नेपालको पहिलो सहकारी संग्रहालय अलपत्र

नेपालको पहिलो सहकारी संग्रहालय अलपत्र :: Sahakari Akhabar

संस्थासँग ४ विगाहा जग्गा छ । ५ कठ्ठामा संग्राहलय निर्माण गर्ने योजना थियो । संग्रहालय बनाउन ५ करोड खर्च भइसकेको छ। सरकारले साढे ४ करोड बजेट विनियोजन नगर्दा निर्माणकार्य अलपत्र परेको संस्थाका कोषाध्यक्ष भक्त बहादुर गुरुङ्ग बताउँछन् । २ वर्षभित्र पूरा गर्ने योजना भएपनि ४ वर्ष पूरा भइसक्दा पनि कहिले निर्माण हुन्छ भन्ने अन्योल छ ।

चितवन । नेपालमा सहकारी स्थापना भएको ६३ वर्ष पूरा भएको छ । ६४ वर्षमा चल्दै गर्दा नेपालको पहिलो सहकारी बामे सर्दै गरेको अवस्थामा छ ।

चितवनमा सहकारी मोडलमा पहिलोपटक बखानपुर ऋण समिति २०१३ साल चैत्र २० गते स्थापना भएको थियो । २०४६को बहुदलीय व्यवस्थासँगै समितिले बहुउद्देश्यीे सहकारीको रुप पाएको थियो ।

तर संरक्षणको पर्खाइमा बखानपुर पर्खिरहेको छ । राज्यको उदासिनता तथा सरकारको वेवास्ताका कारण बखानपुर सहकारीको इतिहास मेटिने चिन्ता थपिएको छ ।

हरेक वर्ष सहकारी दिवसका अवसरमा मात्र बखानपुर सम्झिने गर्छन् । तर त्यसको जगेर्ना गर्ने र जोगाउनेमा कसैको ध्यान पुग्न सकेको छैन । बखानपुर सहकारीका पदाधिकारीले पनि संग्रहालय निर्माणका लागि खासै लबिङ गर्न सकेका छैनन् ।

सहकारीका शीर्षस्थ निकायहरुले समेत इतिहास जोगाउन भूमिका खेल्न सकेका छैनन् । संग्रहालय निर्माण रोकिएको वर्षाै पुग्दा पनि कसैले चासो देखाएका छैनन् ।

सहकारीको इतिहास लामो भएपनि यसको ब्यालेन्ससिट खासै राम्रो छैन । संस्थाले व्यवसायिक काम गर्न खोजेको छ । तर आर्थिक अभावका कारण रचनात्मक काम गर्न सकेको छैन ।

नेपालको पहिलो सहकारीलाई संग्रहालय बनाउने अभियान वर्षाै अघिदेखि सुरु भएको हो । तर अहिलेसम्म सार्थक हुन नसक्दा संग्रहालय बन्ने सम्भावना पनि क्षीण बन्दै गएको छ ।

२०७४ मा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संग्रहालयको शिलन्यास गरेका थिए । तर अहिलेसम्म संग्रहालय बन्न सकेको छैन । निर्माणाीधन भवन पनि अलपत्र अवस्थामा छ ।

संस्थासँग ४ विगाहा जग्गा छ । ५ कठ्ठामा संग्राहलय निर्माण गर्ने योजना थियो । संग्रहालय बनाउन ५ करोड खर्च भइसकेको छ।

सरकारले साढे ४ करोड बजेट विनियोजन नगर्दा निर्माणकार्य अलपत्र परेको संस्थाका कोषाध्यक्ष भक्त बहादुर गुरुङ्ग बताउँछन् । २ वर्षभित्र पूरा गर्ने योजना भएपनि ४ वर्ष पूरा भइसक्दा पनि कहिले निर्माण हुन्छ भन्ने अन्योल छ ।

संग्राहलयमा संस्थापक अध्यक्षको हातबाट लेखिएको तमसुक, २०११ सालमा राप्ती दून परियोजनाका लागि ढड्डी फाँड्न प्रयोग गरिएको औजार उपकरण, ऐतिहासिक पूराना पैसा, संस्थाका अन्य बहुमूल्य समान राख्ने योजना छ ।

भ्रमणका लागि आउने समूहलाई आवासीय व्यवस्था, तालिम हल, भोजनालय, सहिद पार्क बनाउने, साँस्कृतिक पहिचान झल्कने बस्तु राख्ने योजना रहेको सस्थाले जनाएको छ।

संग्रहालयमा नेपालको इतिहाससँगै विश्वकै सहकारी अभियानको इतिहास राख्न सकिने जानकारहरु बताउँछन् । समग्र विश्वकै सहकारी इतिहास संग्रहालयमा राख्न सके बढी आकर्षण हुने अवलोकर्ताहरु बताउँछन् ।

संस्थाले अवलोकन गर्ने संस्थाबाट १ हजार ५ सय रुपैयाँ सहयोग शुल्क लिन्छ । सहकारीले यसअघि एउटा कोठामा संग्राहालय निर्माण गरेको थियो ।

तर भवन अभावका कारण संग्राहालयमा राखिएका सामग्री पोको पारेर राखिएको छ । उक्त स्थानमा सहकारीले तोरी मिल सञ्चालन गर्र्दै आएको छ ।

सहकारीले वार्षिक ९५ टन तोरी पेलेर ३१ हजार लिटर तेल उत्पादन गरी बिक्री गर्छ । प्रति लिटर ३ सय ५० रुपैयाँका दरले स्थानीय स्तरमै खपत हुँदै आएको अध्यक्ष रेशमराज गुरुङ बताउँछन् ।

संस्थाका सल्लाहकार टोपमान सिंह गुरुङले सहकारी पाठशाला बनाउने योजना रहेको सुनाए । किसानलाई प्राथमिकता दिएर पसल सञ्चालन गर्ने पनि उनले सुनाए ।

बखानसिंह गुरुङको अगुवाईमा चितवनको तत्कालीन बखानपुरस्थित बखानटोलमा बखान सहकारी स्थापना भएको थियो । तर अहिले सहकारी मात्रै नभई इतिहास पनि गुम्ने खतरा बढ्दै गएकोमा पदाधिकारी चिन्तित छन् ।

बखानमा ७ सय ५० जना सदस्य छन् । ६० जना सेयर सदस्यले प्रतिव्यक्ति १० रुपैयाँको सेयर खरिद गरी ६ सय रुपैयाँबाट सहकारी यात्रा सुरु भएको थियो ।



Leave a comment