक रहेको बताए । सहकारीले विद्युत, उत्पादन गर्न, स्कुल सञ्चालन गर्न चाहन्छ’ उनले भने,‘तर ऐनले सहकारी नचिन्दा काम गर्न गाह्रो छ । सहकारीमा लागेर सदस्यको आर्थिक उन्नती कति भयो भन्ने विषय मुख्य रहेको उनले बताए ।
सिभिल सहकारी जोगाउन प्रयास गरिएको जानकारी दिदैँ चौलागाईले त्यसको नेतृत्वसँग बारम्बार छलफल गर्दा पनि गम्भीर नभएको बताए । ‘निदाएको अभिनय गर्नेलाई उठाउन सकिदैन’ उनले भने । संस्थाबारे सदस्यले बारम्बार जानकारी लिने गरेमा सहकारी समस्या नपर्ने उनले बताए ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शोभा सापकोटाले २ वटा सहकारीको बदमासीले सिंगो सहकारी बदनामी हुन नहुने बताए । ‘पलायन भइरहेका दक्ष जनशक्तिलार्ई सहकारीले रोक्नुपर्छ’ उनले भनिन् । कोरोनाले अर्थतन्त्र डामाडोल पारेको अवस्थामा सहकारीमा पनि प्रभाव परेको भन्दै वडा अध्यक्ष सापकोटाले सहकारी पनि विस्तारै तंग्रिन लागेको बताइन् ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीले रोजगारी र उद्यमशीलतामा जोड दिनुपर्ने बताए । केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका महासचिव माधव तिमल्सिनाले बहुउद्देश्यीय सहकारीले बहुआयामिक परियोजना सञ्चालन गर्नुपर्ने बताए । सहकारी ऐनमा कुन पुँजीबाट ७०/३० को कारोबार गर्ने भन्ने स्पष्ट व्यवस्था नभएकाले सहकारीले काम गर्न नसकेको उनले बताए ।
कार्यक्रममा काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोजकुमार थापा, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिनालाथ दाहाललगायतले मन्तव्य व्यक्त गरे । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नरेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्लेले गरे भने कार्यक्रममा स्वागत उपाध्यक्ष आनन्दकुमार राउतले गरे ।
सम्मान पनि
कार्यक्रमका अवसरमा उत्कृष्ट वर्ष कर्मचारी लिला मगर सम्मानित भए । त्यस्तै अन्य आठजना कर्मचारीलाई संस्थाले सम्मान गरेको थियो । पवित्रा अधिकारी, स्वास्तिका ज्ञवाली, सन्ध्या नेपाली, देवकी भट्टराई, गोकर्ण भट्ट, लिजा ज्ञवाली, जयन्ती वाग्ले, इन्द्रकुमारी सिंहलाई सम्मान गरिएको थियो ।
संस्थाले बचत, कर्जा र सेयर तथा ज्येष्ठ सदस्यमा उत्कृष्ट हुने ११ जनालाई पनि सम्मान गयो । उत्कृष्ट सेयर सदस्यहरु विष्णु नेपाली, भिमादेवी, मुकेश गुप्ता, ज्येष्ठ उत्कृष्ट सदस्यमा चन्द्रबहादुर लामा, ओमप्रकाश अग्रवाल, प्रमेश्वरलाल अग्रवाल, विक्रमराज बर्जाचार्य, किरण ढकाललाई सम्मान गरिएको थियो । त्यस्तै उष्कृष्ट बचतकर्तातर्फ उत्तमप्रसाद अधिकारी, सुभंम अग्रवाल, शिवकुमार लामिछाने, राजन पौडेल सम्मानित भए ।
Leave a comment