काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) बाट देश आक्रान्त छ । नेपाल मात्र होइन विश्व नै कोभिडबाट मुक्त छैन । अहिले विश्वव्यापीरुपमा खोपलाई प्राथमिकता दिइएको छ ।
फ्रन्टलाइनरहरुलाई खोप उपलब्ध गराउने सरकारले घोषणा गरेको छ । बैंक तथा वित्तीय संघसंस्थाहरुले आफ्ना कर्मचारीलाई खोप लगाउन सरकारसँग आह्वान गरेका छन् । निजी क्षेत्रका प्रतिनिधि संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले खोपका लागि सरकारसँग लबिङ गर्दै आएका छन् ।
तर खोप लगाउने विषयमा सहकारीका निकाय मौन छन् । केही जिल्ला संघले खोपका लागि लबिङ गरेपनि शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ, विषयगत केन्द्रीय संघहरु खोपका लागि लबिङ गरेको पाइएको छैन ।
देशभरका सहकारीमा ७३ लाख आबद्ध छन् । करिब १ लाखले सहकारीमा प्रत्यक्षरुपमा काम गर्छन् । सहकारीका नेताहरुले आफ्ना कर्मचारीलगायत फ्रन्टलाइनमा बसेर काम गर्नेहरुका लागि खोपको पहल गर्न सकेका छैनन् । खोपको पहल नगरेको सहकारी क्षेत्रमै असन्तुष्टी सिर्जना भएको छ ।
बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका सचिव गोबिन्द काफ्लेले सामाजीक सञ्जाल मार्फत राष्ट्रिय सहकारी महासंघ, बिषयगत केन्द्रिय सहकारी संघहरुले नेपाल सरकारसंग लबिङ नगरेकोमा रोष प्रकट गरेका छन् ।
‘राष्ट्रिय सहकारी महासंघ, बिषयगत केन्द्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंकको नेतृत्वमा रहेका सहकारीका नेता ज्युसँग बिनम्रता पूर्वक हार्दिक अनुरोध गर्दछु ।’ उनले लेखेका छन्,‘ अझै पनि बिग्रेको केहि छैन, यथासक्य छिटो लबिङ गरेर सहकारीका कर्मचारीहरुलाई कोभिड १९ को खोप उपलब्ध गराउन पहल गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।’
जिल्ला सहकारी संघ ललितपुरका उपाध्यक्ष रामशरण बस्नेतले खोप उपलब्धताका लागि सहकारी अभियान मौन बसेकोमा रोष्ट प्रकट गरेका छन् । ‘सहकारिको फ्रन्टलाइनरलाई चाहि भ्याक्सिन चाहिदैन ?’ उनले फेसबुकमा लेखेका छन्‘,हजुरहरुलाई फुर्सद छैन भने निर्णय गरेर मलाई लिखित जिम्मा दिनुस् १ हप्तामा रिजल्ट दिनेछु । पद मागेको होइन काम मागेको हो । गरेर देखाउन मन छ ।’
निषेधाज्ञाका समयमा पनि सहकारी ओझेल परेको थियो । राष्ट्र बैंकबाट स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आवातजावतमा सहजता पाएका थिए । तर सहकारीका कर्मचारीलाई घण्टौैसम्म रोकेर राखिएको थियो । सहकारीका निकायको खासै पहल नभएको गुनासो आएको थियो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले खोपका लागि लबिङ गरिरहेको बताए । स्वास्थ्य मन्त्रालयका सचिवलाई पत्र लेखी सहकारीका कर्मचारीलाई पनि खोप लगाउन पहल गरिएको उनको भनाइ छ । ‘केही दिनअघि हामीले पत्र पठाएका छौं’ उनले भने,उहाँहरुले धेरैतिर माग भएकाले सेड्युल मिलाएर सहकारीका कर्मचारीलाई पनि छिट्टै खोप लगाउने व्यवस्था गर्र्छाै भन्नुभएको छ ।’
यो पनि पढ्नुहोस् ।
विपदमा सहकारीका माउ निकायको भूमिका लज्जास्पद,भर्चुअल कार्यक्रमनै चर्को शुल्कमा
Leave a comment