कुन कुन सहकारीले तिरे, एक लाख २४ हजार ५ सय जरिवाना

कुन कुन सहकारीले तिरे, एक लाख २४ हजार ५ सय जरिवाना :: Sahakari Akhabar

इटहरी । प्रदेश नं १ सहकारी रजिष्ट्रार कार्यालयले समयमा प्रतिवेदन नबुझाएका संस्थाहरुबाट जरिवाना उठाएको छ । कार्यालयले आ.व. २०७६।०७७ को वार्षिक प्रतिवेदन नबुझाउने विभिन्न जिल्लाका ९३ वटा संस्था तथा संचालकलाई जरिवाना गरेको हो ।

झापा, मोरङ, सुनसरी,धनकुटा, तेह्रथुम, उदयपुर, पाँचथर तथा उदयपुरका सहकारी र संचालकलाई कार्यालयले १ लाख २४ हजार ५ सय जरिवाना तिराएको छ । जरिवाना तिर्नेमा उदयपुरबाट एउटा मात्र संस्था छ भने सवैभन्दा धेरै झापा त्यसपछि मोरङ र सुनसरी रहेका छन् ।

पटकपटक सूचना जारी गरी तोकिएको समयमा प्रतिवेदन बुझाउन भनेपनि समयमा प्रतिवेदन नबुझाएका संस्थाहरुको आधिकारिक व्यक्तिबाट जरिवाना लिएको कार्यालयले सूचना प्रकाशन गरी जाएको छ। कार्यालयले २०७७ फागुन मसान्तभित्र उक्त आ.व.को प्रतिवेदन बुझाउन समयसीमा दिएको थियो ।

त्यसका साथै कार्यालयले प्रतिवेदन बुझाउन सम्पर्क व्यक्ति र पायक पर्ने जिल्ला संघहरुको कार्यालय समेत तोकिदिएको थियो । तर समयसीमाभित्र प्रतिवेदन नबुझाउने संस्थाहरुबाट जरिवाना लिएर प्रतिवेदन बुझेको छ । 

कार्यालयबाट जारी सूचना अनुसार ९३ वटा संस्थाले ५सय रुपैया देखि ६ हजार ५ सय रुपैयासम्म जरिवाना तिरेर प्रतिवेदन बुझाएका छन् । कार्यालयले जरिवाना तिर्ने संस्था र संस्थाका आधिकारिक व्यक्ति र विवरण बुझाएको मिति सहितको सूचना प्रकाशित गरेको छ ।

विगतमा संस्थाहरुलाई मात्रै कारवाही गरिएको सूचना प्रकाशित यस पटक भने संस्थाका आधिकारिक व्यक्तिको नाम सहितको सूचि कार्यालयले प्रकाशित गरेको छ । नयाँ ऐनले संस्थाका आधिकारिक व्यक्तिलाई पनि कारवाही गर्न सक्ने अधिकार दिएको र व्यक्तिलाई नै कारवाही गर्दा आगामी समयमा थप जिम्मेवारी बोधका साथ संस्थाहरुले समयमै कार्यालयमा विवरण बुझाउन आउने अपेक्षा गरिएको छ । 

सूचना