काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञाबहादुर तामाङले सबै पालिकामा संघ बनाउनु पर्ने बिचार राखेका छन् । उपत्यकाका सहकारी संघहरुको छलफलले सबै पालिकामा संघ स्थापना गर्न संयुक्त सुझाव दिएको अध्यक्ष तामाङले बताए । राष्ट्रिय सहकारी महासंघले सोमबार सहकारी नीति २०६९ का विषयमा गरेको छलफल कार्यक्रममा ७५३ वटै पालिकामा सहकारी संघ हुनुपर्ने सुझाव दिइएको हो ।
महासंघले राष्ट्रिय सहकारी विकास बोर्डबाट मस्यौदा भएको राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकनमा अभियानको तर्फबाट सुझाव दिने उद्देश्यले सोमबार सहकारी बैंक, विषयगत केन्द्रीय सहकारी संघ तथा उपत्यकाका जिल्ला संघका अध्यक्ष तथा प्रतिनिधिहरूसँग छलफल गरेको थियो । छलफलका क्रममा जिल्ला सहकारी संघ काठमाडौका अध्यक्ष ज्ञानबहादुर तामाङले मूलुकको संघिय संरचना अनुसार जान सहकारीका सबै स्थानीय तहमा सहकारी संघ स्थापना गर्न सुझाव दिएका थिए ।
उनले जिल्ला संघहरु नीतिको मस्यौदामा खारेजको प्रस्ताव राखेर प्रदेश संघ मात्र बनाउने कुरा उपयुक्त छैन, यसलाई साच्चिकै संघिय संरचनामा लैजाने हो भने, प्रत्येक पालिकामा प्रारम्भिक संस्थाको पहुँच पुग्नेगरी र सवै विषयलाई समेट्नेगरी एउटा संघ स्थापना गर्नु पर्छ । छलफलमा महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी नीति सहकारी अभियानको गाइडलाइन भएकाले बृहत्त छलफल गरी अगाडी बढ्नुपर्ने बताए । उनले अभियानको भावना र संविधानको स्प्रिटलाई नीतिमा समावेश गर्न सुझाव दिने बताए ।
निर्वतमान अध्यक्ष केशव बडालले बहुआयमिक गरिवी घटाउने कार्यक्रममा सहकारीको महत्वपूर्ण योगदान रहँदै आएको विभिन्न अध्ययनले देखाएको बताए । उहाँले राष्ट्रिय सहकारी नीति, २०६९ को कार्यान्वयनको समीक्षा गर्दा उक्त नीतिको उद्देश्य अनुरूप अभियानले हासिल गरेको उपलव्धीलाई सही रूपमा विश्लेषण गर्नुपर्नेमा जोड दिए । महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सातवटै प्रदेशमा अन्तक्रिया गरेर सुझाव संकलन गर्न सकेको खण्डमा सबैको सुझाव समेट्न सकिने बिचार राखिन् ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले नीतिको मस्यौदा गर्दा तथ्यांक महत्वपूर्ण भएकोले तथ्यांक संकलनमा जोड दिर्दै त्यसका लागि सबैले सहकार्य गर्नु पर्ने बताए । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले मस्यौदा अभियानको अवको दिशा निर्देश हुने गरी नयाँ तरिकाले सोच्नुपर्ने बताइन । उनले नीतिको मस्यौदामा भएको पृष्ठभूमि, वर्तमान स्थिति, मूख्य चुनौती, दुरदृष्ट्रि, दीर्घकालीन लक्ष्य, उद्देश्यहरूमा पुर्नलेखन गर्न आवश्यक भएको वताइन् । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कार्यविधि, निर्देशिकामा राख्दा हुने विषय नीतिमा आएकोले यसलाई पुर्नलेखन गर्नुपर्ने बताए ।
Leave a comment