हात्तीलाई विस्थापित हुनबाट जोगाउन सहकारीको स्यान्च्युरी मोडेल 

हात्तीलाई विस्थापित हुनबाट जोगाउन सहकारीको स्यान्च्युरी मोडेल  :: Sahakari Akhabar

काठमाडौं । बन्दाबन्दीका कारण हात्ति पालन ब्यवसाय संकटमा पर्न थालेपछि बिकल्प खोज्न थालिएको छ । हात्तीलाई सफारीकै भरमा मात्र नभएर स्यान्च्युरी मोडेल पनि अपनाउने भन्ने सोच्न थालिएको हो । हात्ती पाल्ने व्यवसायीको साझा संस्था युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले हात्तीलाई विस्थापित हुनबाट जोगाउन स्यान्च्युरी मोडेलको अवधारणा ल्याउने तयारी गरिरहेको छ ।

युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार लकडाउन हुनु अघि सौराहामा सहकारीमा आबद्ध ५५ वटा हात्ती थिए । अहिले ४३ वटा रहेका छन् । कतिपयले हात्ती बिक्री गरे भने कतिपयले भाडामा ल्याएको हात्ती फिर्ता गरिसके । सौराहामा धेरैजसो होटल व्यवसायीले नै हात्ती पाल्दै आएका छन् ।

उनका अनुसार हात्तीपालकहरुले अब भने बुढा र अशक्त हात्तीहरुका लागि ‘वाइल्डलाइफ स्यान्च्युरी’ को तयारी गर्दैछन् । उनीहरुले तयारी गर्दै गरेको स्याञ्चुरी यस्तो क्षेत्र हो, जहाँ निश्चित क्षेत्र निर्धारण गरेर त्यस्ता हात्तीहरुलाई राखिनेछ । ‘त्यहाँ रहने हात्तीहरुले मान्छे बोक्ने काम गर्ने छैनन् । ती हात्तीहरु आफ्नो क्षेत्र भित्र रमाउँछन्, तिवारीले भने, ‘पर्यटकहरुले सशुल्क यिनका गतिविधिहरु हेर्नेछन् ।’ यसो गर्दा हात्तीको अधिकार पनि हनन् नहुने र हात्तीमार्फत कमाइ पनि हुने भएकाले व्यवसायीहरु स्यान्च्युरी अवधारणामा तयार बनेको उनले बताए ।

एउटा हात्तीको मूल्य ८० लाख रुपैयाँसम्म पर्ने व्यवसायी बताउँछन् । एउटा हात्तीले एक दिनमा २० किलो धान, २ किलो चना र सखर, एक किलो नुन र परालको कुची खान्छ । हात्ती रेखदेखका लागि एक जना माहुते अनिवार्य हुन्छ । यी सबै गर्दा एउटा हात्ती पाल्न दैनिक तीन हजारभन्दा बढी खर्च हुने सौराहाका हात्ति व्यवसायी बताउँछन् ।



Leave a comment