गैरकानुनी अध्यक्ष रहेको संघबाट सहकारीका रजिष्टारलाई सम्मान 

गैरकानुनी अध्यक्ष रहेको संघबाट सहकारीका रजिष्टारलाई सम्मान  :: Sahakari Akhabar

काठमाडौं । वाग्मती प्रदेशका सहकारी रजिष्टार विक्रम पाण्डेले स्वार्थ बाझिने गरी आफुले अनुगमन गर्ने संस्थाबाट सम्मान लिएका छन् । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) वाग्मती प्रदेशको नियमन भित्र पर्छ ।

यसलाई अनुगमन, नियमन र गलत काम गरेको भेटिएमा कारवाही गर्ने जिम्मेवारी रजिष्ट्रार कार्यालयको हो । संघका अध्यक्ष दिपक पनेरुले सहकारी ऐन विपरित दोहोरो पद लिएका छन् । तर, गैरकानुनी अध्यक्षलाई कारवाही गर्ने जिम्मेवारी लिएका मुख्य व्यक्ति रजिष्टार पाण्डे नै उक्त संस्थाबाट सम्मानित भएका छन् ।

शुक्रबार औपचारिक कार्यक्रममा पाण्डेलाई राष्ट्रिय सहकारी महासंघका संचालक तथा सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सम्मानपत्र प्रदान गरेका थिए । अध्यक्ष पनेरु र सचिव शालिकराम पुडासैनीको हस्ताक्षर रहेको सम्मानपत्रमा पाण्डेले सहकारी नियमनको विभिन्न तहमा रहि सहकारीको प्रवद्र्धन र विकासमा योगदान पुर्याएको उल्लेख गरिएको छ । बहालवाला रजिष्टारले आफुले नियमन गर्ने संस्थाबाट नै सम्मानित भएको सम्भवत पहिलो पटक हो ।

आफुले अनुगमन, निर्देशन गर्नुपर्ने संस्थाबाट सम्मान लिनु गलत भएको एक पूर्व रजिष्टारले टिप्पणी गरे । “रजिष्टारको जिम्मेवारी संस्थालाई नियमन र निर्देशन गर्नु हो” उनले भने, “त्यहि संस्थाबाट सम्मानपत्र लिनु पदिय जिम्मेवारी विपरितको काम हो”

रजिष्टार पाण्डेले भने यसबारेमा स्पष्ट जवाफ दिएनन् । नियमन गर्नुपर्ने संस्था कास्कुनबाट सम्मान लिनु स्वार्थ बाझिने विषय भएन र भन्ने प्रश्नमा पाण्डेले भने होइन, त्यसरी हेर्ने भन्ने कुरै रहेन नि, नियमन गर्ने संस्थाको कार्यक्रममा जानै नहुने भन्ने होइन नि भाई !

कार्यक्रममा जाने नजाने कुरा होइन, सम्मान लिन मिल्छ कि मिल्दैन भनेको ?

त्यस्तो त यस्तो हो, उहाँहरुले त्यो हिसावले, सुरुमा उहाँहरुले उ गर्नुभाको हो । म गैसकेपछि पछाडीका कुराहरु आए, म आउदा आउदै पहिल्यैदेखि उहाहरुले उ गर्नु भाथ्यो । मसँग टाइम पनि नभएर उ गर्नुभा हो ।

अध्यक्षलाई कारवाही कहिले ?

संघिय ऐन र प्रदेश सहकारी ऐनको व्यवस्था अनुसार कुनै पनि व्यक्ति दुई संघको संचालकमा बस्न पाइदैन । यहि व्यवस्थाको उलंघन दिपन पनेरु नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) मा दोहोरो जिम्मेवारी छन् । नेफ्स्कूनको संचालक रहदै कास्कूनको अध्यक्षमा निर्वाचित भएका उनी पुनः नेफ्स्कूनको कोषाध्यक्षमा समेत निर्वाचित भए ।

ऐन विपरित दोहोरो पद लिएका व्यक्तिलाई अहिलेसम्म संघिय र प्रादेशिक विभागले कुनै कारवाहि गरेको छैन । कारवाहीबाट बच्नकै लागि रजिष्टार फकाउने उद्देश्यले कास्कूनले पाण्डेलाई सम्मान गरेको सहकारी क्षेत्रमा चर्चा छ ।

रजिष्ट्रार पाण्डे भने दोहोरो पदको व्यवस्था कार्यान्यनका लागि संघिय र प्रादेशिक सहकारी विभागले सहकार्य गर्नुपर्ने बताउछन । यो प्रदेशको मात्र नभै संघिय विभागको पनि जिम्मेवारी हो, यसबारेमा छलफल गरेर समग्र ऐन कार्यान्वयनलाई प्रभावकारी बनाउछौं । समाचार, अर्थटुडेमा प्रकाशित छ ।



Leave a comment