काठमाडौ । सरकारले सहकारीलाई कम्पनी खोल्न अफर ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले सहकारी क्षेत्रमा थुप्रिएको पुँजीलाई लगानीमा ढोका खोल्न सहकारीले कम्पनी खोल्ने व्यवस्था गरेका हुन् ।
विद्यमान कानुनी व्यवस्थाले लगानीको लागि ढोका नखोलेका कारण सहकारीले कम्पनी खोलेर लगानी गर्न पाउने नीति ल्याइएको उनले बताए ।
संसदमा पेश गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थमन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक रुपले उठेका सवालमा स्पष्ट पार्दै उनले सहकारीलाई कम्पनी खोल्न उपयुक्त भएको बताए ।
सहकारीसँग भएको ठूलो पुँजी उत्पादनको क्षेत्रमा लगानी भयो भने उत्पादन बढ्नुका साथै रोजगारी सिर्जना हुने सरकारको अपेक्षा छ। देशभर ३० हजार सहकारी छन् ।
सहकारीले ६८ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ । सहकारीको पुँजी उत्पादनशील क्षेत्रमा लगाउँदा रोजगारी सृजना हुनुको साथै राष्ट्रिय पुँजी निर्माणमा योगदान पुग्ने अर्थमन्त्री बताउँछन् ।
उत्पादन वृद्धि भयो भने आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न सकिन्छ’ उनले भने । यसको कार्यान्वयनको लागि आवश्यक कानुनी प्रवन्ध गरिने उनले बताए ।
Leave a comment