काठमाडौं । पोखराको पोखरा रोयल बचत तथा ऋण सहकारी र काठमाडौको चन्द्रागिरी बचत तथा ऋण सहकारी बिच पिसिआरटी गठन भएको छ । उक्त टिमले दुई संस्थाबिचको भगिनी सम्बन्धलाई व्यवस्थित बनाउनको लागि दुवै संस्थाको प्रतिनिधी रहने गरि पिसिआरटी (पोखरा चन्द्रागिरि –यापोर्ट टिम) गठन गरेको हो । उक्त टिममा पोखरा रोयल साकोसका अध्यक्ष तुलसीप्रसाद गुरुङ, प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र मूख्य प्रवन्धक मीलन ढकाल तथा चन्द्रागिरी साकोसका अध्यक्ष शिवशंकर मानन्धर, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र वरिष्ठ अधिकृत सुमित्रा त्रिपाठी रहेका छन् ।
भदौ २९ गते पोखरा रोयल साकोसका अध्यक्ष तुलसीप्रसाद गुरुङ र चन्द्रागिरी साकोसका अध्यक्ष शिवशंकर मानन्धरले भर्चुअल बैठकमार्फत दुवै संस्थाबिच भगिनी सम्बन्ध स्थापित गर्ने घोषणा गरेको चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए । बैठकमा दुवै संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनका कर्मचारीहरु गरि ३५ जनाको सहभागीता रहेको थियो ।
पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले संस्थाको वर्तमान अवस्था र कोभिड १९ को महामारीको अवधिमा संस्थाले सदस्यहरुलाई प्रदान गरेको सेवा तथा अवलम्बन गरिएका असल अभ्यासका बारेमा जानकारी गराएका थिए । पोखरा रोयल साकोसका मुख्य प्रवन्धक मीलन ढकालले अन्तर सहकारी सम्बन्ध र सहकार्यको संस्कार स्थापित गर्ने, कार्य सञ्चालनमा व्यवसायीकता तथा नीति, विधि र प्रविधिको अभ्यासमा एकरुपता कायम गर्ने, गुणस्तरीय सेवालाई प्राथमिकता प्रदान गर्दै ब्राण्डिङ्गमा समेत एकरुपता कायम गर्ने र असल अभ्यास तथा अनुभवहरुको नियमित आदान प्रदान गर्न भगिनी सम्वन्धको उद्धेश्य रहेको बताएका छन् ।
पोखरा रोयल साकोसले कास्की, स्याँङ्गजा, तनहुँ र लम्जुङ्ग जिल्लाभर कार्य गरिरहेको छ । संस्थामा ७६०४ शेयर सदस्य, शेयर पुँजि १७ करोड ४१ लाख, जगेडा कोष १० करोड ४४ लाख, कुल वासलात १ अर्व ८६ करोड पुगेको छ । चन्द्रागिरी साकोसले काठमाडौ र ललितपुर जिल्लालाई कार्यक्षेत्र बनाएको छ १०८७५ जना शेयर सदस्य, शेयर पुँजि १० करोड ६४ लाख, जगेडा कोष ६ करोड ८३ लाख, कुल वासलात २ अर्व १० करोड पुगेको छ ।
Leave a comment