श्री लालीगुराँस सहकारीद्धारा एटिएम सेवा सुरु

संस्था २२ औं वर्षमा प्रवेश

श्री लालीगुराँस सहकारीद्धारा एटिएम सेवा सुरु :: Sahakari Akhabar

ललितपुर । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले एटिएम सेवा शुरु गरेको छ ।

संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले उक्त सेवाको उद्धघाटन गर्ने छन् । पुल्चोक स्थित मुख्य कार्यालयमा राखिएको एटिएम सेवाको आजैदेखि सेवा सुरुवात गरिने बताइएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले निकट भविष्यमा अन्य सुविधा काउण्टरहरुमा समेत एटिएम बुथ स्थापना गरी सेवा दिने बताएका छन् ।

प्रमुख कार्यकारी अधिकृत भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चा गर्दैे संस्थाले असोज १५ गतेबाट श्री लालीगुँरास दुग्ध प्रशोधन उद्योग स्थापना गरी दुधजन्य पदार्थ बिक्रि गर्न शुरु गरेको जानकारी गराए । संस्थाले गोदावरीमा दुग्ध प्रशोधन उद्योग स्थापना गरी ब्यावसायिक रुपमा दुध, दही, मोही, नौनी, ध्युको बिक्रि वितरण शुरु गरेको छ ।

चितवनको खैरहनीमा नेपाल कै सबैभन्दा ठुलो गाई फार्म स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल रहेको बताए । संस्थाले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने भण्डारीले बताए । ललितपुरको चापागाँउ, काठमाडौं चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको छ ।

संस्थामा हाल २१ हजार शेयर सदस्य छन् । साथै ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको छ । २०५६ साल भदौ १८ गते दर्ता भई मिति २०५६ साल आश्विन १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री लालीगुराँस राष्ट्रिय विद्यालय, कलेज तथा अन्य विद्यालय र कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल, शिक्षा क्षेत्र तर्फ काठमाण्डौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय विद्यालय, कलेज, चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ । संस्थाले आफ्नो सेवालाई स्तरीय, सरलीकृत तथा प्रभावकारी बनाउन आफ्ना कर्मचारीलाई अभिमुखिकरण र अन्य तालिम प्रदान गर्दै आई रहेको छ ।



Leave a comment