काठमाडौं । नेपाल सहकारी पत्रकार समाजले १० औं वार्षिक साधारणसभाको अवसरमा रातोपाटी डटकममा कार्यरत प्रयास श्रेष्ठलाई पुरस्कृत गरेको छ । श्रेष्ठ लामो समयदेखि सहकारी क्षेत्रमा कलम चलाउँदै आएका छन् ।
सिजेएनले हरेक वर्ष स्थापना दिवसको अवसरमा (भदौ १९गते) प्रदान गर्दै आएका उक्त पुरस्कार यस वर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) कारण वार्षिक साधारणसभामा प्रदान गरिएको हो ।
त्यस्तै साधारणसभाको अवसरमा संस्थापक सचिव सीताराम विलासीलाई ‘सिजेएन संस्थापक सम्मान’ गरिएको छ । विलासी लामो समयदेखि कर्पोरेट नेपालमा कार्यरत छन् । उनी नेपाल सहकारी पत्रकार समाजका संस्थापक सचिव हुन् ।
नेपाल सहकारी पत्रकार समाज(सिजेएन)को १० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताए ।
सञ्चार र सहकारीको समन्वय गर्दै गरिवी निवारणमा सहकारी क्षेत्रको भूमिका बढाउन सकिने उनले बताए । आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहकारी र सञ्चार क्षेत्रको विकासका लागि सहकार्यमा कुनै कसर बाँकी नराख्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव प्रकाश थापा, केन्द्रीय सदस्य टेकराज थामी, सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाई, निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष काजी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तुलसी सुवेदीले गरेका थिए ।
पुरस्कार कोष स्थापना
१० औं वार्षिक साधारणसभाका अवसरमा सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार तथा हित कोष स्थापना भएको छ । कोषले आगामी दिनमा सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गर्नुका साथै सदस्यको हितका लागि पनि थप कार्य गर्ने अध्यक्ष दाहालले बताए ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले उक्त कोषमा ५१ हजार १ सय १९ रुपैयाँ सहयोग गरेका छन् । साधारणसभाले कोष सञ्चालन कार्यविधि समेत पारित गरेको छ । साधारणसभाको दोस्रो सत्र समाजका सहसचिव अर्जुन खतिवडाले सञ्चालन गरेका थिए ।
Leave a comment