काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले कोरोना महामारीको समयमा तरलता बढेको देखिएपनि अहिले धेरै सहकारीलाई तरलताको अभाव भएको बताएका छन् । उनले तरलता बढ्दा प्रचार गर्ने तर अभाव भएको कुरा सार्वजनिक नगर्ने भएकाले तरलताको अभाव परेका सहकारीको बास्तविक तथ्याङ्क आउन नसकेको बताए । सहकारी हकहित राष्ट्रिय समाजले कोरोना भाइरस (कोभिड–१९) महामारीबाट सहकारीको तरलतमा परेको असरका षियमा गरेको छलफल उनले भने ‘तरलता बढेको कुरा प्रचार हुन्छ,’ सहकारीले तरलताको अभाव भएको कुरा बैंक र छाता संघहरुलाई समेत भन्न हिचकिचाउने गरेका छन् ।’ उनले सहकारीमा तरलताको समस्या व्यवस्थापन गर्नका लागि सहकारी बैंक र नेफ्स्कूनबीच सहकार्य गर्ने सहमती भएको जानकारी दिए ।
बन्दाबन्दी र निषेधाज्ञाका कारण पेशा, ब्यापार, व्यवसाय, उद्योग लगायतका आर्थिक क्रियाकलाप बन्द भएकाले सहकारीमा कर्जा लगानीको तुलनामा बचत बढेको उल्लेख गर्दै अध्यक्ष उप्रेतीले आर्थिक क्रियाकलाप सुचारु भएपछि सहकारीमा तरलताको समस्या बढ्नसक्ने बताए । सहकारीले तरलताको रकम बाणिज्य बैंक, छाता संघहरु लगायतका विभिन्न संस्थामा छरेर राख्ने गरेकाले बचतकर्ता सदस्यले मागेको समयमा निक्षेप भुक्तानी गर्न कठिनाई पर्ने गरेको उनको भनाई थियो । उनले भने ‘सहकारीले जोखिमरहित ठाउँमा तरलता राखेर बचतकर्ता सदस्यले निक्षेप फिर्ता मागेको समयमा भुक्तानी दिनुपर्छ ।’
अभियानलाई बलियो बनाउन सहकारीको पैसा गैरसहकारी क्षेत्रमा नभई सहकारी बैंक, नेफ्स्कून लगायतका निकायमा बचत गर्न आह्वान गरे । अध्यक्ष उप्रेतीले सहकारीमा धेरै ब्याज पाईन्छ भनेर बचत गर्ने सदस्यले कर्जाको ब्याज महंगो भयो भनेर बैंकमा ऋण लिन जान नहुने बताए । उप्रेतीले अहिले सरकारी पक्षले सहकारीको सन्दर्भ व्याजदर १३ प्रतिशतमा झार्न प्रयास गरिरहेको बताए । सहकारीको व्याजदर कम हुँदा राम्रो हुनेभएपनि विषम परिस्थितिमा व्याजदर घटाउँदा सहकारीको पैसा बाहिरिन सक्ने भएकाले अभियानले तत्काल ब्याजदर नघटाउन आग्रह गरेको अध्यक्ष उप्रेतीले बताए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारीलाई तरलता अभाव भएको अवस्थामा सहयोग गर्न सहकारी बैंक र नेफ्स्कूनले सहकार्य गरेर एक–एक अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको बताए । यसैगरी ललिपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईले अहिले समुदायमा आधारित र ब्यवसाय केन्द्रित सहकारीमा भन्दापनि लहैलहैमा खोलेका संस्थामा समस्या देखिएको बताए । ‘केही सहकारीले लकडाउन बढे हुन्थ्यो, संस्था बन्द भईरहे सदस्यलाई बचत फिर्ता गर्नुपर्दैन थियो भन्ने मनोकामना राखेको पाईन्छ,’ ललितपुर जिल्लामा सात देखि १० प्रतिशत सहकारी संस्था लहैलहैमा खुलेको भन्दै उनले सबै सहकारीको अभिभावक भएकाले जिल्ला बचत संघ त्यस्ता सहकारीलाइ कसरी सहयोग गर्न सकिन्छ भनेर केन्द्रित भएको बताए
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले जिल्ला बचत संघमा गत फागुनमा ५० करोड ५९ लाख रुपैयाँ बचत रहेकोमा अहिले १ अर्ब २३ करोड रुपैयाँ पुगेको जानकारी दिए ।
बैंक तथा वित्तीय संस्थाहरुले बचत लिन नमानेकाले अहिले जिल्ला भित्रका एक्सेस ब्राण्ड प्राप्त सहकारीका साथै अन्य संस्थामा समेत बचत बृद्धि भएको तर ऋण लगानी भने घटेको पाईएको बताए । सहकारी बैंक, नेफ्स्कून र जिल्ला बचत संघ एकीकृत भएर जानुपर्नेमा अहिले एक अर्काबीच प्रतिस्पर्धा चलिरहेको बताए । उनले सहकारी संघ÷संस्थाले तरलता बापत बैंक तथा वित्तीय संस्था, सहकारी बैंक, केन्द्रीय संघहरुमा राखेको रकमबाट १५ प्रतिशत टीडीएस कटाउनु जायज नभएकोबताए ।
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का कोषाध्यक्ष निरञ्जन सेढाईले सदस्य संस्थालाई तरलतको अभाव हुँदा उपलब्ध गराउन संघले पछि बृद्धि गर्दै लैजानेगरी ५ करोड रुपैयाँको व्यवस्थापन कोष खडा गरेको जानकारी दिए । सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष अर्जुन खतिवडाको अध्यक्षतामा भएको भर्चुअल छलफलमा नेफ्स्कूनका बरिष्ट अधिकृत वल्लभ तिमल्सिनाले तरलताको विषमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
Leave a comment