एक करोड लागतमा सहकारीले प्रशोधन केन्द्र खोल्ने

एक करोड लागतमा सहकारीले प्रशोधन केन्द्र खोल्ने :: Sahakari Akhabar

तनहुँ । दुलेगौँडामा रहेको शुक्ला कृषि पर्यटन सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । करिब १ करोड लागतमा प्रशोधन केन्द्र सञ्चालन गर्न लागिएको सहकारीले जनाएको छ जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ गाछेपानीमा प्रशोधन केन्द्र निर्माण हुने भएको हो । आगामी साउनसम्म निर्माण सम्पन्न गरी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारी छ । 

सहकारीका अध्यक्ष मुक्ति सिग्देलका अनुसार ९९ लाख २९ हजार रुपैयाँको लगानीमा प्रशोधन केन्द्र सञ्चालन हुन लागेको हो । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाईले ४९ लाख ६४ हजार रुपैयाँ अनुदान दिने भएको छ । सहकारीले १९ लाख ४० हजार र राष्ट्रिय सहकारी बैंक दमौली शाखाले ३० लाख २४ हजार लगानी गर्ने छन् । 

दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखरासँग सहकारीले सम्झौता गरेको हो ।

किसानले उत्पादन गरेको दुधलाई प्रशोधन तथा ब्राण्डिङ गरी बजारीकरण गर्न यसले सघाउने छ । गुणस्तरीय दुध, दही, घ्यू, पनिर, आइसक्रिम बनाउने र प्याकेजिङ गर्न आवश्यक यन्त्र उपकरण प्रशोधन केन्द्रमा जडान हुने अध्यक्ष सिग्देलले बताए । 

सम्झौता अनुसार कच्चा पदार्थ खरिद, ढुवानी, बजार प्रबद्र्धन र बिमामा परियोजनाको सहयोग हुनेछ । सहकारीले पशुपालनका लागि बिनाधितो कर्जा लगानी गरिरहेको छ । सहकारीको सहकार्यमा  गाउँ–गाउँमा सदस्यले गाईभैँसी पालिरहेका छन् । 

सहकारीले शुक्लागण्डकी नगर क्षेत्रका सदस्य किसानले उत्पादन गरेको १ हजार २ सय लिटर दूध दैनिक बजारमा पु¥याइरहेको छ ।हाल प्रशोधन बिनै रबरले दूधको पोका बाँधेर बजारमा पठाइरहेको सहकारीका उपाध्यक्ष मुक्तिनाथ तिम्लिसिनाले बताए ।

‘अब बजारमा ब्राण्ड बनाएर बेच्नुपर्ने सरकारी नीतिअनुसार प्रशोधन केन्द्र सञ्चालन गर्दैछौँ । प्रशोधित दुध उपभोक्ताको स्वास्थलाई पनि हितकर हुन्छ’, उनले भने । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका विज्ञ निर्मलप्रसाद चापागाईले  किसानलाई व्यवसायिक बनाउन परियोजनाले सघाउने बताए । गुणस्तरीय दुध उत्पादन बढाउन यसले सघाउने उनले बताए । 



Leave a comment