कृषि सहकारीहरुले कृषकको उत्पादन कोरोना कहरकै बिचमा सदस्यको भान्सामा पुर्याए । वित्तिय सहकारीले सदस्यलाई प्रविधिको पाठ सिकाय भने अन्य सहकारीले पनि विपत्मा सदस्यको मन जित्ने काम गरेर देखाए । सदस्यसंग बढी ब्याज असुलेको आरोपलाई ब्याज छुटको ब्यवस्थाले टालेको पाइयो भने घरदैलो सेवा र सापटी सहकारीका उदाहरणिय कार्यमा परे ।
काठमाडौं । खातै खातको आरोपको प्रतिरोध गरिरहेका शहरका सहकारीले लकडाउनको समयमा सदस्यहरुलाई उत्कृष्ट सेवा दिएर सहकारीको साख जोगाएका छन् । बचत तथा ऋणमा मात्र केन्द्रित भएको आरोप खेपेका बहुउद्देश्यीय प्रकृतिका सहकारीले सदस्यको सेवामा लकडाउन बिताय । कृषि सहकारीहरुले कृषकको उत्पादन कोरोना कहरकै बिचमा सदस्यको भान्सामा पुर्याए ।
वित्तिय सहकारीले सदस्यलाई प्रविधिको पाठ सिकाय भने अन्य सहकारीले पनि विपत्मा सदस्यको मन जित्ने काम गरेर देखाए । सदस्यसंग बढी ब्याज असुलेको आरोपलाई ब्याज छुटको ब्यवस्थाले टालेको पाइयो भने घरदैलो सेवा र सापटी सहकारीका उदाहरणिय कार्यमा परे । सम्पर्क ब्यक्ती मार्फत अत्यावश्यक सेवा, रक्तदान र कृषि एम्बुलेन्सको साईरनले सदस्यलाई सचेत मात्र गराएन, सजग भएर संक्रमित हुनबाट जोगायो ।
निशुल्क भोजन र रातोदिनको राहतले सर्वसाधरणलाई सहकारीको सामिप्यता आभाष गरायो । कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरणकालागि सुरक्षा सामाग्री बितरण र बीमाका कुराले सदस्य र संचालकमा बिमती नराखेरै सेवा गरेका सहकारीका सदस्यहरु वित्तिय संस्था र सहकारीको छनोटमा निर्विबादरुपमा सहकारी भन्नेमा पुगेको पाइयो ।
वित्तिय सेवा
कोरोना संक्रमणको त्रासमा चैत्र ११ गतेदेखि नेपाल सरकारले बन्दा बन्दि (लकडाउन) घोषणा गरेको थियो । मूलुकमा सम्पूर्ण बैंक, वित्तिय संस्थालगायत बन्द थिए ।
सदस्यहरुलाई अत्यावश्यक सामान खरिद गर्न तथा उपचारकालागि सहकारीले आंशिक समय भएपनि कार्यालय खोलेर र सम्पर्क ब्यक्ती तोकेरै वित्तिय सेवा दिएको पाइयो । त्यसैगरी सहकारीले बचत भुक्तानी, कोरोना सहुलियत कर्जा प्रवाह, ब्याजमा छुट तथा बचतमा ब्याज थप पनि गरेका छन् ।
बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई ५ करोड सहुलियत ऋण लगानी गर्ने भएको छ । संस्थाले सहुलियत ऋण लगानी गर्न कारोना (कोभिड–१९) सहुलियत ऋण कोष पनि स्थापना गरीसकेको जनाएको छ । प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाले प्रभावित सदस्यहरुकालागि प्रति ब्यक्ती ३० हजारका दरले कोरोना सहुलियत ऋण लगानी गर्न १० करोड रुपैंया ब्यवस्था गरेको जनाएको छ ।
सुयोग्य साकोसले दैनिक ज्यालादारी गरी गुजारा गर्ने न्यून आय भएका विपन्न सदस्यहरुलाई नगद राहत तथा सहुलियत ऋण समेत प्रदान गर्ने जनाएको छ भने दोलखाको चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक साकोसले लकडाउनका कारण नियमित बचत गर्न नसकेका बाल बचत लगायतमा थप दुई प्रतिशत ब्याज थपिदिने जनाएको छ ।
प्रविधि मार्फत सेवा
लकडाउनको समयमा मुख्यतया सहरका सहकारीहरुले सदस्यहरुलाई नगदको सट्टा प्रविधि प्रयोग गर्न सूचित गरेका थिए । अधिकांश सहकारीहरुले निशुल्क एटिएम सेवा, क्यासलेस कारोबारकालागि संस्थाद्धारा संचालित मोबाइल बैंकिङ, तथा क्विक रेस्पोन्स (क्यूआर) कोडमार्फत सेवा लिन आग्रह गरेको देखियो । यस अवधिमा प्रविधिको प्रयोग गर्ने सदस्यलाई सेवा निशुल्क समेत गरेका थिए ।
सितापाइलामा रहेको सितापाइला बहुउद्देश्यीय सहकारी, श्री लालीगुराँश बहुउद्देश्यीय सहकारी, नवकान्तिपुर बचत तथा ऋण सहकारी, नेचुरल बचत तथा ऋण सहकारी, मेगाड्रिम बहुउद्देश्यीय सहकारी, जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी, पाँचतारा बचत तथा ऋण सहकारी, कुमारी सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, चन्द्रागिरि बचत तथा ऋण सहकारी, हिलटप जुनार बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारीलगायत ८० प्रतिशत सहकारीहरुले प्रविधिको प्रयोग गरेर भएपनि सदस्यको आवश्यकता पुरा गरेका छन् ।
राहत तथा निशुल्क भोजन बितरण
बन्दा बन्दिको समयमा आपतमा परेका दैनिक ज्यालादारी, मजदुरी गर्ने, विद्यार्थी, असक्त, बाल बृद्धलगायत संस्थाका सदस्यहरुलाई पनि धेरै संस्थाले राहत बितरण गरेका थिए । राहतको प्याकेज बनाएर खाद्यान्न, स्वास्थ्य सामाग्री लगायत, नगदै पनि राहतमा बितरण गरेका थिए । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले आपतमा परेका सदस्यहरुलाई राहतस्वरुप दुई हजार नगद दिएको थियो ।
ललितपुरमा रहेको प्रतिभा बहुउद्देश्यीय सहकारीले लकडाउनमा विपत्मा परेकाहरुलाई संस्थाको कार्यालय अगाडी पाल टाँगेर साझ बिहान दुई छाक खाना खुवायो, निरन्तर दैनिक ४ सय भन्दा बढीलाई ६ दिन संस्थाले खाना खुवाएको थियो । त्यसैगरी भक्तपुरमा रहेको शिखरदिप बहुउद्देश्यीय सहकारीले कीर्तिपुर नगरपालिका सहित वडा नम्वर ७, ८ र ९ मा रहेका ९ सय जना विद्यार्थीहरुलाईलाई पुग्ने खाद्यान्न सामाग्री बितरण गरेको थियो ।
सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाले चरण चरण गरेर १० चरणसम्म राहत प्याकेज बितरण गरेको थियो । त्यसैगरी मातृशक्ती बचत तथा ऋण सहकारी संस्थाले दुई चरणमा ३ सय मजदुरलाई खाद्यान्न सामाग्री बितरण गरेको थियो । मेगा ड्रिम बहुउद्देश्यीय सहकारीले विभिन्न असाहय, अनाथालय लगायतका संघ संस्था र सदस्यहरुलाई खाद्यान्न लगायतका सामाग्री बितरण गरेको थियो । त्यसैगरी कुमारी सेभिङ एण्ड क्रेडिट, सहकाली बचत तथा ऋण सहकारी, चन्द्र सूर्य बचत तथा ऋण सहकारीलगायत सत्प्रतिशत सहकारी संस्थाले खाद्यान्न, नगद तथा स्वास्थ्य सामाग्री राहत स्वरुप बितरण गरेका छन् ।
घर दैलो सेवा
अपबाद बाहेकका सहकारीहरुले सदस्यको दैलोमै गएर बचत भुक्तानी गरेका छन् । आपतमा रहेका सदस्यहरुको पहिचान गरी उनीहरुलाई अत्यावश्यक सामाग्री खरिद गर्न उपचारकालागि रकम अभाव भएमा सम्पर्क गर्न सूचनानै प्रकाशन गरी सेवा दिएका थिए ।
लकडाउनको समयमा सदस्यलाई कार्यालय सम्म आउन असहज हुनुका साथै संक्रमणको जोखिम उत्पन्न हुनसक्ने भएकाले सहकारीहरुले घरदैलो सेवा संचालन गरेका थिए ।
कुमारीपाटीमा रहेको जनप्रिय बहुउद्देश्यीय सहकारी, पञ्चशिल बहुउद्देश्यीय सहकारी, भक्तपुरको हिमशिखर बहुउद्देश्यीय सहकारी, नागरिक विकास बचत तथा ऋण सहकारी, हिमाल बचत तथा ऋण सहकारी, नवरस बचत तथा ऋण सहकारी, जेष्ट बचत तथा ऋण सहकारी, ज्योतीपुञ्ज बचत तथा ऋण सहकारी त प्रतिनिधि पात्र मात्र हुन् ९० प्रतिशत सहकारीहरुले प्रशासनले समन्वय नगर्दापनि सदस्यलाई सम्पर्क गरेर आवश्यक रकम घरमै पुर्याएका छन् ।
कोरोना बीमा सेवा
वित्तिय सेवा संगसंगै सहकारीहरुले सदस्य, कर्मचारी तथा संचालक समिति र उपसमितिको कोरोना बीमा गराएका छन् । संस्थाहरुले विभिन्न इन्सुरेन्स कम्पनीसंगको सहयोगमा कर्मचारी तथा सदस्यको पचास हजार देखि एक लाखसम्मको बीमा गरिदिएका छन् । कुनै संस्थाले बीमाङ्ग पुरै तिरीदिएका छन् भने कत्तिले आधा तिरेर पनि बीमा गरिदिएका छन् ।
यसले सदस्य, संचालक र कर्मचारीहरुमा सहकारी प्रतिको एकरुपता र सदस्य प्रतिको दायीत्वलाई बोध गराएको छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण सरकारले देशमा लकडाउन गरेको र लकडाउनको अवधि पनि थपिदै गएकोले संस्थाका सदस्यहरुलाई सेवा दिन जोखिम हुने भन्दै संस्थाहरुले कर्मचारी तथा सदस्यको बीमा गरिदिएको बताइन्छ ।
कृषि तथा खाद्य एम्बुलेन्स
लकडाउनको समयमा नेपाल कृषि सहकारी केन्द्रीय संघले कृषि उत्पादनहरु काठमाण्डौका चोक चोकमा घुम्ती तरकारी बजारमार्फत विक्रि बितरण गर्यो । कोरोना भाइसको संक्रमणको सम्भावित जोखिमलाई न्यूनिकरण गर्दै बजारमा देखिएको तरकारी अभाव र आकासिदो मूल्यलाई मध्यनजर गर्दै संघले काठमाण्डौका विभिन्न चोकमा घुम्ती बजारको सुरुवात गरेको हो ।
देशका विभिन्न जिल्लाका सदस्य किसानहरुले उत्पादन गरेको कृषि जन्य सामाग्री खेर जाने अवस्था नहोस भन्ने सोचका साथ केन्द्रीय संघले कृषि उत्पादनहरु बजारमा ल्याएको थियो । जिल्ला कृषि सहकारी संघ भक्तपुरले “पारीको हैन बारीको खाउँ” भन्ने अभियाननै चलाएर जिल्लाका किसानको उत्पादन उपभोक्ताहरुको घर घरमा पुर्याएको छ । साथै चोक पसलमा राखेर सदस्य लगायत उपभोक्तालाई सेवा दिएको थियो ।
त्यसैगरी प्रदेश पाँचमा सहकारीमार्फत ३४ वटा कृषि एम्बुलेन्स संचालन गरी सहकारीको उत्पादन बजारमा पुर्याइएको छ । प्रदेश ५ का १२ जिल्लामा सहकारीहरुले ३४ वटा कृषि एम्बुलेन्स संचालन गरी कृषि तथा दुग्ध उत्पादन विक्री वितरण गरिएको जनाइएको छ । भक्तपुरमा केन्द्रिय कार्यालय रहेको शिवशिखर कृषि सहकारी संस्थाको पोखरा सेवाकेन्द्रले लकडाउनमा कृषि एम्बुलेन्स संचालन गरेको छ । संस्थाले स्थानीय उत्पादनलाई खेर जान नदिई आम उपभोक्तामाझ पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स संचालन गरेको हो । ‘कृषको तरकारी कृषककै मूल्यमा’ भन्ने उद्धेश्यकासाथ संस्थाले उपभोक्ताको घरघरमा तरकारी तथा खाद्य सामाग्री पुर्याएको छ ।
रक्तदान, एम्बुलेन्स सेवा संचालन
लकडाउनको समयमा धेरै सहकारी संस्थाहरुले रगतको अभाव हुन नदिन घुम्ती सेवालगायतका रक्तदान कार्यक्रम गरेका छन् । थसिखेलमा रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था, पेप्सीकोलामा रहेको पाँचतारा बचत तथा ऋण सहकारी, नैकापको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नयाँपाटीमा रहेको नयाँपाटी बचत तथा ऋण सहकारीलगायतले रक्तदान कार्यक्रम गरेका छन् । दोलखा जिल्ला सहकारी संघले पनि रक्तदान कार्यक्रम गरेको थियो ।
त्यसैगरी काठमाडौंको चन्द्रागिरि बचत तथा ऋण सहकारीले रक्तदान तथा सम्बुलेन्स सेवा दिएको थियो । महालक्ष्मी नगरपालिका ९ नम्वर वडाका ९ वटा सहकारीले १३५ जनाबाट रगत संकलन गरेका थिए । ललितपुरको क्षेत्रीय सहकारी संजाल गोदावरीले निशुल्क एम्बुलेन्स सेवा संचालन गरेको छ । संस्थाले गोदावरी नगरपालिकाको सहकार्यमा लकडाउन अवधीभर निशुल्क एम्बुलेन्स संचालन गरेको थियो ।
लकडाउनको समयाबधीमा जिल्ला सहकारी संघले सदस्य संघ संस्थाहरुकालागि जारी गरेका निर्देशन, सुझाव, उपत्यकाब्यापी एैक्यबद्धता जस्ता कुराहरुले छाता संगठनको भूमिका अहम रहेको सहकारीकर्मीहरु बताउँछन् । सदस्य संघ संस्था तथा सहकारीहरुलाई तरलताको अभावमा नआत्तिन र सम्यम्मित भएर काम गर्न जिल्ला संघले खेलेको भूमिका सह्रानिय रहेको सहकारी सस्थाहरुले बताएका छन् । विगतको तुलनामा छाता संगठनको सकृयताले सदस्य संघसंस्थाहरुलाई राहत पुगेको सहकारीकर्मीहरुको भनाई छ ।
Leave a comment