काठमाडौ । नेपालमा सञ्चालित ८.७ प्रतिशत उद्योग ब्यवसायहरुले बचत तथा ऋण सहकारीबाट र ७४.३ प्रतिशत उद्योग र व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको देखिएको छ । नेपाल राष्ट्र बैंकले कोभिड– १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा गरेको सर्वेक्षणमा ५२ जिल्लाका ६७४ उद्योगी र व्यवसायीहरु सहभागी भएका थिए ।
ति मध्ये कर्जा नलिएका उद्योग र व्यवसायहरुको संख्या १२ प्रतिशत रहेको छ । बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेका, ३५ प्रतिशत उद्योग र व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योग र व्यवसायहरु पूर्ण रुपमा बन्द रहेका पाइएको छ ।
सार्वजनिक प्रतिवेदनअनुसार उद्योगी व्यवसायीले वित्तीय श्रोत व्यवस्थापनका लागि दोस्रो, तेस्रो र चौथो विकल्पको रुपमा क्रमशः खर्च घटाउन कर्मचारी÷तलब कटौती गर्ने, सहकारी संस्थाबाट ऋण लिने र नयाँ लगानी साझेदार खोज्ने बताएका छन् ।
सर्वेक्षणमा सहभागी उद्योगी व्यवसायी मध्ये ७९.९७ प्रतिशतले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, २६.४१ प्रतिशतले खर्च घटाउन कर्मचारी र तलब कटौती गर्ने बताएका छन् । यस्तै, १२.६१ प्रतिशतले सहकारी संस्थाबाट ऋण लिने १०.९८ प्रतिशतले नयाँ लगानी साझेदार खोज्ने र ६.५२ प्रतिशतले केही नगर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।
सर्वेक्षणमा सहभागी करिब ७० प्रतिशत उद्योग÷व्यवसायहरुले नेपाल सरकारले आर्थिक वर्ष २०७७ र ७८ को बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी र कामदारको रोजगारीलाई पूर्णरुपमा निरन्तरता दिन सकिने बताएका छन ।
एक चौथाई भन्दा बढी (२५.९ प्रतिशत) उद्योग र व्यवसायीले आंशिक रुपमा मात्र निरन्तरता दिन सकिने बताएका छन् भने ४.२ प्रतिशतले सो सुविधा प्राप्त गरेतापनि कर्मचारी र कामदारलाई निरन्तरता दिन नसकिने बताएका छन् ।
बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग र व्यवसायहरु मध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन र कारोबार घटेको जनाएका छन् । सहभागीमध्ये ०.९ प्रतिशत उद्योग र व्यवसायहरुको उत्पादन र कारोबार १५.४ प्रतिशतले बढेको र २.४ प्रतिशतको उत्पादन र कारोबार पूर्ववत रहेको देखिएको छ ।
Leave a comment