एक हप्ता आयात रोकिएपनि धान्न सक्ने सहकारीको पेट्रोलपम्प

एक हप्ता आयात रोकिएपनि धान्न सक्ने सहकारीको पेट्रोलपम्प :: Sahakari Akhabar

जिल्ला संघ चितवनको मुख्य पेशा: पेट्रोयिम पदार्थ, तोरी तेल र सहकारी बजार

चितवन । राजनीतिक अखडाका रुपमा स्थापित सहकारीका संघहरु व्यवसायिक बन्न थालेका छन् । जिल्ला संघ तथा केन्द्रीय संघको संख्या धेरै भएपनि व्यवसायिक काम गर्न भने सकेका छैनन् । तर चितवन जिल्ला सहकारी संघ पछिल्लो समयमा व्यवसायिक बन्दै गइरहेको छ । संघले पेट्रोल पम्प, तोरी मिल व्यवसाय, सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । यसका साथै सहकारीलाई मसलन्दका सामान पनि बिक्री गर्दै आएको छ ।

सहकारी पेट्रोलपम्प
घरेलु कार्यालयमा चितवन जिल्ला सहकारी संघद्धारा सञ्चालित पेट्रोलपम्प भनेर विगत २ वर्षअघिदेखि स्थापना भएको हो।

संघका व्यवस्थापक विनोद खतिवडाका अनुसार जिल्ला संघका अरु व्यवसाय र पेट्रोलपम्पको ब्यालेन्ससिट छुट्टाछुट्टै बन्ने गरेको छ ।

३ सय ८१ सहकारीले २ वर्षअघि साढे ३ करोडको लगानीमा पेट्रोलपम्प सञ्चालन गरेका हुन् । अहिले ६ करोडको लगानी भइसकेको छ । सहकारीले पम्पमा १० हजारदेखि २० लाखसम्म सेयर लगानी गरेका छन् ।

२ लाख ४ हजार लिटर क्षमताको पेट्रोल भण्डारण क्षमता छ । व्यवस्थापक खतिवडाका अनुसार भण्डारण क्षमता पर्याप्त रहेकाले एक हप्ता पेट्रोल आयात नहुँदा पनि धान्न सक्छ ।

दैनिक ३२ लाखको डिजेल, पेट्रोल बिक्री हुन्छ । सहकारी संस्थाहरुको संयुक्त लगानीबाट निर्माण भएको नेपालकै पहिलो पम्प हो । पेट्रोल पम्पलाई देशकै नमूनाको रुपमा संचालन गर्ने योजना रहेको जिल्ला सहकारी संघका पदाधिकारी बताउँछन् ।

एक बिगाहा क्षेत्रफलमा पेट्रोलपम्प निर्माण गरिएको छ । पम्पसँगै निमार्ण गरिएको २२ वटा व्यवसायीक सटर पनि छन् । पेट्रोलपम्पबाट १ करोड ३० लाख आम्दानी हुन्छ । संघले आगामी दिनमा चार्जिङ स्टेसन बनाउने योजना बनाएको छ ।

तोरी तेलमा ब्रान्डिङ गर्दै
चितवन जिल्ला सहकारी संघले तोरी तेललाई ब्राण्डमा बेच्ने योजना बनाएको छ । संघले उत्पादन गरेको तेलको लेभलिङ र प्याकेजिङमा बिक्री गर्ने योजना बनाएको हो।

अहिले तोरीको तेल खुलारुपमा बिक्री हुन्छ। तोरी मिल संघले पहिलो व्यवसायका रुपमा २०३६ सालदेखि सुरु गरेको हो ।

३ सय ५० रुपैपाँ प्रतिलिटर मूल्यमा चितवनमै शुद्ध तेल खपत हुन्छ । सहकारी संस्थाले खरिद गर्न चाहे १० रुपैयाँ छुटमा तेल पाउँछन् ।

तोरी उत्पादन बढाउन कृषकलाई आकर्षित गर्ने संघको योजना छ । चितवन तोरीका लागि प्रख्यात जिल्ला हो  संघले स्थानीय स्तरका साथै दाङलगायत भारतबाट समेत तोरी ल्याउने गरेको जनाएको छ ।

पछिल्लोे समयमा तोरीको मूल्य दोब्बर बढेको छ । ८ हजार रुपैयाँमा एक क्वीन्टल तोरी पाइदैँ आएकोमा अहिले १६ हजार रुपैयाँ पर्ने गरेको छ ।

व्यवस्थापक खतिवडाले लेभलिङ, प्याकेजिङ गरेर प्रतिष्पर्धात्मक बजारमा ब्रान्डिङ तोरी तेल बिक्री गर्ने बताए ।

सहकारी बजार स्थापना 
चितवन जिल्ला सहकारी संघले फलफूल तथा तरकारीको बजार सञ्चालन गरिरहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडीपी अन्र्तगत सहकारी बजार विकास कार्यक्रम(सिएमडीपी) सँग साझेदारी गरी सहकारी बजार स्थापना गरेको हो ।

सहकारी बजारका लागि आउटलेटका रुपमा बजार सञ्चालन गर्न लागिएको हो । १० करोड लागतमा संचालन गर्नलागिएको बजारमा ७० प्रतिशत मन्त्रालय तथा सीएमडीपीको सहयोग रहनेछ । यसका लागि १२ वटा सहकारी छनोट भएका छन् । व्यवस्थापक खतिवडाले संघकै भवनबाट क्षेत्रीयस्तरमा बजार सञ्चालन गर्न लागिएको बताए ।

चितवन जिल्ला सहकारी संघले बचत तथा ऋणको कारोबार समेत गर्दै आएको छ । यसका साथै घर भाडामा दिएर आम्दानीसमेत गरिरहेको छ । मसलन्द सामान बिक्री पनि गरिएको थियो । तर पछिल्लो समयमा धेरै सहकारी प्रविधिमा गएसँगै चारखाता लगायतका सामान बिक्रीमा कमी आएकाले रोक्न लागिएको संघले जनाएको छ ।



Leave a comment