सहकारीलाई कम्पनीको व्यवस्था छिट्टै कार्यान्वयन हुन्छ : अर्थमन्त्री शर्मा

सहकारीलाई कम्पनीको व्यवस्था छिट्टै कार्यान्वयन हुन्छ : अर्थमन्त्री शर्मा :: Sahakari Akhabar

काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले सकारीहरूले कम्पनी खोलेर पूँजी लगानी गर्न पाउने नीति छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । 

स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिकोत्सव तथा साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले सहकारीहरूले लगानी गर्न नपाउने स्थिति भएको भन्ने गुनासाका आधारमा कम्पनीको व्यवस्था गरिएको बताए । 

‘अब जनतासँग भएको पैसा सहकारीहरूले संकलन गरेर लगानी गर्न पाउँछन् । यसलाई छिटो कार्यान्वयनको बाटोमा लैजानुपर्छ ।

‘कम्पनीका लागि  कार्यविधि तयार भइरहेको छ । यसबाट अरबौँ पैसा उत्पादन क्षेत्रमा लगानी हुनेछ,’ उनले भने,‘यसले हाम्रो आर्थिक क्षेत्रमा धेरै ठूलो परिणाम ल्याउनेछ ।’ 

सरकारको पूँजीगत खर्चको थोरै हिस्सा मात्र लगानी भइरहेको अवस्थामा यो व्यवस्था राष्ट्रिय अर्थतन्त्र निर्माणमा एक खम्बाको रूपमा रहने मन्त्री शर्माको विश्वास छ ।

सर्वसाधारणको विकेन्द्रिकृत पूँजीलाई केन्द्रिकृत गरी लगानी गर्ने वातावरण निर्माण गर्न सरकार लागि परेको उनले बताए । ‘उत्पादनमूलक क्षेत्रमा त्यो पैसा लगानी गरौँ ।

त्यसमा सहकारीहरू अग्रपंक्तिमा हुनेछन्’उनले भने,‘ठूला वाणिज्य बैंकहरूले पनि ठूला कुरा गरिरहेका छन् । तर उनीहरू र जनताबीचको दूरी टाढा छ । ’

वाणिज्य बैंकबाट सेवा सुविधा लिन आम जनताका लागि गाह्रो विषय भएका बेला सहकारीले आफ्नै पूँजी, आफैँ परिचालन गरेर, आफैँ उत्पादन गरेर आफैँ समृद्धिमा सघाउने उनले बताए ।

यसमा सहकारीसँगै लघुवित्तको पनि महत्वपूर्ण भूमिका  उनेको भनाइ छ । ‘हामीलाई रोजगारी चाहिएको छ । हामीलाई स्वरोजगार चाहिएको छ ।

यसमा सहकारीले महत्वपूर्ण भूमिका खेल्छ’ उनले भने,‘ सहकारीले रोजगारी सिर्जना गर्छ, यसले स्वरोजगार बनाउँछ । त्यसैले सरकारले सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बाको रूपमा स्वीकार गर्नुको कारण पनि त्यही हो ।’ 

सहकारी खम्बा जति बलियो त्यति मुलुक आर्थिक रूपमा बलियो हुने भएकाले अरूभन्दा बलियो हुन जरुरी रहेको उनले बताए ।






सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ

अर्थमन्त्री शर्माले सहकारीले अधिकांश लगानी अनुत्पादक क्षेत्रमा लगाएको तथ्यांकबाट देखिएको बताएका छन् । ‘त्यो लगानी अब उत्पादनमूलक क्षेत्रमा लगाएर समग्र मुलुकको विकास गर्नुपर्छ’ उनले भने,‘उत्पादन क्षेत्रमा लगानी गरे सहकारी संस्थाको मात्र उन्नति नभएर समग्र समुदाय र राष्ट्रकै उन्नति हुन्छ । यसले हाम्रो परनिर्भरता घट्छ ।’

सहकारीको नियमनकारी निकाय आवश्यक

सहकारीको नियमनका लागि छुट्टै संयन्त्र बनाउन लागिएको मन्त्री शर्माले बताएका छन् । अहिले कतिपय सहकारीले अरबौँ पैसा जम्मा गरेर हिनामिना गरेको भन्दै सहकारीको बदमासी रोक्न नियमन निकाय आवश्यक भएको उनले बताए । 

सहकारी विभागले नियमन गर्न नसकेको र राष्ट्र बैंकले क्षेत्राधिकारभित्र नपर्ने भएको नियमन नगरेको भन्दै मन्त्री शर्माले विकृति नियनत्रण गर्न छुट्टै संयन्त्र बनाउन छलफल थालिएको बताएका छन् । 





Leave a comment