अनुदानको रासायनिक युरिया मल सहकारी संस्थाले ७२७ रुपैयाँ ५० पैसामा ५० किलो खरिद गरेर ढुवानी खर्च जोडेर ८५० रुपैयाँसम्ममा आफ्ना शेयर सदस्यलाई बिक्री गर्न सक्छन् । तर, आफ्ना सदस्यलाई वितरण नगरी व्यापारीमार्फत दुई हजार रुपैयाँ प्रतिबोरा बिक्री हुने गरेको किसानको गुनासो छ ।
रौतहट । रौतहटमा अनुदानमा पाइने मल छैन । मल नपाउँदा किसानले सास्ती खेप्दै आएका छन् । जिल्लामा करिब ४० हजार हेक्टरमा धानखेती हुने गरेको तथ्यांक छ । गत आर्थिक वर्षमा कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा १५५ वटा सहकारीमार्फत युरिया दुई हजार ८५२ मेट्रिक टन र दुई हजार ३५१ मेट्रिक टन डीएपी मल बिक्री गरेको थियो ।
यस आर्थिक वर्षको भदौसम्ममा एक हजार ७५१ मेट्रिक टन युरिया मल र ३५६ मेट्रिक टन डीएपी मल वितरण गरेको कम्पनीका सूचना अधिकारी गोविन्द घिमिरेले बताए । अहिले कम्पनीको चन्द्रनिगाहपुरस्थित गोदाममा मल छैन ।
यस्तै, गौरमा रहेको साल्ट ट्रेडिङ डिपोको गोदाम पनि खाली रहेको प्रमुख बाकदेव मिश्रले बताए । यस डिपोले ५५ वटा सहकारीमार्फत मलखाद वितरण गर्दै आएको छ । रौतहटका किसानका लागि अनुदानमा आएको मल गत वर्ष मकवानपुर, सिन्धुली, सर्लाही, बारा जिल्लाका विभिन्न सहकारीसँग मिलेर व्यापारीहरूले लैजाने गरेको पाइएको स्थानीय किसानले गुनासो गरेका छन् ।
सहकारी संस्थाहरूले व्यापारीलाई मल बिक्री वितरणको जिम्मा दिने र व्यापारीले मनलाग्दी मूल्यमा बिक्री गर्ने गरेको धेरै किसानको भनाइ छ । अनुदानको रासायनिक युरिया मल सहकारी संस्थाले ७२७ रुपैयाँ ५० पैसामा ५० किलो खरिद गरेर ढुवानी खर्च जोडेर ८५० रुपैयाँसम्ममा आफ्ना शेयर सदस्यलाई बिक्री गर्न सक्छन् ।
तर, आफ्ना सदस्यलाई वितरण नगरी व्यापारीमार्फत दुई हजार रुपैयाँ प्रतिबोरा बिक्री हुने गरेको किसानको गुनासो छ । विगतका वर्षमा झैँ रौतहटको सीमा नजिकैको भारतीय बजारबाट किसान लुकाइछिपाई मल ल्याउन बाध्य छन् । भारतीय बजार घोडासान, चैनपुर, बैरगनीया, छौडादाना, आधापुरलगायत स्थानबाट किसानले लुकिछिपी मल ल्याउन बाध्य भएका हुन् ।
किसानका समस्याका बारेमा केन्द्र तथा प्रदेश सरकारलाई पटक पटक अवगत गराए पनि कुनै सुनुवाइ नभएको पूर्वसांसद कुन्दन कुशवाह बताउँछन् । कटहरिया नगरपालिकाका किसान जितेन्द्र यादवले नेपालमा मल नपाएर निकै सास्ती खेप्नुपरेको गुनासो गरे ।
तीन बिघा क्षेत्रफलमा लगाएको धान खेती रोग लागेर सुक्दै गए पनि कतैबाट कुनै सहयोग नपाएको कटहरिया नगरपालिकाकी किसान अनिता देवीको गुनासो छ । रौतहटका बजारमा युरिया मलको अभाव भएको र भारतीय सीमा क्षेत्रबाट ल्याउँदासमेत कानुनी झन्झटको सामना गर्नुपरेको किसानको दुखेसो छ । नेपाली बजारमा नपाइने र भारतबाट समेत ल्याउन नदिएपछि किसान आक्रोशित बनेका छन् ।
Leave a comment