काठमाडौँ । अब सहकारीका सदस्यले अनलाइन भुक्तानी गर्न सक्ने भएका छन् । ईसेवा र इन्फो डेभलपर्स सफ्टवेयर कम्पनीबिच सहकार्यको सम्झौता भएको छ ।
सहकारी तथा माइक्रो फाइनान्सलाई समेत डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यका साथ दुई कम्पनीबिच सहकार्य भएको जनाइएको छ । सम्झौता पत्रमा ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटा र इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन् ।
ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले ९० प्रतिशत भन्दा बढी रकम नगदमा कारोबार भइरहेको बताए । ‘यसलाई डिजिटल बनाउन सहकारी र माईक्रो फाइनान्सको ठुलो भूमिका रहेको छ,’ उनले भने, ‘यो सहकार्यले डिजिटल अर्थतन्त्र बनाउने अभियानमा ठुलो सहयोग पुग्ने विश्वास लिएका छौँ ।’
यस्तै इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघु वंशीले इसेवासँगको सहकार्यले सहकारी र माइक्रोफाइनान्सलाई डिजिटल भुक्तानीमा जोड्दा सदस्यहरूलाई सहज हुनुका साथै सहकारी र माइक्रो फाइनान्सको निक्षेप पनि बढ्ने बताए ।
उनले भने, ‘यसले समग्र अर्थतन्त्रलाई पनि चलायमान बनाउनेछ ।’ सम्झौतासँगै इन्फोडेभलपर्सले निर्माण गरेको सफ्टवेयर प्रयोग गर्ने सहकारी तथा माइक्रो फाइनान्स डिजिटल भुक्तानीमा जोडिनेछन् ।
उनीहरूले कोर बैङ्किङ सिस्टमबाटै डिजिटल भुक्तानीको सुविधा दिन सक्ने बताइएको छ । जसबाट सहकारी तथा माइक्रो फाइनान्सका सदस्यले यूटिलिटी बिल भुक्तानी, रेमिटेन्स भुक्तानी, एउटा सहकारीको खाताबाट अर्को सहकारीको खातामा रकम ट्रान्स्फर, बैङ्कमा रकम ट्रान्सफर र क्युआर स्क्यान गर्ने सुविधा पाउनेछन् ।
यो सम्झौतासँगै सहकारी तथा माइक्रो फाइनान्सका सदस्यले पनि बैङ्कका ग्राहकले जस्तै सबै सुविधा उपयोग गर्न पाउने बताइएको छ । कार्यक्रममा विभिन्न सहकारी तथा माइक्रो फाइनान्सका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँ, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, शुक्र पथ बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्लेले डिजिटल भुक्तानीको महत्त्व शीर्षकमा छलफल गरेका थिए ।
इन्फो डेभलपर्सले विगत १७ वर्षदेखि सहकारी तथा माइक्रो फाइनान्सलाई आवश्यक पर्ने विभिन्न किसिमका सफ्टवेयर निर्माण गर्दै आइरहेको छ । कम्पनीले मोबाइल बैङ्किङ, इन्टरनेट बेकिङ र ट्याब्लेट बैङ्किङमार्फत अनलाइन र अफलाइन ब्रान्च लेस बैङ्किङ सेवा र क्रेडिट युनियन, बैङ्क र माइक्रो फाइनान्सका लागि सोलुसन समेत प्रदान गर्दै आएको छ ।
Leave a comment