हाइलाइट

सरकार, सहकारी कानुन संशोधन गर्न तयार छ : मन्त्री अर्याल

सरकार, सहकारी कानुन संशोधन गर्न तयार छ : मन्त्री अर्याल :: Sahakari Akhabar

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्यमाकुमारी अर्यालले सहकारी कानुन संशोधन गर्न तयार रहेको बताएकी छन् । उनले सरकारले सहकारीलाई सबै क्षेत्रमा प्रवेश गर्न आवश्यक पर्ने कानुनमा संशोधन गर्न तयार रहेको बताएकी हुन् ।

राष्ट्रिय सहकारी महासंघले ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै मन्त्री अर्यालले कोभिड १९को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकुलन क्षमता सुदृढ गराउनका लागि सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने बताएकी छन् । उनले कोभिड १९को महामारीका कारण बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्ने क्षेत्र सहकारी भएको बताइन् ।

उत्पादन र स्वरोजगार सिर्जना गर्न सक्ने क्षेत्रमा सहकारी प्राथमिकतामा रहेको बताइन । उनले सहकारी स्वनियमानमा अगाडि बढ्नुपर्ने बताउँदै अर्थतन्त्रमा देखिएका गम्भिर चुनौतीको सामना गर्न, नेपालको अर्थतन्त्रलाई मजबुद बनाउन, घर घरमा समृद्ध ल्याउन सहकारीको पैसा उत्पादन क्षेत्रमा परिचालन गर्ने, स्थानीय स्रोत साधनलाई सहकारीमार्फत भावी पुस्तालाई समेत जोगाउने गरी संचालन गर्नुपर्ने बताइन् ।

मन्त्रि अर्यालले भनिन् ‘यो विषयम परिस्थितिमा सहकारीले सिर्जना गर्न सक्ने रोजगारीको अवसरका विषयमा सरकारलाई डाटा दिनुस् ।
उनले भनिन् ‘अब सहकारी सबै क्षेत्रमा जानुपर्छ, एक क्षेत्रमा मात्र सिमित भएर हुँदैन । जनस्तरसम्म पुग्ने, प्रत्येक परिवारका सदस्यम्म पुग्ने । त्यसकालागि कानुनी अड्चन भएमा  कानुनी अड्चन फुकाइन्छ ।’

जुलाई महिनाको पहिलो शनिवार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यस पटक जलवायु कार्यका लागि सहकारी भन्ने थिमका साथ यो दिवस मनाइएको हो । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेले दिवसको थिम जलवायु कार्यका लागि सहकारी भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले नेपालले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन बनाएर अगाडी बढेकाले सहकारी क्षेत्रले जलवायु परिवर्तनबाट सिर्जित चुनौती उत्थानकालागि र अनुकुलन क्षमता बृद्धि गर्नका लागि सदस्यहरुलाई तयार पार्नुपर्ने बताए । बहु जोखिमयुक्त मुलुकमध्ये नेपाल २० औं स्थानमा रहेकोले जलवायु परिवर्तनको जोखिमका दृष्टिले नेपाल चौथो मुलुक रहेकाले यसका लागि सबैभन्दा ठूलो संजाल भएको सहकारीले महत्वपूर्ण तयारी गर्नुपर्ने बताए ।

कार्यक्रममा युएनडीपी नेपालका सहायक आवासीय प्रतिनिधि विजय सिंहले देशको लक्ष्यमा सहकारीले ठूलो योगदान दिन सक्ने बताए । कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कँडेलले महासंघले सहकारी अभियानका लागि दिगो विकास लक्ष्यका गाइडलाइन तयार गरिसकेको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले नयाँ प्रविधिको अवलम्बनमा जोड दिए । महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले कार्यक्रमको औचित्य र थिममाथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटा, उपाध्यक्ष रमेश पोखरेलले सम्बोधन गरेका थिए । 
 



Leave a comment