काठमाडौं । सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्थाका पीडित फेरि आन्दोलनमा उत्रेका छन् । पीडित बचतकर्ताले पूर्व अध्यक्ष इच्छाराज तामाङ, अध्यक्ष केशवलाल श्रेष्ठलगायतलाई कारवाहीका लागि दवाव दिन माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।
६० दिनसम्म थुनामा रहेका तामाङ र श्रेष्ठसहित १२ जनासँग जिल्ला अदालतले बयान लिइरहेको छ । इच्छाराज तामाङले २०६३ साल देखि पटक पटक गरेर यस सहकारीबाट ८ अर्ब ५७ करोड ३८ लाख भन्दा बढी रुपैयाँ बिना धितो ऋण लगेका छन् । उनीहरुले ऋण नतिरेका कारण बचतकर्ताले पैसा फिर्ता पाउन सकेका छैनन् ।
सिभिलका धेरै जसो बचतकर्ताहरु ६० देखि ९० बर्षका ज्येष्ठ नागरिक छन् । मजदुर र बचतको पैसाले मासिक खर्च चलाऊनु पर्ने ब्यक्ती पनि छन् । आफ्नो बचतको पैसा फिर्ता नपाउँदा निक्षेपकर्तालाई ठूलो आर्थिक संकट परेको छ ।
सरकारले प्रभावकारी अनुगमन नगर्दा सहकारीको पैसा गैरकानुनी रुपले अपचलन गरेर ठगी तथा संगठित आर्थिक अपराध गरेकोमा निक्षेपकर्ता दुःखी छन् ।
ठगी तथा संगठित आर्थिक अपराध बिरुद्ध देशको कानुन पनि चीन, फ्रान्स, बेलायत र अमेरिकामा जस्तै कडा हुनुपर्ने पीडितको माग छ ।
ठगी तथा संगठित आर्थिक अपराधमा संलग्न इच्छाराज तामाङको गिरोह थुनाबाट छुट्न नपाओस, फरार बिपक्षी श्रीजना शाक्य तामाङ, प्रतिक्षा तामाङ, प्रतिष्ठा तामाङ तथा अन्यलाई पक्राउ पुर्जी जारी हुनुपर्ने पीडितहरु बताउँछन् ।
गिरोहलाई ठगी तथा संगठित आर्थिक अपराधमा हदै सम्मको सजाय हुनुका साथै बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउनुपर्ने पीडितको माग दावी छ ।
सहकारीका २ हजार सदस्य छन् । १ हजार ५ सय २० ले ५ अर्ब ७७ करोड ८० लाख रुपैयाँ ठगी भएको उजुरी दिएका छन् । अब दुई तीन दिनमा बयान लिने काम सकिने छ । त्यसपछी थुनछेक बहस हुनेछ ।
तामाङ सिभिल ग्रुप, सिभिल होम्स, सिभिल अपार्ट्मेन्ट्स र सिभिल इस्टेट्सको अध्यक्ष हुन् । श्रेष्ठ सिभिल होम्स, सिभिल अपार्ट्मेन्ट्स र सिभिल इस्टेट्सका निर्देशक हुन् । कम्पनीमा अरु पनि रहेकाले ऋण तिर्ने दायित्व आफ्नो मात्र नभएको तामाङ बयानका क्रममा दावी गर्छन् ।
अध्यक्ष श्रेष्ठले सहकारीको पैसा सम्बन्धी सबै काम इच्छाराज तामाङले गर्ने गरेको दावी गरेका छन् । बैंक खाता समेत उनले तामाङले नै सञ्चालन गर्ने गरेको उनले बताए । ‘उनी बिशेष सल्लाहकार भएकाले जहाँ जहाँ सही गर्नु भन्छन्, त्यहाँ त्यहाँ मैले सही गर्ने गरेको हुँ ।’ बयानका क्रममा श्रेष्ठठले भनेका थिए ।
Leave a comment