ब्याजमा प्रतिष्पर्धा गर्दै बैंक र नेफ्स्कून

ब्याजमा प्रतिष्पर्धा गर्दै बैंक र नेफ्स्कून :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले असोज १ गतेदेखि लागू हुनेगरी निक्षेप तथा कर्जाको ब्याज घटायो । बैंकले निक्षेपमा २.५ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याज दिने घोषणा गर्यो।

बैंकले सूचना जारी गरेकै दिन नेफ्स्कूनले ब्याजदर परिवर्तन गर्दै असोज ४ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर निर्धारण गरेको छ ।नेफ्स्कूनले निक्षेपमा २.५ प्रतिशतदेखि ९.५ प्रतिशत ब्याज दिने घोषणा गरेको हो । 

बैंकले कर्जामा ७ प्रतिशतदेखि ९.७५ प्रतिशतसम्म ब्याज लिन्छ । नेफ्स्कूनले ८ देखि १०.५ प्रतिशतमा ऋण प्रदान गर्छ । बैंक र नेफ्स्कूनले ब्याजदर घटाउन प्रतिष्पर्धा गरेसँगै प्रारम्भीक सहकारीले यीमध्ये आफ्नो अनुकुल छनोट गरी सेवा उपयोग गर्न थालेका छन् । 

बैंक र नेफ्स्कूनको प्रतिष्पर्धाले प्रारम्भीक सहकारीलाई फाइदा पुगेको छ । सहकारीले जहाँ सस्तो ब्याजमा ऋण पाउँछन्, त्यहीबाट ऋण लिन थालेका छन् । 

कोभिडको समयमा बैंक र नेफ्स्कूनले ब्याजमा एकरुपता ल्याउने घोषणा गरेका थिए । तर एकरुपता सम्झौता कार्यान्वयन भएको पाइदैँन । प्रतिष्पर्धामा घट्दो ब्याजले पनि सहकारीले राहत अनुभूति गरेका छन् । 

देशभर ३० हजार सहकारी छन् । त्यसमध्ये बैंकका १४ हजार सदस्य छन् । नेफ्स्कूनका करिब ४५ सय सदस्य छन् । बचततर्फ बैंकले ६ वटा प्रोडक्ट ल्याएको छ ।

कर्जातर्फ बैंकले २२ वटा प्रोडक्ट ल्याएको छ । बैंकको केही कर्जामा १५ वर्षसम्म पनि किस्ता तिर्न सकिने व्यवस्था छ । बचततर्फ नेफ्स्कूनका १५ वटा प्रोडक्ट छन् । ऋणतर्फ नेफ्स्कूनले ५ वर्षे अवधि र लाइन अफ क्रेडिटमा ८ वटा प्रोडक्ट ल्याएको छ । 

सहकारी ऐन २०७४ आएपछि धेरै बैंक स्थापना हुन सक्छन् । पछिल्लो समयमा अन्य २ बैंक पनि गठन प्रक्रियामा रहेको बताइएको छ । 

बैंक धेरै आउन थालेपछि सहकारीकर्मी पनि खुसी देखिएका छन् । जति धेरै बैंक, उति आफ्नो इच्छा अनुसार कारोबार गर्न पाइने भएकाले प्रारम्भीक सहकारी खुसी देखिएका हुन् ।

बढी ब्याज तथा सेवा सुविधा दिने बैंकमा निक्षेप तथा बचत राख्न पाइने र जसले थोरै ब्याजमा ऋण प्रदान गर्छन्, त्यस्ता बैंकबाट ऋण लिन पाइने भएकाले सहकारीकर्मीहरु धेरै बैंक आउन थालेकोमा खुसी देखिएका हुन् ।

हेर्नुहोस्, बैंक र नेफ्स्कूले हालै परिवर्तन गरेको ब्याजदर

 


 





Leave a comment