सन्दर्भ ब्याजदर लागु नगर्ने सहकारीलाई विभागले कारबाही गर्ने

सन्दर्भ ब्याजदर लागु नगर्ने सहकारीलाई विभागले कारबाही गर्ने :: Sahakari Akhabar

काठमाडौं । सन्दर्भ ब्याजदर सिमा कार्यान्वयन भइसकेको छ । ब्याजदर कार्यान्वयन नगर्ने सहकारीलाई सहकारी विभागले कारबाही गर्ने भएको छ ।

सहकारीले लगानी गर्ने ऋणमा कात्तिक १५ गतेदेखि लागु हुनेगरी तोकिएको अधिकतम १४ दशमलव ७५ प्रतिशत ब्याजदर सहकारीहरुले कार्यान्वयनमा नल्याए कारबाही गर्ने विभागले जनाएको छ । सन्दर्भ ब्याजदर निर्धारण समितिको सिफारिसमा सहकारी विभागले भदौ ५ गते सहकारीका लागि सन्दर्भ ब्याजदर तोकेको थियो ।

ब्याजदर कार्यान्वयन नगरेको पाइएमा कारबाही गर्न विभागले सूचना जारी गरेको हो । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको ऋणमा १५ प्रतिशत ब्याजदरको सीमा तोकेपछि सहकारीको पनि ब्याजदर घटाइएको थियो । सहकारी ऐन ०७४ मा विभागका रजिष्ट्रारको संयोजकत्वमा सहकारी मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, सहकारी महासंघ र विषयगत सहकारी संघका प्रतिनिधि सदस्य रहने सन्दर्भ ब्याजदर निर्धारण समितिको व्यवस्था गरिएको छ ।

यसैगरी सहकारी नियमावलीमा समितिले बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आबद्ध संस्था वा संघहरुको औसत ब्याजदर, सहकारी बैंकहरूको औसत ब्याजदर, ‘क’ वर्गको बैंकहरुको औसत ब्याजदर, ब्याजदरका सम्बन्धमा मन्त्रालय, नेपाल राष्ट्र बैंकले गरेका अध्ययन प्रतिवेदन, राष्ट्रिय सहकारी महासंघ र विषयगत केन्द्रीय संघहरुको सुझावलाई आधार मानेर सन्दर्भ ब्याजदर निर्धारण गर्ने व्यवस्था छ ।

हालै सहकारी विभागले जारी गरेको सूचनामा ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी कायम हुनेगरी ब्याजदर लागु गर्न भनेको छ । सूचनामा सन्दर्भ ब्याजदर सहकारी संस्थाकालागि निर्देशक ब्याजदरका रुपमा रहँने हुँदा कार्यान्वयन नगरेको भेटिएमा सहकारी कानुन बमोजिम कारबाही हुने जनाएको छ । 
 



Leave a comment