सहकारीलेनै बाणिज्य बैंकमा पैसा राख्नाले तरलता अभाव देखिनथालेको हो

सहकारीलेनै बाणिज्य बैंकमा पैसा राख्नाले तरलता अभाव देखिनथालेको हो :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले ब्याजको लोभले पैसा अन्य बैंकमा जम्मा गर्न थालेको बताएका छन् । सहकारीको पैसा सहकारीमै भनेपनि सहकारीहरु आफै बाणिज्य बैंकमा धमाधम पैसा राख्न थालेको बताएका हुन् ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले प्रारम्भिक संस्था, जिल्ला संघ र केन्द्रीय संघहरुले वाणिज्य बैंकहरुमा पैसा राख्दा सहकारी क्षेत्रमा तरलता समस्या भएको बताए ।

सहकारीको पैसा सहकारी क्षेत्रमा नै भनेपनि पैसा निजी बैंकहरुमा जाँदा अहिलेको अहिलेको अवस्था सिर्जना भएको उनले बताए ।सहकारीमा ब्याजदर कम भएका कारण सहकारीका सदस्यको पैसा अन्यत्र नजाओस् भनेर सन्दर्भ ब्याजदर परिमार्जनका लागि आफुहरु लागिपरेको समेत उनले बताए ।

आगामी पौष १५ गते सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बस्ने र अभियानको भावनालाई सम्बोधन हुनेगरी ब्याजदर पुनरावलोकन हुने समेत उनले जनाए ।

उनले भने “सहकारीको पैसा सहकारीमै फिर्ता आउनेगरी ब्याजदर तय गरिनेछ, बजार अध्ययन भन्दापनि ब्याजदर निर्धारण उपसमितिको सुझाव र तत्कालको अवस्थालाई प्राथमिकता दिइने छ ।” 

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा अहिले देखिएको समस्याको निकासका लागि महासंघले नै पहल गर्नुपर्ने बताए ।

सदस्यको पैसा फिर्ता गर्न सकिएन भने हाम्रो नेतृत्व हामीमै मात्र सीमित हुने भन्दै उनले त्यसका लागि अभियानकर्मी सचेत हुनुपर्ने जनाए ।

अभियानभित्र आफुलाई केन्द्रमा राखेर केहि साथीहरु अगाडि बढेकाले त्यसले थप समस्या ल्याउने भन्दै सिंगो अभियानकै हितका लागि सोच्नुपर्ने ढकालले बताए ।

कार्यक्रममा केन्द्रिय बहुउद्देश्यीय सहकारी संघका सचिव माधव तिमल्सिनाले संस्थाहरुले सदस्यलाई सेवा र ब्याजदरमा विश्वास दिलाउनुका साथै सदस्य प्रत्यक्ष भेटघाट कार्यक्रम गरेर समस्या हल गर्न सकिने बताए । बैंक र नेफ्स्कूनले दिने ब्याज भन्दा बढि वाणिज्य बैंकहरुले ब्याज दिए भने पैसा उतै जान्छ, त्यसलाई मध्यनजर गर्न उनले सुझाए ।

कार्यक्रममा ललितपुर जिल्ला सहकारी संघका उपाध्यक्ष रामशरण बस्नेतले बैंकहरुले सीमित समयका लागि १२ प्रतिशतसम्म ब्याज आव्हान गरिराखेको अवस्थामा सहकारीहरुले पनि त्यस्ता प्रडक्ट ल्याउन सके तरलता अभावलाई न्यून गर्न सकिने बताए ।

सहकारी बैंक र नेफ्स्कूनले सीमित अवधिका लागि भएपनि विशेष बचत योजना ल्याएर सदस्यहरुको पैसा अभियानभित्र आउने वाताबरण बनाउनुपर्ने बताए ।

संघका सल्लाहकार रामशरण घिमिरेले सहकारीभित्र रहेको पैसा यहिँ रहने बातावरण नबन्दासम्म तरलता समस्या झन् जटिल बन्ने बताए । व्यापार घाटा चुलिएको, कृषि उपजमा परनिर्भरता बढेको र डिजेलपेट्रोलको आयात बढ्दा मुलुकको पैसा बाहिरिएकाले समस्या आएको उनको भनाई छ ।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बजगाईंले स्थपनाकालदेखि नै संघमा आवद्ध सहकारी संस्थाहरुको विकास, प्रवद्र्धन र संवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै सहकारीमैत्री नीति निर्माणका सवालमा पनि पहलपैरवी गर्दै आएको बताए ।

आन्तरिक रुपमा संस्थगत विकास, सुशासन एवं क्ष्ँमता अभिवृद्धि गर्दे अझ गुणस्तरीय सेवा प्रदान गर्नु आजको आवश्यकता रहेको र बचत ऋण अभियानलाई व्यवस्थित एवं समयसापेक्ष बनाउन अनुकूल नीतिगत व्यवस्थाका लागि राज्यसँग पहल गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

सहकारीमार्फत उत्पादन, वितरण र उपभोगलाई जोड दिइ आर्थिक रुपमा सबल मुलुक बनाउन सहकारीहरु लाग्नुपर्नेमा उनले जोड दिए । संघले आफ्ना सदस्यहरुको सबलीकरण र विस्तारका लागि वर्षभर विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गर्दै आएको उनले बताए ।

संघमा ५२६ संस्था आवद्ध रहेका छन् । संघको कुल शेयर ६ करोड १९ लाख, बचत १ अर्ब ८० करोड र ऋण लगानी १ अर्ब १७ करोड गरी सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।

संघले कोरोना महामारीका बेला सदस्य संस्थालाई सघाउन तरलता व्यवस्थापन कोष खडा गरेको र त्यस अवधिमा २३ वटा संस्थलाई सहयोग गरेको जनाएको छ ।

संघले आफ्नै घरजग्गा खरिद गर्ने, आवद्ध सबै संस्थाहरुमा अन्तरलगानी विस्तार गर्ने, हरेक ३ महिनामा वित्तीय विवरण प्रकाशित गर्ने, अनुगमन तथा एकिकरणलाई प्राथमिकता दिने, संस्था प्रवद्र्धन तथा विकासमा टेवा पु¥याउने भएको छ ।

त्यसैगरी सदस्यहरुलाई आवश्यकता अनुसार सशुल्क र निःशुल्क तालिम प्रदान गर्ने, महिलाद्वारा सञ्चालित सहकारीलाई बिनाधितो लघुकर्जा प्रदान गर्ने, निष्क्रिय रहेका संस्थाहरुलाई सक्रिय बनाउन पहल गर्ने भएको छ । 

सभामा कोषाध्यक्ष दिपक घिमिरेले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक अशोक महर्जनले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्मान पनि

सभामा महानगरपालिका र नगरपालिका भित्रका उत्कृष्ट सहकारी संस्थाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने संस्थामा गोदावरी नपाबाट गणपति साकोस, महालक्ष्मी नपाबाट सहारा साकोस र ललितपुर महानगरपालिकाबाट अनमोल साकोस रहेका छन् ।

त्यसैगरी उत्कृष्ट सहकारी कारोबार गर्नेमा गौरव साकोस धापाखेल, समता साकोस नःटोल, आदिनाथ साकोस ग्वार्को, श्रीकृष्ण प्रणामी साकोस इमाडोल र अभियान साकोस गोदावरी रहेका छन् ।

सभामा सहकारी एकिकरणतर्फ मंगलदीप साकोस र हेलो नयन साकोसलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी संघकी सहलेखापाल सुजाता शाक्यलाई नगद सहित सम्मान गरिएको छ । संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तब्य र सचिव श्यामकृष्ण महर्जनले कार्यक्रम सञ्चालन गरेका थिए ।



Leave a comment