काठमाडौं । नेपाल सहकारी पत्रकार समाजले १० औं स्थापना दिवस भर्चुअल रुपमा सम्पन गरेको छ । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले संविधानले परिकल्पना गरे अनुसार आर्थिक, सामाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताए ।
सहकारीले सदस्यको आर्थिक समाजिक रुपान्तरणमा सघाउ पु¥याउनुपर्ने बताए । सबल अर्थतन्त्र निर्माणका लागि सहकारीलाई महत्वपूर्ण साझेदारको रुपमा स्थापित गर्न मन्त्रालय क्रियाशील रहेको उनको भनाइ छ । उनले सहरमा रहेका सहकारीको मात्रै कुरा सुन्ने र त्यसको अनुभवको आधारमा नकारात्मक वा सकारात्मक प्रचार प्रसार भयो की भन्ने गुनासो आउने गरेको उनको भनाइ छ । सचिव पाण्डेले आगामी दिनमा सहकारी पत्रकार समाजसँगको सहकार्यलाई प्रभावकारी रुपमा अघि बढाउने बताए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारीले देशमा गरिबी न्यूनिकरण, सामाजिक रुपान्तरणमा महत्वपूर्ण काम गरेको दाबी गरे । सहकारीले विकसीत देश निर्माण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । सहकारीको क्षेत्रमा तथ्यांक अभाव भएकाले तथ्यांक मिलाउने काम सरकारी निकायले गर्नुपर्ने बताए । सहकारी अभियान सरकारको परिपुरकको उनको भनाइ छ । उनले सहकारी संस्था धेरै संख्यामा भएका कारण कोरोनाका बेला पास लिन समस्या भएको भन्दै उपत्यकामा कारोनाको संक्रमण बढेको भन्दै आफू पनि यसबाट बच्दै अघि बढ्नु पर्ने बताए ।
राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीलाई प्रविधितर्फ जानको लागि आवश्यक गृहकार्य गरीरहेको बताए । उनले सहकारी पनि अब २१ औं शताब्दी अनुसार चल्नको लागि प्रविधिमा जान अत्यावश्यक भइसकेको बताए । उनले समाजले सहकारीलाई संचार क्षेत्रमा गरेको काम उल्लेखनीय भएको भन्दै समुदायमा सहकारीप्रति विश्वास जगाउने काम सञ्चार माध्यममा ल्याउन सुझाव दिए । बोर्डले राष्ट्रिय सहकारी नीति निर्माणको काम अघि बढाएको उनको बताए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई सुसाशनमा ल्याउने काममा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारी क्षेत्रमा खबरदारी गर्दै अघि बढन सञ्चारकर्मीलाई आग्रह गरे । पत्रकार समाज सहकारी अभियानको आवाज बन्न सकेको भन्दै उनले सहकारीको क्षेत्रमा निकै प्रभावकारी काम गरिरहेको बताए । सहकारीको विकासका लागि सकारात्मक मार्ग दर्शनमा पत्रकारले कलम चलाउनुपर्ने उनको भनाइ छ ।
दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले नेपालको कर्मचारीतन्त्रले सहकारीलाई नचिनेको आरोप लगाए । उनले उपत्यका भित्रका सहकारीले गरेको काम हेरेर जिल्लाका सहकारीसँग तुलना गर्न नहुने धारणा राखे । समाजका संस्थापक अध्यक्ष यादव हुमागाईले आगामी दिनमा समाजले सञ्चारकर्मीको भूमिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
उनले उपत्यका भित्रका सहकारीको समाचार मात्रै छापामा आउने गरेको भन्दै उपत्यका बाहिर रहेका सबैलाई समेटेर लैजान आवश्यक रहेको बताए । उनले कतिपयले समाजलाई सहकारी संस्था नै हो की भन्ने बुझ्दा समस्या सृजना भएको भन्दै यो दुविधाबाट मुक्त हुन आग्रह गरे । लामो समयदेखि तथ्याङ राख्न आवाज उठाइएपनि सरोकारवाला निकायले तथ्यांक संकलनमा बेवास्ता गर्दै आएको उनको भनाइ छ ।
नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षमा भएको कार्यक्रममा बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमिल्सिना, सिजेएनका निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटा, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव तुलसी सुवेदीले गरेका थिए भने उपाध्यक्ष काजी श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।
नेपाल सहकारी पत्रकार समाज, २०६८ साल भदौ १९ गते स्थापना भएको गैर नाफामुखी स्वसाशित गैर सरकारी संस्था हो । संस्थाले विभिन्न सञ्चार माध्यममा सहकारीलाई बिट बनाएर काम गरिरहेका कृयाशील पत्रकारहरुलाई संगठित गरी सहकारी पत्रकारिताको विकास गर्दै सदस्य पत्रकारहरुको वृति विकास क्षमता अविभृद्वि गर्दै आएको छ ।
सहकारीको विकासका लागि गतिशील रहेको संस्थामा हालसम्म विभिन्न सञ्चार माध्यममा क्रियाशील ७४ जना पत्रकारहरु आवद्ध रहेका छन् । संस्थाले संस्थापक सम्मान तथा सिजेएन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । संस्थाले पत्रकारहरुको लेखनवृति विकास तालिम, अध्यान अवलोकन भ्रमण, समसामयिक विषयमा सरोकारवालाहरुसंग बहस पैरवी गर्दै आएको छ ।
Leave a comment