काठमाडौं । सहकारी विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले सहकारीको संख्या घटेको देखाएको छ । सहकारीको अभिलेख स्थानिय र प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि संघिय विभागले तीन वर्षपछि सहकारीको तथ्यांक सार्वजनिक गरेको हो ।
सहकारीको तथ्यांक राख्नका लागि सरकारले सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपोमिस) निर्माण गरेपनि त्यसबाट तथ्यांक संकलन नभएपछि प्रदेश तथा स्थानिय सरकारसँग समन्वय गरी तथ्यांक सार्वजनिक गरेको हो । पौष २० गते सार्वजनीक गरिएको तथ्याङ्कमा सहकारीको संख्या घटेको देखाइएको छ ।
विभागले सार्वजनिक गरेको तथ्याङ्कमा सहकारीको सख्या २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था रहेका छन् । त्यसैगरी २० वटा विषयगत केन्द्रीय संघ १ वटा राष्ट्रिय सहकारी बैंक १ वटा राष्ट्रिय सहकारी महासंघ ७० वटा जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेको छ ।
संघीय सरकारसंग १ सय २५ प्रदेश सरकारसंग ६ हजार २ र स्थानीय सरकारसंग २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेको विभागले जनाएको छ । २०७४ असार मसान्त सम्म ३४ हजार ८ सय ३७ सहकारी संघसंस्था रहेको थिए । तीन वर्षको अवधिमा सहकारी संस्थाको संख्या ४ हजार ९५१ संस्था घटेका छन् ।
यस अवधिमा सहकारीमा आवद्ध सर्वसाधारणको संख्या १० लाख थपिएको छ भने कारोबार पनि तीन खर्व बृद्धि भएको छ । सहकारी संघसंस्थाले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका विभागले जनाएको छ ।
कतिपय सहकारी संघ संस्थाको एकीकरण भएको तथा कतिपय संस्था निश्कृय रहेको कारण प्रारम्भिक सहकारीको सङ्ख्या २९ हजार ८ सय ८६ कायम भएको जनाएको विभागले जनाएको छ । विभागले देशभरका ७ वटै प्रदेश तथा ७५३ स्थानीय सरकारको सहकार्यमा विवरण तयार गरिएको जनाएको छ । सहकारीको सख्या घटेपनि सदस्य सख्या, शेयर पूँजी, बचत, ऋण लगानी तथा रोजगारी सिर्जना लगायतका सूचकमा वृद्धि भएको जनाएको छ ।
Leave a comment