झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोभिड– १९ महामारीबाट पिडित शेयर सदस्य तथा उनीहरुको परिवारलाई कोभिड उपचार सहयोग गरेको छ । संस्थाले सदस्यहरुलाई कोभिड सहायता कार्यक्रम अन्तर्गत परिवार राहत, कोभिड उपचार सहयोग तथा मेडिसिन सपोर्ट शीर्षकमा १ करोड ४७ लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले कठिन परिस्थितिमा पनि आफ्ना शेयर सदस्यहरु, कर्मचारी एवम् समुदायको हितका लागि मन फुकाएर सहयोग गर्नु संस्थाको दायित्व भएको बताए ।
संस्थाले कोभिड १९ संक्रमण भएर मृत्युवरण गरेका आफ्ना शेयर सदस्यको परिवारलाई सहाराको स्मरण भइरहोस् भन्ने मनसायले परिवार राहत प्रदान गरेको छ । कोभिडबाट दिवंगत भएका १४ जना सेयर सदस्यको परिवारलाई २७ लाख रुपैयाँ प्रदान गरेको छ । बिर्तामोडमा स्थानीय ५ वटा सेवा केन्द्रका ११ जनाको परिवारलाई २१ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
संस्थाले कोभिड संक्रमित भएर घरमै औषधी सेवन गरेर निको भएका सेयर सदस्यहरुलाई मेडिसिन सपोर्ट अन्तरगत प्रतिब्यक्ति ७ हजार रुपैयाँका दरले ९७८ जनालाई ६८ लाख ४६ हजार प्रदान गरिने जनाइएको छ । यसैगरी, कोभिड संक्रमण भई अस्पतालमा बसेर उपचार गराउने ३९ जना सेयर सदस्यहरुलाई कोभिड उपचार सहायता अन्तरगत ५२ लाख रुपैयाँ भुक्तानी गरिने जनाइएको छ ।
संस्थाका कार्यकारी प्रमुख गिरीले गतवर्ष सदस्यहरुले लिएको कर्जाको ब्याज छुटवापत ३ करोड ४५ लाख रुपैयाँ, कार्यक्षेत्र भित्रका ७० वटा पालिकालाई २५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म गरी ५६ लाख रुपैयाँ तथा कोरोना संक्रमित सदस्यको परिवारलाई पोषणभत्ता प्रदान गरिएको बताए ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कोभिड सहायता कार्यक्रममा वरिष्ठ चिकित्सक डा। शरद भट्टराई लगायतले उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।
Leave a comment