काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा ब्याज बढाएपछि सहकारीबाट पैसा बाहिरिएको छ ।
बैंकहरुले ११ प्रतिशतसम्म निक्षेपमा ब्याज दिएपछि सहकारीबाट पैसा झिकेर सहकारीकर्मीले बैंकमा पैसा लगेका हुन् । पछिल्लो एक हप्तामै सहकारीबाट करिब ४ अर्ब रकम बाहिरिएको जनाइएको छ ।
राष्ट्रिय सहकारी बैंक र नेपाल तथा ऋण सहकारी संघ(नेफ्स्कून)बाट पैसा झिकेर बढी ब्याज दिने बैंकमा पैसा गएको छ । यसका साथै प्रारम्भीक सहकारीबाट पनि निक्षेप झिकेर बैंकमा लगिएको छ ।
सहकारीका अधिकांश सदस्य बैंकका ग्राहक पनि छन् । बैंकले राम्रो अफर ल्याएपछि सहकारीबाट अस्वभाविक ढंगले निक्षेप झिकिएको सहकारीकर्मी नै स्वीकार्छन् ।
नेफ्स्कूनका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थाले अस्वभाविक ढंगले निक्षेपमा ब्याज बढाएपछि सहकारीको पैसा विथड्र भएको बताए । धमाधम सहकारीबाट पैसा झिकिन थालिएपछि बैंक र नेफ्स्कूनले सहकारीको पैसा सहकारीमै राख्न सहकारीकर्मीलाई आह्वान गरेका छन् ।
कोभिड तरलता व्यवस्थापन गर्न बैंक र नेफ्स्कूनको कार्यदलसमेत बनेको थियो । उक्त कार्यदलको बैठक बसी सहकारीको पैसा सहकारीमै रोक्न सदस्य सहकारीलाई आह्वान गर्ने निर्णय गरेको कार्यदलका संयोजकसमेत रहेका नेफ्स्कूनका कार्यवाहक अध्यक्ष ढकालले बताए ।
‘सहकारीमा रहेका बचत झिकेर बैंकमा जाने काम भयो’ ढकालले भने,‘सहकारीका पैसा सहकारीभन्दा बाहिर नजाने रणनीति अपनाएका छौं ।’
बैंक तथा वित्तीय संस्थाले अस्वभाविक ढंगले निक्षेप बढाएपछि नेपाल राष्ट्र बैंकले मंगलबार राती नै ब्याजदर नबढाउन निर्देशन जारी गरेको थियो । बैंकहरुले औसतमा निक्षेपमा ८.४२ प्रतिशत ब्याज दिदैँ आएका थिए । बैंकहरुले ११ प्रतिशतसम्म निक्षेप पु¥याएपछि सहकारीको पैसा एक्सासी बैंकमा गएको हो ।
राष्ट्र बैंकको निर्देशनपछि अस्वभाविक ढंगबाट बढाइएको ३ प्रतिशत भन्दा बढी ब्याज घटाउन बैंक तथा वित्तीय संस्थाहरु बाध्य भएका छन् । नेफ्स्कूनका कार्यवाहक अध्यक्ष ढकाल भन्छन्‘ अझै सहकारीको धेरै पैसा बैंकमा जान खोजेको थियो तर अहिले रोकिएको छ ।’ बैंकहरुले तरलता व्यवस्थापन भएपछि निक्षेपको ब्याज घटाउने निश्चित भएकाले सहकारीकर्मीलाई हतारिएर सहकारीमा राखिएको पैसा बैंकमा नलैजान आग्रह गरे ।
‘झिल्को आउँदैमा हातारिन हुँदैन’ उनले भने,‘बैंकले बढी ब्याज दिए भनेर सहकारीकर्मी कुद्नुहुँदैन ।’ बैंक र नेफ्स्कूनले कोभिडको समयमा तरलता व्यवस्थापन गर्न ५ अर्ब रकमको तरलता कोष बनाएका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारीको पैसा बैंकमा नगएको दावी गर्छन् । बैंकहरुको निक्षेप नबढेकाले एकले अर्काे बैंकको निक्षेप तानेको उनको भनाइ छ । ‘सहकारीबाट २÷४ अर्ब बाहिरियो होला’ उनले भने,‘तर सहकारीको पैसा बैंकमा गएको भए बढ्ने थियो ।’
सहकारीले प्रविधिमार्फत सेवा दिन नसकेकाले चाडपर्वको बेला सहकारीकर्मीले भिकेर खर्च गरेको उनले बताए । बैंक र नेफ्स्कूनको संयुक्त कार्यदलले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावले सहकारीमा प्रभाव पार्ने/नपार्ने विषयमा अध्ययन गरी सहकारीका समस्या समाधान गर्न लाग्ने निर्णय गरेको गुरागाईले बताए ।
Leave a comment