गृहमन्त्री संग खोप माग्दै सहकारीकर्मी

गृहमन्त्री संग खोप माग्दै सहकारीकर्मी :: Sahakari Akhabar

- मन्त्रिले दिए आश्वासन : सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौं

काठमाण्डौ । सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन सहकारीकर्मीले गृहमन्त्रिसंग आग्रह गरेका छन् । भर्खरै गृहमन्त्री भएका बालकृष्ण खाँणलाई बधाई दिन पुगेका सहकारीकर्मीले खोपकालागि पहल गरिदिन पनि आग्रह गरे । गृहमन्त्री खाँणले सहकारीका कर्मचारीलाई प्राथमिकतामा राखेर तत्काल खोप दिने व्यवस्था गर्नका लागि आवश्यक पहल गर्ने आश्वासन दिए ।

उनले भने, ‘बैंक तथा वित्तिय क्षेत्र जतिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई यस सरकारले खोपमा प्राथमिकता दिने छ ।’ सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशिलताका आधारमा प्राथमिकतामा राख्दै खोप दिने योजना रहेको बताए ।

‘नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।’ उनले राष्ट्रिय सहकारी महासंघको टोलीसँग सोमबार बिहान भएको भेटमा सो कुरा बताएका हुन् ।

राष्ट्रिय सहकारी महासंघको सल्लाहकार समेत रहनुभएका गृहमन्त्री खाँणले सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने बताए । उनले महासंघको सल्लाहकार समितिको बैठकमा आफू उपस्थित भएर आवश्यक छलफल गर्ने बताए ।

महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानआकर्षण गराए ।




Leave a comment