काठमाडौँ । झापाका अधिकांश सहकारी उत्पादनमा अग्रसर बन्दै गइरहेका छन् । बचतको पूँजी परिचालन गर्न कानुनी अड्चन भएपनि सामाजीक तथा रोजगार मूलक कार्यमा केही संस्था देशकै नमूना सहकारी संस्थाका रुपमा स्थापित हुँदैगएका छन् ।
जिल्ला सहकारी संघ झापाका अनुसार झापामा ९ सय १४ वटा सहकारी संस्था सञ्चालनमा छन् । यहाँका सहकारीमा चार लाख बढी सदस्य भइसकेका छन् । यहाँका संस्थाले ४५ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गरिरहेका छन् ।
झापामा सहारा नेपाल र नेपाल बहुउद्देश्यीय सहकारीले रचनात्मक कारोबार गरिरहेका छन् । सम्भवत् देशकै अग्रभागमा रहेर कारोबार गरिरहेका छन् ।
झापाका सहकारीले चार हजार बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । १५ हजार सञ्चालक तथा उपसमितिमा बसेर स्वंयमसेवकका रुपमा काम गरिरहेको बताइएको छ । झापामा देशमै उदाहरणीय काम गर्ने दर्जनौं सहकारी रहेको बताइन्छ ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले लघुवित्त कार्यक्रम, नवीकरणीय उर्जा, सामुदायिक विकास, कृषि, रेमिट्यान्स, बिमालगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
संस्था प्रदेश १ का ६ जिल्लामा पुगेको छ । हाल संस्थामा १ लाख ४८ हजार सेयर सदस्य छन् । संस्थाले ५ सय २ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । १ लाख ४८ हजार सदस्यमध्ये ७४ हजार ६ सय ऋण लिएर स्वरोजगारमा संलग्न रहेको बताइएको छ ।
संस्थाले सदस्यलाई विभिन्न प्रकारका आयमूलक, सीपमूलक तथा उद्यमशील तालिममार्फत रोजगारी सृजना गर्ने गरिएको संस्थाका सचिव महेन्द्रकुमार गिरी बताउँछन् ।
संस्थाले २ हजार ५ सय युवालाई सहुलियतमा ऋण दिई युवाहरु विदेश पलायन हुनबाट रोकिएको छ । संस्थाले साइनो हाम्रो सहारामार्फत ६० घर परिवारलाई उद्यमी बनाई स्वरोजगारको सृजना गरेको छ ।
बाख्रा तथा कुखुरामा मूल्य श्रृखला मोडलमा २० हजारलाई रोजगार सृजना गर्ने लक्ष्यको साथ कार्य हुदै गरेको छ । सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, कृषि पशु व्यवसाय प्रवद्र्वन, संस्थागत विकास, संस्कार र संस्कृति जगेर्ना सामुदायिक विकास, सुशासन, सूचना तथा सञ्चार क्षेत्रमा प्रभावकारी काम गर्ने योजना बनाएको संस्थाका सचिव गिरीले बताए ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले पछिल्लो समय ५० करोडभन्दा बढीको लगानीमा ‘नमूना कृषि परियोजना’ शुरु गरेको छ ।
आउँदो पाँच वर्षभित्र नमूना परियोजना बनाउने उसको योजना छ ।
स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग साझेदारीमा प्रयोगात्मक तालिमदिने उद्देश्यले कृषि परियोजना सञ्चालन गरेको संस्थाका कार्यकारी प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताए ।
‘माछा, फलफूल, गाई, बाख्रा पालन, तरकारीलगायत कृषिका सबै क्षेत्रको विकासका लागि कृषकलाई तालिम दिने संस्थाको योजना छ । सहकारीले १६ बिगाहामा परियोजना सुरु गरेको हो ।
सहकारीले डेरी उद्योग समेत सञ्चालन गरेको छ । डेरीमा १५ करोड लगानी छ । डरीमा दैनिक १५ हजार लिटर दूध बिक्री हुन्छ । सहकारी पसल पनि प्रभावकारी बन्दै गएका छन् ।
यी उदाहरण मात्र हुन् । जिल्लामा बचत तथा ऋण सहकारीलगायत बहुउद्देश्यीय कृषिलगायतका सहकारीहरु उत्पादनमा जोडिएर सदस्यलाई स्वरोजगार तथा आत्म निर्भर बनाउन तर्फ लागेको देखिन्छ । सहकारीलाई उत्पादनमा जान बाधक बनेका सहकारीका त्यस्ता कानुनको सम्सोधन गरिनुपर्ने सहकारीकर्मीले आवाज उठाउँदै आएका छन् । आर्थिक वर्ष ०७८÷०७९ को बजेटले पनि सहकारीलाई उत्पादनमुखि बन्न प्रेरणा दिएको छ ।
गौरादह नगरपालिकामा रहेको महारानीझोडा साना किसान कृषि सहकारी संस्था लिमिटेड १३० बिगाह क्षेत्रफलमा सामुहिक खेती गरेर देशकै उदाहरणीय सहकारी संस्थाका रुपमा चिनिएको छ । संस्थाले धान, गहुँ, मकै, कोदोलगायत मौसम अनुसार सहकारी खेती गर्छ ।
बिज प्रशोधन केन्द्र, अग्र्यानिक मल, मकैको हाइब्रिड, दूध संकलन केन्द्र, पशु बिमा कार्यक्रम लगायत प्रभावकारी बन्दै गएको संस्थाका कार्यकारी प्रमुख चिरञ्जीवी भण्डारीले बताए । संस्थाले कृषिमा मात्रै संस्थागत लगानी ६ करोड गरेको छ । सदस्यको सहभागितामा कृषिका विविध कार्यक्रम सञ्चालन भइरहेका छन् ।
मेची सहकारी संस्था दमकले आवास परियोजना सञ्चालन गरेको छ । संस्थाले आफ्नो घर नभएका सदस्यहरुका लागि किस्ताबन्दीमा घर उपलब्ध गराउने योजना सहित नमुना बस्तीको निर्माण शुरु गरेको हो ।
संस्थाले १ विगाह १६ कठ्ठा जग्गामा निर्माण कार्य शुरु गरेको छ । सहकारीले हालसम्म ६ वटा घरको ढलान सकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जानकारी दिए ।
डेढ तलामा ५वटा कोठा रहने संस्थाले जनाएको छ । सो नमुना वस्तीमा ५२ वटा घरहरु रहनेछन् । ती घरहरु न्यूनतम ४३ लाखदेखि अधिकतम ५१ लाखसम्ममा निर्माण गरिने छ ।
पहिलो पाइला बहुउद्देश्यीय सहकारीले आधुनिक कृषि प्रणाली, कृषिमा यन्त्रीकरण तथा युवाहरुलाई परिचालन गरी कृषि तथा उत्पादनमा अग्रसर हुँदै गएको छ ।
सतासी महिला मौरीपालन सहकारी संस्थाका व्यवस्थापक देवी दाहालले वर्षमा ६० हजार केजी मह उत्पादन गर्दै आएको बताइन् । अधिकांश सदस्यले मौरी पाल्छन् । सदस्यसँग ३ हजार गोला मौरी छन् । व्यवस्थापक दाहालले सदस्यलाई धरौटीमा मौरी पाल्न लगाउने गरेको बताइन् ।
विराट–अर्जुन उपभोक्ता सहकारी संस्था र सताक्षी बहुउद्देश्यीय सहकारी संस्थाले सुपथ मूल्य उपभोक्ता पसल सञ्चालन गरेका छन् । पूर्वाध कृषि सहकारी संस्थाले डेरी, मेची कृषक बहुउद्देश्यीय सहकारी सस्थाले पोष्ट हार्वेट सेवा केन्द्र सञ्चालन गरेको छ ।
किसानले यहाँबाट वीऊ विजन समेत सुलभ मूल्यमा पाउँछन् । संघका अनुसार शुभ चिया, हल्दिवारी साना किसान पृथ्वीनगरले चिया मिल सञ्चालन गरेका छन् ।
जुनतारा महिला कृषि सहकारी संस्थाले तोरीको तेल र मसलाजन्य सामग्री उत्पादन गर्दै आएको छ । श्रीकृष्ण सुपारी सहकारी संस्थाले सुपारी उत्पादन तथा प्रशोधन गर्दै आएको छ ।
यी उदाहरण मात्र हुन् । जिल्लामा बचत तथा ऋण सहकारीलगायत बहुउद्देश्यीय कृषिलगायतका सहकारीहरु उत्पादनमा जोडिएर सदस्यलाई स्वरोजगार तथा आत्म निर्भर बनाउन तर्फ लागेको देखिन्छ ।
सहकारीलाई उत्पादनमा जान बाधक बनेका सहकारीका त्यस्ता कानुनको सम्सोधन गरिनुपर्ने सहकारीकर्मीले आवाज उठाउँदै आएका छन् । आर्थिक वर्ष ०७८/०७९ को बजेटले पनि सहकारीलाई उत्पादनमुखि बन्न प्रेरणा दिएको छ ।
Leave a comment