हाइलाइट

‘एनएमसीको ४ प्रतिशतमात्र उद्देश्य अनुरुपको कारोबार ’

‘एनएमसीको  ४ प्रतिशतमात्र  उद्देश्य अनुरुपको कारोबार ’ :: Sahakari Akhabar

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी० ले ४ प्रतिशतमात्र उद्देश्य अनुरुपको काम गरेको प्रदेश १ कार्यालयले जनाएको छ । 

संस्थाका बहुउद्देश्य परियोजना संचालन गरेपनि ९६ प्रतिशत बित्तीय कारोबार भएको औल्याइएको छ । सहकारी ऐनमा ७० प्रतिशत उद्देश्य अनुसार काम गर्नुपर्ने प्रावधान छ ।

संस्थाको २९औं वार्षिक साधारण सभामा प्रदेश १ का सहकारी रजिष्ट्रार बलराम निरौलाले सहकारीले व्यवसायिकता र शेयर सदस्यको पेशालाई प्रवर्धन गर्न विशेष ध्यानदिनुपर्ने बताए । 

उनले सहकारीहरुले बहुप्रकृतिको अनुकरणीय संस्थाको रुपमा विकास गर्न आवश्यक देखिएको बताए । रजिष्ट्रार निरौलाले एनएमसीले सामाजिक छवि बढाउन थप केही रचनात्मक कार्य गर्नु आवश्यक रहेको बताए ।

बहु व्यवसाय सञ्चालन गरे पनि अझै ९६ प्रतिशत कारोबार वित्तीय क्षेत्रकै रहेको प्रष्ट्याउँदै रजिष्ट्रार निरौलाले व्यवसाय विविधिकरण गर्न र नमूना सहकारी संस्था बनाउन सुझाव दिए ।

एनएमसीका काम हेरेर अरु सहकारीले सिक्ने हुन् भन्दै उनले प्रत्येक सदस्यको भावनाको प्रतिनिधित्व हुनेगरी काम गर्नुपर्ने बताए।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी अभियानलाई राजनीतिक दृष्टिकोणबाट कमजोर नठान्न भनेका छन्।

उनले सहकारी अभियानको ऐक्यवद्धता भएमा हरेक स्थानीय सरकारमा कसलाई पठाउने भन्ने निर्धारण गर्न नेपालका सहकारी सक्षम रहेको बताए । उनले बहुउद्देश्यीय प्रकृतिको कारोबार गरे पनि संस्थाले पल्सको सूचांक नजिक रहेकोमा खुशी ब्यक्त गरे ।

केही सहकारीले गरेको बदमासीको कारण सहकारी क्षेत्रको काममा प्रश्न तेर्सिने गरेको बताउँदै उनले भने, ‘सयौँ मध्ये एकाध संस्थाले गरेका कमी कमजोरीकै आधारमा समग्र सहकारी माथि प्रश्न उठाउनु जायज हुँदैन ।’

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा आयोजित सभामा ४३ वटा इकाई साधारण सभाबाट प्राप्त करिब २०० सुझाव, टिप्पणी एवम् मागलाई एकीकृत साधारण सभामा सुनवाई गरिँदै माइन्युट प्रमाणित गरिएको हो ।

कार्यक्रममा प्रदेश सभाका सदस्य श्रीप्रसाद मैनालीले एनएमसीले नमूना एकीकृत कृषि फार्म जस्तै नमूना सहकारी अस्पताल र विद्यालय सञ्चालनको अवधारणा ल्याउनु पर्ने सुझाव दिए ।

संस्थाकै विपन्न सदस्यका सन्तान पढाउन एक नगर, एक नमूना विद्यालय बनाउन अग्रसरता लिन सांसद मैनालीको सुझाव थियो ।

मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीले एनएमसीले आर्थिक र सामाजिक रुपान्तरणसँगै धेरै नेतृत्व जन्माएको बताइन् ।

उनले एनएमसीको औद्योगिक ग्रामको अवधारणालाई स्थानीय सरकार सहकार्य गर्न तयार रहेको र प्रदेश सरकारले समेत उत्सुकता देखाएको बताइन् ।

सहकारी र स्थानीय सरकारका कामहरु मिल्दा जुल्दा छन्, यसमा एकाकार हुन सकियो भने आय आर्जन बढाउन, किसानका उत्पादनलाई बजारीकरण गर्न तथा गरिबी न्यूनीकरण गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा वडा नम्बर १४ का वडाध्यक्ष शंकर पोखरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । संस्थाका उपाध्यक्ष भगवती घिमिरे मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद उप्रेतीले गरेका थिए।

कार्यक्रममा वार्षिक प्रतिवेदन अध्यक्ष रामचन्द्र उप्रेतीले र आर्थिक प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु गौतमले प्रस्तुत गरेका थिए ।



Leave a comment