हाइलाइट

सहकारी बैंकबाट आब ०७६/०७७ मा २७ अर्ब बढी कर्जा परिचालन

सहकारी बैंकबाट आब ०७६/०७७ मा २७ अर्ब बढी कर्जा परिचालन :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष ०७६/०७७ मा २७ अर्ब बढी कर्जा परिचालन गरेको छ । बैंकले कृषि तथा कृषि परियोजना, लघु कर्जा, सहकारी ब्यवस्थापनलगायत शिर्षकमा जम्मा २७ अर्ब १५ करोड २६ लाख ४७ हजार कर्जा लगानी गरेको हो । बैंकले गरेको लगानीमा सबैभन्दा बढी किस्ताबन्दी कर्जा शिर्षकमा ११ अर्ब ५३ करोड ३७ लाख २१ हजार २ सय ११ रुपैंया रहेको छ, यो जम्मा लगानीको ४२ दशमलव ४८ प्रतिशत हुन्छ ।

त्यसैगरी सबै भन्दा कम परियोजना कर्जा शिर्षकमा ३६ लाख ५० हजार र यूवा स्वरोजगार शिर्षकमा २५ लाख ३ हजार मात्र लगानी गरेको छ । यी दुबै शिर्षकमा कूल लगानीको शुन्य दशमलव ०१ प्रतिशत मात्र छ । त्यसैगरी लघुवित्त कर्जा मार्फत ५ अर्ब ३० करोड ५८ लाख लगानी गरेको छ भने कृषि तथा कृषि परियोजना कर्जा ७ करोड ३५ लाख ४४ हजार छ । त्यसैगरी दिगो सहकारी कर्जा ४ अर्ब ४ करोड ६७ लाख र चालु पूँजी कर्जा शिर्षकमा ४ अर्ब २८ करोड १९ लाख लगानी गरेको छ । घर घरडेरी तथा भवन निर्माण कर्जा अन्तर्गत ८० करोड ४१ लाख र कोभिड चालु पूँजी कर्जा १० करोड २६ लाख लगानी गरेको छ । साथै बैंकले हायर पर्चेज, मुद्धती रसिदलगायत १४ वटा शिर्षकमा कर्जा प्रवाह गरेको छ ।

बैंकले १२ हजार ४६ सदस्य संस्थामार्फत २ अर्ब २२ करोड शेयर, ४६ अर्ब ८८ करोड निक्षेप, कारोबार गरेको जनाएको छ । ७७ जिल्लाका १२ हजार ३ सय ८१ सहकारी संघसंस्थाहरुलाई आबद्ध गराई ५० वटा शाखाहरु मार्फत बैकिङ्ग सेवा पुर्याउदै आएको र १८ वटा शाखाहरु खुल्ने क्रममा रहेको बैंकले जानकारी गराएको छ । सहकारी बैंकको मंसिर २३ गते देखि पुष ३ गतेसम्म हुने १७ औं बार्षिक साधारण सभाको अवसरमा मंसिर २१ गते आइतबार पत्रकार सम्मेलन गरेको थियो । कार्यक्रममा सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सदस्यहरुलाई समयमै किस्ता बुझाँउदा ब्याजमा १० प्रतिशत र असार महिनामा कर्जामा २ प्रतिशत सहूलियत प्रदान गरेको जानकारी दिए । बैंकले ४ करोड २२ लाख २८ हजार २ सय ८२ रुपैंया ब्याज छूट गरेको समेत गुरागाईले बताए ।यस आर्थिक वर्षमा बैंकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको बताए ।

कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बैंकले सहकारी क्षेत्रको प्राबिधिकरण, सदस्य सहकारी संघ संस्थाहरुको बिभिन्न पक्षहरु सम्बन्धी प्रवर्धन तथा विकासका लागि नयाँ कार्यक्रमहरु, आर्थिक विकासका लागि प्रदेशस्तरमा नमूना परियोजना संचालन, सहकारी संस्थागत विकास कार्यक्रम संचालन, सहकारी शिक्षाको बिस्तारका लागि रिसर्च फेलोसीप प्रदान लगायतका कार्यक्रमहरुमा  जोड दिएको बताए । उनले १७ औं वार्षिक साधारणसभा भर्चुअल रुपमा संचालन गर्ने र एकाइ स्तरका बैठकहरु मंसिर २३ गते देखि मंसिर २९ गते सम्म संचालन हुने र एकाइ प्रतिनिधिहरुको सभा पौष ३ गते गरिने जानकारी गराए ।



Leave a comment