काठमाडौं । सहकारी संघसंस्थाहरूको तरलतासम्बन्धी बागमती प्रदेश सहकारी मापदण्डले बचत बाहेकका सहकारी संघमा रहेको तरलताको गणना नहुने ब्यवस्था गरेको छ । मापदण्डमा सहकारी बैंक र बचत तथा ऋण सहकारी संघमा रहेको निक्षेप रकमलाई तरलताको रुपमा गणना गरिने उल्लेख छ ।
मापदण्डको तरलता सम्वन्धि ब्यवस्थामा बचत तथा ऋण सम्बन्धी कारोवार गर्ने प्रत्येक संस्थाले कूल निक्षेप रकमको कम्तिमा १५ प्रतिशत रकम तरलता राख्नु पर्ने र नगद मौज्दात, बैंक मौज्दात, सरकारी ऋण पत्रमा गरिएको लगानी र सहकारी बैंक तथा वचत तथा ऋण सहकारी संघमा रहेको निक्षेप रकमलार्ई तरलताको रुपमा गणना गरिने उल्लेख गरेको छ । त्यसैगरी संस्थाले प्रत्येक महिनाको अन्तिम दिनलार्ई आधार मानी तरलताको गणना गर्नु पर्ने उल्लेख गरेको छ ।
यता संघिय सहकारी विभागले ल्याएको बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७७ ले भने वाणिज्य बैंक, सहकारी बैंक, साना किसान लघुवित्त वित्तीय संस्था र विषयगत केन्द्रीय संघमा राखेको रकम तरलतालाई गणना गर्न सकिने व्यवस्था गरेको थियो ।
भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले साउन अन्तिम साता निर्देशिका जारी गरेको थियो । निर्देशिकामा वाणिज्य बैंक र सहकारी बैंकमा राखेको रकमलाई मात्र तरलतामा गणना गर्न पाइने व्यवस्थाको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले विरोध गरेपछि संशोधन गरि भदौ २४ गते पुनः निर्देशिका जारी गरिएको थियो । संशोधन पछि निर्देशिकामा वाणिज्य बैंक, सहकारी बैंक, साना किसान लघुवित्त वित्तीय संस्था र विषयगत केन्द्रीय संघमा राखेको रकम तरलतामा गणना गर्न सकिने व्यवस्था राखिएको छ ।
Leave a comment