साधारणसभामा तत्काल कडाइ नगरिने, असोजसम्म भर्चुअललाई पनि मान्यता

साधारणसभामा तत्काल कडाइ नगरिने, असोजसम्म भर्चुअललाई पनि मान्यता :: Sahakari Akhabar

काठमाडौं । सहकारीको साधारणसभा भौतिकरुपमा गर्न तत्काल कडिकडाइ नहुने भएको छ । पछिल्लो समयमा परिस्थिति सहज भएपनि अझै पूर्णरुपमा खुला नभएकाले सहकारीलाई भौतिकरुपमा साधारणसभा गर्न बाध्यकारी व्यवस्था नगरिने सहकारी विभागले जनाएको छ । 

विभागका रजिष्ट्रार लीलाप्रसाद शर्माले तत्कालै भौतिकरुपमा साधारणसभामा जान अनिवार्य नगरिएको बताए । ‘सहकारीले भर्चुअल, भौतिक जुनरुपमा पनि साधारणसभा गर्न सक्छन्’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले पूर्णरुपमा नखोलेसम्म सहकारीले भर्चुअलरुपमै साधारणसभा गर्न सक्नेछन् ।’

यसैगरी परिस्थिति सहज बन्दै गएमा अब असोजपछि भर्चुअल साधारणसभालाई मान्यता नदिने उनले बताए ।सहकारी ऐन २०७४ मा ५१ प्रतिशत बढी अनिवार्य उपस्थिति गराउनुपर्ने प्रावधान छ । तर कतिपय सहकारीले ५१ प्रतिशत पनि उपस्थित नगराई साधारणसभा गर्छन् ।

त्यसो गर्न नपाउने भएपनि सहकारीले विभिन्न बाहाना बनाइ कोभिड अघि पनि सबै सदस्य उपस्थिति गराएका थिएनन् । तर धेरै सदस्य हुने सहकारीले इकाइ साधारणसभा पनि गर्न पाउँछन् । रजिष्ट्रार शर्माले कोभिड पूर्णरुपमा नियन्त्रण नभएकाले तत्काल अत्याधिक भिड गरी साधारणसभा गर्दा जोखिम हुन सक्ने बताए । 

सरकारले असोज १ गतेदेखि आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्न खुला गरिसकेको छ । सोही अनुसार सहकारीले भौतिक रुपमै साधारणसभा गर्न पाउँछन् । पछिल्लो समय सहकारीमा साधारण सभाको विषयमा अन्यौलता रहेको थियो । अभिभावक संघको निर्देशन पर्खिरहेका थिए ।  राष्ट्रिय सहकारी महासंघ मौन रहेकोमा सहकारीहरु रुष्ट रहेका छन् ।





Leave a comment