काठमाडौं । संघिय सहकारी विभागले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ(नेफ्स्कून) संग स्पष्टिकरण मागेको छ । सहकारीको गुणस्तर प्रमाणीकरण कार्यक्रम ‘एक्सेस ब्राण्ड’ वितरणमा आर्थिक चलखेल भएको विषयमा सहकारी विभागले नेफ्स्कूनसँग स्पष्टिकरण सोधेको छ ।
मिलिजुली कालिञ्चोक सहकारी संस्थालाई एक्सेस ब्राण्ड प्रदान गर्दा र संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई उत्कृष्ट व्यवस्थापकको पुरस्कार दिँदा आर्थिक चलखेल भएको समाचार प्रकाशित भएपछि विभागले १५ दिने समय दिएर स्पष्टिकरण सोधेको हो ।
विभागले सोमबार नेफ्स्कूनलाई पत्र पठाएर मिलिजुली कालिञ्चोक सहकारी संस्थालाई एक्सेस ब्राण्ड दिदा आर्थिक अपचलन भएको र प्रमुख कार्यकारी अधिकृतलाई उत्कृष्ट व्यवस्थापकको पुरस्कार दिदा संघका उच्च व्यवस्थापकद्धारा आर्थिक चलखेल भएको विषयमा समाचार सार्वजनिक भएको भन्दै त्यसबारे यथार्थ जानकारी गराउन निर्देशन गरेको छ ।
सहकारीमा भएको अनियमितताबारे मिलिजुली सहकारीको स्पष्टिकरण
दोलखाको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले विज्ञप्ती प्रकाशन गरी संस्थामा कुनै प्रकारको अनियमितता नभएको बताएको छ । संस्थाले सोमबार पत्रकार सम्मेलन समेत गरेको छ । विज्ञप्तीमा विभिन्न संचार माध्याममा आएको संस्थाको समाचारमा तथ्यता नभएकाले सदस्यलाई भ्रममा नपर्न आग्रह गरीएको छ ।
त्यसैगरी पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठले संस्था भित्र कुनैप्रकारको अनियमितता नभएको स्पष्ट पारेका छन । सम्मेलनमा उनले भने ‘संस्थाभित्र कुनै अनियमितता भएको प्रमाण दिए राजिनामा दिएर छानविनमा सहयोग गर्छु ।’ केहीदिन अघि संस्था भित्र अनियमितता भएको भन्दै समाचार आएको थियो ।
संस्थाको अनियमितताका बारेमा समाचार आएपछि सहकारी विभाले संस्थासंग स्पष्टिकरण सोधेको छ । सोमबार संस्थाले पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले कुनै प्रकारको अनियमितता नभएको बताएका हुन् । उनले समाचार प्रकाशन गर्दा आरोपितको भनाई पनि राख्न आग्रह गरेका छन् । संस्था एकिकरणमा कुनैप्रकारको पनि आर्थिक लेनदेन नभएको उनको भनाई छ । उनले ऋण लगानी तथा संस्थाका हरेक कार्यक्रमहरु संचालक समितिले निणर्य गरेर मात्र गर्ने गरेको र ब्यवस्थापकलाई ऋण लगानी लगायतमा कुनै अधिकार नहुने बताएका छन् ।
दैनिक नेपाल अनलाईनले शनिबार मिलिजुली कालिञ्चोक सहकारीमा भएको अनियमितताको विषयमा समाचार प्रकाशित गरेको थियो । समाचारमा एक्सेस ब्राण्ड लिन योग्यता नपुग्दै सीईओ न्यौपानेले नेफ्स्कूनका अधिकारीलाई २० लाख रूपैयाँ घुस खुवाएको र उनीहरुकै सहयोगमा छलछाम गर्दै सबै सूचक पूरा गराइ ब्राण्ड किनेको समाचार प्रकाशन भएको थियो ।
त्यसैगरी नेफ्स्कूनले न्यौपानेलाई पुरस्कृत गर्दा उच्च तहका कर्मचारी दुर्गा ढकाल र शिवजी सापकोटालाई राम्रै पैसा खुवाएको समाचार प्रकाशन भएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाले पनि समाचारमा उल्लेख गरेको विषयमा संस्थाका कुनै पदाधिकारीले प्रतिक्रिया नदिएको भन्दै विज्ञप्ती जारी गरिसकेको छ ।
Leave a comment