हाम्रो सगरमाथा सहकारीको सञ्चालक अवैधानिक 

हाम्रो सगरमाथा सहकारीको सञ्चालक अवैधानिक  :: Sahakari Akhabar

काठमाडौं । कुपण्डोलमा मुख्य कार्यालय रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समिति अवैधानिक रहेको पाइएको छ । संस्थाको सञ्चालक समिति सहकारी ऐन तथा नियमावली विपरित रहेको पाइएको हो ।

संस्थाले गत वर्ष देखिनै उक्त समितिबाट संस्था सञ्चालन गर्दै आएको छ । संस्थाले गत वर्ष २३ औं वार्षिक साधारण सभा गरेपनि संचालक समिति पूरा नगरी अपुरो समितिबाटै काम गर्दै आएको खुलेको छ ।

ऐनमा ७ जनाको सञ्चालक समिति रहने प्रावधान रहेपनि संस्थाको संचालक समितिमा ६ जना र लेखासुपरिवेक्षण समितिमा १ जना संयोजक मात्र छन् ।  ३ जनाको लेखा सुपरीवेक्षण समिति रहनुपर्ने भएपनि संयोजक बाहेक अरु दुई जना सदस्य रिक्त राखिएको छ ।

गत वर्ष कार्तिक १२ गते संस्थाको २३ औं बार्षिक साधारणसभामा समेत अपूर्ण समितिले बार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।  त्यसपछि सहकारीको वार्षिक प्रतिवेदनमा पनि संचालक ६ जना तथा लेखा समितिमा १ जना मात्र रहेको देखाइएको छ ।

आजसम्म संस्थामा अपूरो समितिले गरेका निणर्यहरु कार्यान्वयन हुँदै आएका छन् । कानुनमा ब्यवस्था भएको नियम मिचेर संस्थाले कारोबार गरिरहेको पाइएको हो । अपुरो समितिले गरेको निणर्यलाई ब्यवस्थापनले कार्यान्वयन गर्दै आएको छ ।

सहकारीको उच्च पदमा रहेका सञ्चालकहरुबाटै कानुन बर्खिलाप हुदै आएको सहकारीकर्मीले बताएका छन् । संस्थामा अध्यक्ष केबी उप्रेती, उपाध्यक्ष शिवप्रसाद कट्टेल, सचिव देवराज पराजुली, कोषाध्यक्षमा मुकुन्दराज पाण्डे,  सदस्यमा बद्री महत र प्रकाशमान शाही छन् ।

लेखा समितिमा राजु पौडेल एक्लो संयोजकमात्र छन् । करिब १२ हजार ५ सय शेयर सदस्य रहेको संस्थाले गत वर्षसम्म १८ वटा संस्था एकीकरण गरेको थियो । त्यसमध्ये सगरमाथा बचत तथा ऋण सहकारी संस्था बिघटन भइसकेको छ भने अरु केही विघटनको तयारीमा रहेको श्रोतले बताएको छ ।

हाम्रो सगरमाथा सहकारीका सचिव देवराज पराजुलीले सगरमाथा बचत तथा ऋण सहकारी संस्था विगटन गरिसकेका छन् । संस्थाका लेखा समिति संयोजक राजु पौडेलले अरु केही संस्थाहरु पनि एकीकरणको तयारीमा रहेकोले साधारणसभाले पूर्ण सञ्चालक समिति नबनाएको बताए ।

तर एक वर्ष भन्दा धेरै भइसक्दा पनि सञ्चालक पूर्ण नबनाइनुमा सदस्यहरुले शंका गरेका छन् । लेखासमितिमा राजु पौडेल एक्लो हुन् । अन्य सदस्यहरु निर्वाचित भएका छैनन् । केही संस्थाहरुले एकीकरण भएको र उनी हरुकालागि स्थान खाली राखेको पौडेलको भनाइ छ ।

संस्थाले एकिकरण गरेर आउने संस्थाहरुकोलागि स्थान खालि राख्न मिल्छ की मिल्दैन भन्ने विषयमा कानुनले केही नबोलेपनि अपुरो समितिले संस्थामा गरेको निर्णय कसरी कार्यान्वयन हुन्छ भन्नेमा शंका गर्न सकिने सहकमारीकर्मीले बताए ।

अघिल्ला वर्षहरुमा संस्थाको कति औं साधारणसभा गरेको भन्ने खुलाइएको थिएन । तर गत आर्थिक वर्ष २०७६÷७७ को साधारणसभालाई २३ औं साधारणसभा उल्लेख गरिएको थियो ।

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था भएपछि संस्थाले १८ वटा सेवा केन्द्रमार्फत बचत तथा ऋणको मात्र कारोबार गर्दै आएको छ । संस्थाले २०७१ साल भाद्र १० गतेदेखि हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको नामबाट एकीकृत कारोबार गर्दै आएको हो ।




Leave a comment