ललितपुर । राष्ट्रिय सहकारी महासंघले सातवटै प्रदेशमा थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ स्थापनामा महासंघले पहल गर्ने भएको छ । संघको संचालक समितिको भर्चुअल बैठकमा भएको छलफलमा अध्यक्ष मीनराज कँडेलले प्रत्येक प्रदेशमा एक थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ प्रवद्र्धन गर्ने निर्णय गरेको छ ।
सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहकारी पसललाई थोक मूल्यमा आवश्यक वस्तु उपलव्ध गराउन प्रत्येक प्रदेशमा सहकारी संस्थाहरुकै शेयर लगानीमा थोक उपभोक्ता सहकारी स्थापना गर्ने व्यवस्था गरेको छ । सोही अनुसार महासंघले कार्यान्वयन गर्न लागेको हो । उक्त कार्यका लागि सम्वन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने संचालकहरुलाई जिम्मेवारी दिने निर्णय भएको जनाइएको छ ।
महासंघले गरेको सम्भाव्यता अध्ययनका आधारमा सातवटै प्रदेशमा कम्तिमा एक थोक उपभोक्ता विशिष्टकृत सहकारी संघ स्थापना गरी उत्पादक र उपभोक्तालाई गुणस्तरीय र सहज मूल्यमा आवश्यक सामाग्री उपलब्ध गराउने गरी यो कार्यक्रम ल्याइएको महासंघका अध्यक्ष कँडेलले बताए । साथै महासंघका सदस्य संघहरुलाई मजबुद तथा व्यवसायी बनाउने उद्देश्यले जारी आर्थिक बर्षमा ३५ वटा सदस्य संघहरुको रणनीतिक योजना तयार गर्ने निर्णय समेत गरिएको जनाइएको छ ।
बक्यौता उठाउन समिति गठन
त्यसैगरी बैठकले पुरानो बाँकी बक्यौता असुल गर्नका लागि संचालक केवी उप्रेतीको संयोजकत्वमा तीन सदस्य उपसमिति समेत गठन गरेको छ । बैठकले तालिम तथा प्रवद्र्धनात्मक कार्यक्रम संचालन कार्यविधि, सदस्य संघ साझेदारी कार्यक्रम संचालन कार्यविधि, आन्तरिक लेखा परिक्षण कार्यविधि स्वीकृत गरी पारित गर्न आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।
महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले चालु आर्थिक बर्षमा भएको प्रगति प्रवितेदन प्रस्तुत गरेकी थिइन । बैठकमा कोभिड १९ ले सहकारी क्षेत्रमा पारेको असर र त्यसको व्यवस्थापनका विषयलगायत समयसामायिक विषयमा समेत छलफल भएको थियो ।
Leave a comment