कैलाली । लम्कीचुहा नगरपालिका–१ मा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले रजत वर्ष कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले रजत जयन्ती समारोहको अवसरमा संस्थापक अध्यक्ष इन्द्रकुमार शाहलाई २५ तोला चाँदीको सिक्काद्वारा सम्मान गरेको छ ।
त्यस्तै सहकारीले समाजमा उत्कृष्ठ काम गर्दै आएका परोकार कार्यमा संलग्न सहारा घरका सञ्चालक बलबहादुर बिष्ट, कृषि कार्यमा संलग्न नविन जोशी र युवा अभियन्ता केपी खनाललाई पनि सम्मान गरेको हो । तीनै जनालाई जनही ११ हजार नगद सहित सम्मान गरिएको जनाएको छ ।
संस्थाले रजत जयन्तीको अवसर पारेर विभिन्न प्रतियोगिता समेत आयोजना गरेको थियो । ‘महिला सशक्तिकरणमा सहकारीको भूमिका, विषयक जिल्लाब्यापी खुल्ला निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा कुबेर तिमिल्सिना प्रथम, पूजा शाह द्वित्तीय र दिक्षा तिमिल्सिना तृतीय भएका छन । रजतजयन्ती समारोहमा उनीहरुलाई क्रमशः १५, १० र ५ हजार नगद सहित पुरस्कृत गरिएको छ ।
त्यस्तै सहकारीले ‘कोभिड–१९ को विषम परिस्थितिमा सेवाप्रवाह एवं व्यवशायिक सफलताका लागि कर्मचारीको भूमिका विषयक अन्तर शाखा स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा लम्की शाखाका अमरराज भण्डारीले प्रथम, टीकापुर शाखाका रिता बजगाईले द्वित्तीय, फूलबारी शाखाका अर्जुन रिमालले तृतीय र सुखड शाखाका दीपेन्द्र बटालाले सान्त्वना स्थाना हासिल गरेका छन ।
उनीहरुलाई क्रमशः १०, ७, ५ र ३ हजार नगद सहित पुरस्कृत गरिएको छ । २०५२ सालमा स्थापना भएको सहकारीको अहिले जिल्लाभर २१ शाखा, १ कृषि फर्म, १ रासायनिक मल बिक्री केन्द्र र १ माटो परिक्षण प्रयोगशाला रहेको छ । सहकारीले रजतजयन्ती समारोहकै अवसरमा माटो परिक्षण प्रयोगशालाको समेत उद्घाटन गरेको छ । सहकारीमा अहिले १७८ कर्मचारी, ५५ हजार ४०७ शेयर सदस्य र १२ करोड ३९ लाख शेयर पूँजी रहेको छ ।
२ अर्ब ७७ करोड ८२ लाख ६ हजार ९४० रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले बैकिङ कारोबारका साथै शेयर सदस्यहरुलाई निशुल्क कृषि परामर्श समेत दिने गरेको छ । संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न समारोहको प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका मेयर महादेब बजगाई रहेका थिए ।
समारोहमा मेयर बजगाईले किसान सहकारी न्यून आय भएका व्यक्तिको आर्थिक सहयात्री बनेको बताए । उहाँले सहकारीले सञ्चालन गरेका कार्यक्रमहरुबाट लक्षित वर्ग लाभान्वित भैरहेको बताए । समारोहमा वडा नं। १ का वडाध्यक्ष जनक बम, राष्ट्रिय सहकारी बैंक सञ्चालक समितिका सदस्य शिवा थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Leave a comment