काठमाडौं । दुग्ध प्रशोधन परियोजना संचालन गर्नका लागि प्रदेश नम्बर ५ मा पनि विशिष्टिकृत सहकारी संघ दर्ता भएको छ । यस अघि पहिलोपटक दूग्ध व्यवसायनै गर्ने उद्देश्यले प्रदेश एकमा सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघ स्थापना भएको हो । उक्त संघमार्फत पाउडर दूध कारखाना स्थापना हुने जनाइएको छ । त्यसैगरी प्रदेश ५ मा पनि विभिन्न प्रकृतिका ५१ ओटा प्ररम्भिक सहकारी संस्था मिलेर १० जिल्लामा कार्यक्षेत्र रहनेगरि असार ५ गते लुम्बिनी विशिष्टिकृत सहकारी संघ लिमिटेड दर्ता गरेका छन् ।
प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलको उपस्थितिमा मन्त्रालयका सहकारी महाशाखा प्रमुख तथा सहकारी दर्ता अधिकारी सुरेश आचार्यले मुलुकको दोस्रो विशिष्टिकृत संघ दर्ता गरेर प्रमाण पत्र हस्तान्तरण गरेका थिए । गत भदौ अन्तिम साता प्रथम भेला सम्पन्न गरेर विशिष्टिकृत सहकारी संघ गठन गर्न तदर्थ संचालक समिति गठन गरिएको थियो । उक्त संघले तिलोत्तमा नगरपालिका, रुपन्देहीद्वारा २०७६ आश्विन ९ गते आयोजित लगानी सम्मेलनमा शो–केस गरिएको यू.एच.टी. दुग्ध प्रशोधन परियोजनालाई विशिष्टिकृत सहकारी संघ गठन गरेर सहकारीले सञ्चालन गर्ने गरी दुई पक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको संघका अध्यक्ष खगराज शर्माले बताए ।
उक्त परियोजनाले कृषि क्षेत्रको मूल्य श्रृंखला अभिवृद्धि गर्दै दुग्ध उत्पादक किसानहरुको दुध विक्रीको सुनिश्चितता गर्नुका साथ अधिक आर्थिक लाभ प्रदान गर्ने तथा बजारमा गुणस्तरीय दूध तथा दुग्ध पदार्थहरु आपूर्तिको सुनिश्चितता गर्ने गरी करिब ६० करोडको लगानीमा परियोजनालाई सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए । ‘हामीले परिकल्पना गरेको उच्चस्तरको प्रशोधन प्रविधि (यू.एच.टी.) को प्रयोग गरी दूधलाई प्रशोधन गरेर गुणस्तरीय दूध आपूर्ति गर्ने तथा दूधका अन्य विभिन्न परिकारहरु समेत तयार गरी बजारमा लैजाने योजनालाई सार्थकता दिनका निम्ति यो एउटा पहिलो पाइलाका रुपमा रहेको छ’, उनले भने ।
आगामी दिनमा प्रदेशका रुपन्देही लगायतका जिल्लामा रहेका दुग्ध उत्पादक र अन्य विभिन्न प्रकृतिका सहकारी संस्थाहरुलाई संघमा आवद्ध गरी आवश्यक पुँजी जुटाउने तथा आम सहकारीहरूलाई पुन थप अपनत्व दिलाउने कामको थालनी गर्ने अध्यक्ष शर्माले बताए । तिलोत्तमा नगरपालिका वार्ड नं. ६ मा नगरपालिकाले लिजमा उपलब्ध गराएकोे दुई बिगाहा १० कट्ठा जमिनलाई व्यवस्थित गरेर संघले परियोजनाको डिपिआर सहित अन्य आवश्यक अध्ययन प्रतिवेदनहरूलाई अन्तिम स्वरुप प्रदान गर्ने जनाएको छ । संघले प्रशोधन कारखाना निर्माण गरेर बढीमा डेढ देखि दुई वर्ष भित्रमा उत्पादनलाई बजारमा ल्याउने लक्ष्य राखेको छ ।
Leave a comment